मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

चुलियो वैदेशिक व्यापार घाटा : नौ महिनामा सवा आठ खर्ब पुग्यो

शुक्रबार, २८ वैशाख २०७५, १७ : ३२
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौं– नेपालको वैदेशिक व्यापारघाटा उकालो लाग्ने क्रमले यो नौ महिनामा पनि निरन्तरता पाएको छ । 

नेपालको व्यापारघाटा चुलिएर ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । 

यो व्यापारघाटा २१.५ प्रतिशतले बृद्धि भएको हो । 

नेपालको कुल वैदेशिक ब्यापार ९ खर्ब ३४ अर्ब रुपैयाँको भएकोमा अत्यधिक आयातका कारण व्यापारघाटा चुलिएको हो । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार कुल व्यापार अघिल्लो वर्षको तुलनामा १९.५ प्रतिशतले बढेपनि पैठारीमा (आयात) देखिएको अत्यधिक बृद्धिका कारण व्यापार घाटा चुलिएको देखिएको छ । 

यो नौ महिनामा निर्यात ५९ अर्बको हुँदा आयात ८ खर्ब ७४ अर्ब रुपैयाँको भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा ४ खर्ब ७४ अर्बको व्यापारघाटा थियो । त्यो बढेर आर्थिक वर्ष ०७३÷०७४ मा आइपुग्दा ६ खर्ब ७१ अर्ब रुपैयाँ पुग्यो । र, अहिले व्यापारघाटा अझै बढेर ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको हो । 
नेपालको सबैभन्दा ठुलो वैदेशिक व्यापार साझेदार भारत भएकाले भारतसँगै नेपालको सबैभन्दा बढी व्यापार घाटा छ ।  

भारतबाट मात्रै चालु आर्थिक वर्षको साउन देखि चैतसम्म ५ खर्ब ७६ अर्बको सामान आयात भएको छ । यता चीनबाट १ खर्ब १३ अर्ब रुपैयाँको सामान आयात भएको छ । यस्तै भियतनामबाट ९ अर्ब, इन्डोनेसियाबाट ९ अर्ब रुपैयाँको सामान आयात भएको हो । यस्तै थाइल्याण्ड अर्जेन्टिना, कोरिया लगायतको देशबाट सामान आयात भएको छ । 

यता नेपालले ५९ अर्बको सामान  निर्यात गरेको छ । निर्यात हुने वस्तुहरुमा ऊनी गलैचा, तयारी पोशाक, फेल्टका सामानहरु, मुसुरोको दाल, पोलिष्टर तथा धागो, टेक्सटाइल, फलाम, स्टिल, हस्तकलाका सामान लगायत छन् ।  

ऊनीको गलैचा ५ अर्बको, तयारी पोशाक ४ अर्ब रुपैयाँको, फलाम तथा स्टिल ४ अर्ब रुपैयाँको, पोलिष्टर तथा धागो ५ अर्ब रुपैयाँको निर्यात भएको हो । 

नेपालको निकासी भारत, संयूक्त राज्य अमेरिका, टर्की जर्मनी, युके ,चीन, इटाली, फ्रान्स लगायतका देशमा हुने गरेको छ । 

पेट्रोलियम पदार्थको अत्यधिक आयात 

विगत तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पेट्रोलियम पदार्थको  आयात निरन्तर बढीरहेको छ । पेट्रोलियम पदार्थको आयातमा ३४.२ प्रतिशतले बृद्धि भएको हो । यो नौ महिनामा  १ खर्ब १७ अर्ब  २९ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । 

अघिल्लो वर्ष (२०७३÷७४) ८७ अर्ब ३८ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । 

यस्तै फलाम तथा स्टील र तिनका उत्पादनमा २६.४ प्रतिशतले आयात बृद्धि भई ९७ अर्ब रुपैयाँ पुगेको छ । 

अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको, नेपालका उद्योगहरुमा अझै पनि लोडसेडिङ रहेको र गाडीहरुको उपभोगमा भएको बृद्धिका कारण पेट्रोलियम पदार्थको माग बढ्दै गएको प्रबद्र्धन केन्द्रले भनेको छ । 

६२ अर्बको गाडी तथा त्यसका पाट पुँर्जाको आयात भएको छ । पोलिथिन, औषधी, मेसिनरी पार्टस, कच्चा पाम आयत, दुरसञ्चारका सामाग्री आदीको आयात भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप