बंगलादेशमा वार्षिक ५५ अर्ब डलरको वस्त्र उद्योगको भविष्य अनिश्चित
काठमाडौँ । बंगलादेश विश्वकै ‘फास्ट फेसन’ व्यवसायको मुटु मानिन्छ । बंगलादेशका कारखानाबाट निर्यात भएका आधुनिक फेसन विश्वका कयौँ नाम चलेका ब्राण्डमार्फत बिक्री हुन्छन् र ती कपडा कयौँ देशका नागरिकको दराजमा पाइन्छ ।
विगत तीन दशकदेखि यो व्यवसायले बंगलादेशलाई विश्वको सबैभन्दा गरिब देशको श्रेणीबाट निकालेर एक निम्न मध्यम आय भएको देश बनाइदियो । तर पछिल्लो समय बंगलादेशको वार्षिक ५५ अर्ब डलरको वस्त्र उद्योगको भविष्य अनिश्चित बनेको छ ।
कयौँ सातासम्म चलेको आन्दोलनपछि अगस्ट महिनामा शेख हसिनाले सत्ताका साथै बंगलादेश नै छाडिन् । आन्दोलनमा कयौँ प्रदर्शनकारीको मृत्यु भयो । आन्दोलनकै क्रममा कम्तीमा चार कपडा उद्योगमा आगजनी भयो ।
डिज्नी र अमेरिकाको सुपरमार्केट चेन ‘वाल्मर्ट’ जस्ता ठुला ब्राण्ड पहिलादेखि नै आगामी सिजनको कपडाका लागि अन्य मुलुकतिर आँखा लगाइरहेका छन् । बंगलादेशमा अहिले पनि कपडा कारोबारी सामु समस्या कायम छ ।
बंगलादेशमा कपडा बनाउने र निर्यात गर्ने एक संगठनका निर्देशक मोहिउद्दीन रुबेल भन्छन्, ‘देशमा हालैको घटनाले ब्राण्डहरूको भरोसामा असर पर्नेछ ।’
भियतनाम जस्तो प्रतिद्वन्द्वी देशतर्फ इशारा गर्दै रुबेलले भने, ‘उनीहरू आफ्नो संसाधन एकै ठाउँमा लगाउने कि नलगाउने भन्ने विचार गर्न सक्छन् ।’
कम पारिश्रमिक
बंगलादेशमा हालैको राजनीतिक घटनाक्रमले यस वर्ष निर्यातमा १० देखि २० प्रतिशत गिरावट आउन सक्छ । यो सानो गिरावट होइन । जबकि बंगलादेशको निर्यातबाट हुने कमाइको ८० प्रतिशत हिस्सा फास्ट फेसन निर्यातले ओगट्छ ।
देशमा भएको पछिल्लो राजनीतिक घटनाक्रमभन्दा अघि नै बंगलादेशको अर्थव्यवस्था र कपडा उद्योगको अवस्था राम्रो थिएन । बाल मजदुरीको मामिला, मानवीय क्षति हुने गरी भएका विभिन्न दुर्घटना, कोभिड–१९ का कारण सिर्जना भएका चुनौतीका कारण समस्या देखिएको थियो ।
बैंकिङ व्यवस्थामाथि सङ्कट
बढ्दो महँगीले बंगलादेशमा कपडा निर्माणको लागत पनि बढाएको थियो । माग घटे पछि मूल्य बढाएर बेच्न सक्ने अवस्था थिएन । निर्यातबाट लाभ घटेसँगै विदेशी मुद्राको भण्डार पनि कम हुँदै गयो ।
राजनीतिक नेतृत्वको निहीत स्वार्थका कारण बैंकमा पनि ठुलो नोक्सानी देखिएको थियो । पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी ‘अवामी लिग’सँग आवद्ध ठुला व्यवसायीले ऋण तिर्न सकेनन् ।
बंगलादेशको केन्द्रीय बैंकका नयाँ गभर्नर डा. अहसान मन्सुरले हालै बीबीसीलाई दिएको एक अन्तरवार्तामा भनेका छन्, ‘यो कुनै प्रकारको बेवास्ताभन्दा पनि वित्तीय प्रणालीमाथिको योजनाबद्ध लुट थियो ।’ यसलाई ठिक तुल्याउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको उनले खुलाए । यसका लागि बंगलादेशलाई धेरै वित्तीय सहायता खाँचो पर्ने उनको भनाइ छ ।
मन्सुरले भने, ‘हामी कठिन अवस्थामा छौँ । हामी आफ्नो विदेशी दायित्वलाई पूरा गर्न तत्पर छौँ तर हामीलाई केही अतिरिक्त मद्दतको खाँचो छ ।’
प्रदर्शनमा मजदुर पनि सामेल
महाबुरबुर रहमानका परिवारले दुई दशक अघि कपडा बनाउने कम्पनी ‘सोनिया ग्रुप’ स्थापना गरेका थिए । रहमानका अनुसार देशमा विदेशी मुद्राको भण्डार रित्तिनुले आत्मविश्वासलाई पर्याप्त घटाइदिन्छ ।
‘हामीसँग पर्याप्त डलर नभएको खण्डमा भारत, चीनबाट आयात हुने धागोको भुक्तानी गर्न सक्दैनौँ । यात्रा बीमा नपाउँदा नयाँ अर्डर दिनका लागि कयौँ मान्छे बंगलादेश आउन पाउँदैनन्,’ उनले भने ।
शेख हसिनालाई सत्ताबाट हटाउने गरी भएको आन्दोलनमा राम्रो पारिश्रमिक सहितको रोजगारी पाउनुपर्ने माग पनि उठेको थियो । बंगलादेशको कपडा उद्योगले रोजगारीको अवसर पर्याप्त सिर्जना गरे पनि पारिश्रमिक राम्रो थिएन ।
कपडा उद्योगका कामदारले देशमा लागु भएको न्यूनतम पारिश्रमिकभन्दा झण्डै आधामात्र तलब लिएर गुजारा चलाउँदै आउनु परेको गुनासो गरेका छन् । बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि ऋण लिन बाध्य हुनु परेको उनीहरूको भनाइ छ ।
कामदारहरूको युनियनकै प्रतिनिधि मारिया भन्छिन्, ‘हामी दोब्बर तलब वृद्धिभन्दा थोरैमा सम्झौता गर्दैनौँ ।’
वस्त्र उद्योगमा निर्भरता
बंगलादेशमा लामो समय विरोध प्रदर्शन गरेका विद्यार्थीले रोजगारीमा अधिक अवसर र अधिक परिवर्तनको माग गरेका छन् । अबू ताहिर, मोहम्मद जमान, मोहम्मद जैदुल र सरदार अरमान जस्ता युवा पनि आन्दोलनमा सहभागी थिए । उनीहरू बेरोजगार छन् । निजी क्षेत्रमा आफू काम गर्न तयार भए पनि अहिले बजारमा उपलब्ध नोकरीका लागि आफूमा योग्यता नभएको उनीहरूको भनाइ छ ।
मोहम्मद जमानले भने, ‘मेरो आमाबुबालाई अहिले नोकरीका लागि कति प्रतिस्पर्धा छ भन्ने कुरा सायदै थाहा होला । म बेरोजगार हुनु परिवारकै लागि दबाब बनेको छ ।’
मोहम्मद जैदुल शैक्षिक डिग्री भए पनि दक्षता नभएका कारण सहजै रोजगारी पाउने अवस्था नरहेको बताउँछन् ।
बंगलादेशको अन्तरिम सरकारको प्रमुख प्रोफेसर युनुस आफैँ पनि एक उद्योगी भएका कारण उनले यसबारे सही निर्णय लिन सक्ने बेरोजगार युवाको अपेक्षा छ ।
‘सेन्टर पोलिसी डायलग’ थिङ्क ट्याङ्ककी डाक्टर फहमीदा खातुनका अनुसार शिक्षित युवाको आकाङ्क्षा पूरा गर्न देशको अर्थव्यवस्थामा विविधता ल्याउन जरुरी छ । उनले भनिन्, ‘कुनै पनि देश केवल एक क्षेत्रकै भरोसामा लामो समय रहन सक्दैन । एउटा क्षेत्रले केही समयसम्म तपाईंलाई अघि बढाउन सक्छ, धेरैका लागि होइन । यहाँ अर्थव्यवस्थामा विविधता ल्याउने प्रयास त भयो र कागजी रूपमा मात्र ।’
राजधानी ढाकामा सन् २०१५ मा एउटा ‘टेक पार्क’ उदघाटन भयो । राम्रो पारिश्रमिक भएको रोजगारी सिर्जना गर्ने र कपडा उत्पादनमा बंगलादेशको निर्भरता कम गराउने उद्देश्यले उद्घाटन भएको त्यो पार्क अहिले खाली छ । यसले पनि अघिल्लो सरकारको आर्थिक विफलताको उदाहरण दिन्छ ।
सफ्टवेयर व्यवसायी रसेल टी अहमद भन्छन्, ‘यो उद्योगको आवश्यकता र त्यसको सट्टा सरकारले उपलब्ध गराएको संसाधनका बिचको अन्तर देखाउने एउटा आदर्श उदाहरण हो ।’ टेक पार्क आवश्यक छ कि छैन भनेर कसैले त्यतिबेला सोधखोज नगरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
-
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
-
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा