बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार

शुक्रबार, २१ भदौ २०८१, १९ : ३८
शुक्रबार, २१ भदौ २०८१

काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस ‘रेड नोटिस’मा परिवर्तन गरिएको छ । तर, रेड नोटिस जारी भएपनि मलेसियाले उनलाई पक्राउ गरेर पठाइदिन आनाकानी गरेपछि पुनः इन्टरपोलमा पत्राचार गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्,‘नेपाल र मलेसियाको बिचमा भएका सन्धि–सम्झौताहरुसहित आवश्यक कागजातसहित पुनः पत्राचार गरिएको छ ।’

रेड नोटिस जारी भएसँगै इन्टरपोलले पक्राउ गरेर उनलाई डिपोर्ट गर्न सक्छ । तर, मलेसिया सरकारले उनलाई पक्राउ गर्न आनाकानी गरेको छ ।

जीबीको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति रवि लामिछानेले पनि बिनाधितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

बुटवलस्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइला सहकारीबाट पनि आरोपीहरूले बचतकर्ताको निक्षेप हिनामिना गरेको भेटिएको छ । जीबीको समूहले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको अनुसन्धानबाट देखिएको छ ।

रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी संगठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले यसअघि नै जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष बागलुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भुपेन्द्र राई र पूर्वसदस्य शिव बहादुर गुरु विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप