आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
अध्ययन प्रतिवेदन निष्कर्ष

तौलको सन्तुलन नमिल्दा सौर्यको जहाज दुर्घटना

शुक्रबार, २१ भदौ २०८१, १३ : ३४
शुक्रबार, २१ भदौ २०८१

 काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेको प्रारम्भिक प्रतिवेदनमा औँल्याएको छ ।  तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।  जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा जनाइएको छ । ब्यागेजसहित १८,१३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २००० किलो इन्धन थियो । 

‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले प्रारम्भिक रूपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको थियो । जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको छ । प्रतिवेदनमा उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको उल्लेख छ । 

सम्पूर्ण मर्मत अर्थात् ‘सी–चेक’का लागि साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १८ जनाको ज्यान गएको थियो ।

जसमा सौर्य एयरलाइन्सका प्राविधिक तथा कर्मचारी, एक बालक र तीन जना चालक दलका सदस्य गरेर १९ जना सवार थिए । दुर्घटनामा परेका पाइलटको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् । 

दुर्घटना अध्ययनका लागि सरकारले रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो  । दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको समितिले जनाएको छ । अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप