शान्ति प्रक्रियामा आएको १८ वर्षमा नेकपा माओवादी केन्द्रले चार पटक देशको नेतृत्व ग¥यो । पटकपटक गरी १० वर्ष ६ महिना सत्तामा माओवादी रह्यो । तर पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल जस्ताको तस्तै रहेकोमा माओवादी नेता तथा कार्यकर्ता निराश देखिएका छन् ।
पछिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा केही राम्रो काम गर्दागर्दै कांग्रेस–एमाले नेतृत्वको गठबन्धनले षड्यन्त्र गरी सत्ताबाट हटाइएको माओवादी नेताहरूको तर्क छ । दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि भावी राजनीतिको कोर्स कता जान्छ भन्नेमा अन्योल देखिएको छ ।
माओवादीले कांग्रेस–एमाले नेतृत्वको गठबन्धनबाट प्रतिगमनको खतरा देखिरहँदा सत्ताबाट टाढा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले अब देश अग्रगमनतर्फ जाने दाबी गरेका छन् ।
बिहीबार आफ्नै निवास हरिसिद्धिमा रातोपाटीका सम्वाददाता गणेश पाण्डेसँग विप्लवले देशको पछिल्लो राजनीतिक अवस्था, माओवादी आन्दोलनको समीक्षा, आगामी योजना लगायतका विषयमा विश्लेषण गरेका छन् । प्रस्तुत छ, विप्लवसँग गरिएको कुराकानीको सम्पादित अंश-
नेपालको स्थिति निकै अस्थिर, अराजक खालको छ । र, फेरि अग्रगामी निकासतर्फ पनि सोझिँदै छ ।
संसदीय व्यवस्था दलाल पुँजीवादमा गइसक्यो । हरेक नागरिकलाई के थाहा छ भने यो व्यवस्थाले नेपाली जनताको आकाङ्क्षा पूरा गर्न सक्दैन । यो स्पष्ट छ । यसैमा घुम्दा एउटा अस्थिरता सिर्जना भएको छ । तर यसले निकास समात्दा पश्चगामीभन्दा अग्रगामीतर्फ जान्छ । समाजवादतर्फ जाने सम्भावना बढेको छ ।
चुनौती छन् तर नेपालमा प्रतिगमनको सम्भावना म देख्दिनँ । अग्रगमनतिरै जान्छ । नेपाली जनताको अकाङ्क्षा भनेको अग्रगमन नै हो । अहिलेको व्यवस्था पूरा नभएको कोर्स हो । नेपाली जनताले चाहेको तर अहिलेसम्म प्रयोग नभएको विकल्प छ, त्यो समाजवाद हो । समाजवादमा नगएसम्म नेपाली जनताले आराम गर्दैनन् ।
पहिलो जनयुद्धले पूर्णता पाएको भए यो समस्या आउने थिएन । दोस्रो कुरा, त्यतिबेला नेकपा माओवादीले नेतृत्व गर्न पाएको भए, साँच्चै नै किसानका निम्ति भूमि, मजुदरका निम्ति उद्योग, विद्यार्थीका लागि शिक्षा, युवाका लागि रोजगारी, उत्पीडित जनजातिका लागि राज्यसत्ता र महिला, जनजाति, दलित, मधेसी, मुस्लिम समुदायको समस्या हल गरी अधिकार सुनिश्चित गरेको भए अहिलेको अराजकता आउँदैनथ्यो ।
यसमा एक प्रकारको सम्झौता भयो । राज्यलाई तदर्थमा छोड्नेखालको स्थिति भयो । के गर्न खोजिएको भन्ने कुरा नै स्पष्ट भएन । त्यसले गर्दा सबै मानिस असन्तुष्ट र आक्रोशित जस्तो भए । जसले अधिकारका लागि लडे, तिनै असन्तुष्ट छन् । मजदुर, युवा, उत्पीडित जनजाति वर्ग असन्तुष्ट छन् । यसले फेरि पछाडि जान होइन, अधिकारको पूर्णता खोजेको छ । यो भनेको सत्तासँग सम्बन्धित छ । दलाल पुँजीवाद सत्ता होइन, नेपाली विशेषताको समाजवादी सत्ता हो । वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने सत्ता खोजेको छ । त्यसकारण त्यो विकल्प नेपालमा प्रयोग भएको छैन । त्यसतर्फ जान्छ र लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।
सत्तासीन वर्गले निरंकुशद्वारा रक्षा गर्न चाहन्छ । कुनै पनि शासकले सत्ताको नियन्त्रण गुमाउन चाहँदैन । त्यसले अन्तिमसम्म अनेकौँ उपाय प्रयोग गर्ने प्रयत्न गर्छ । अन्तिम अस्त्रहरू प्रयोग गर्छ । नेपाललाई थप निरंकुशतातर्फ फर्काउन खोजियो, संविधान संशोधन गर्न खोजियो भने त्यसले जनतालाई थप आक्रोशित बनाउँछ । यत्तिको लचक, समावेशीभित्र त जनता सन्तुष्ट छैन भने केही मान्छेले कसेर वा आफ्नो मुठ्ठीभित्र पारेर देश चलाउँछु भने कसैले स्वीकार्ने वाला छैन । त्यसकारण संविधानको केही बुँदा सच्याएर या आफ्नो नियन्त्रणभित्र राखेर चलाउँछु भन्ने कसैले सोचेको छ भने त्यो मुर्खता हो । त्यो विनाशको सोच हो ।
यहाँ ठुलो समस्या भनेको नागरिकको जीवनमा परिवर्तन आएन । सुकुमबासी अहिले पनि सुकुमबासी छन् । माओवादी पटकपटक सरकारमा गयो, त्यता कहिल्यै सोचेन । महिला, विद्यार्थी, युवा, शिक्षा, स्वास्थ्यको अवस्था देखेर कोही सन्तुष्ट देखिएका छैनन् । यसको समाधान भनेको योभन्दा पनि अग्रगामी प्रगतिशील, जनवादी, समाजवादी व्यवस्थाले गर्छ । झन् दलाल पुँजीवादबाट फर्काएर कहाँ लाने हो र ? यो त ठाउँ नै छैन ।
निश्चय नै, अहिले भएको परिवर्तनका दुई वटा भाग छ । एउटा यसका प्रगतिशील उपलब्धि छन् । त्यसलाई हामीले राम्रोसँग बुझ्नुपर्छ । गणतन्त्र, लोकतन्त्र, समावेशी, समानुपातिक, सङ्घीयता यी कुरा प्रगतिशील नै हुन् । तर देशको स्वाधीनतामा अहिले खतरा छ । अमेरिकी साम्राज्यवादको नेतृत्वमा नेपालमा सैन्य अखडा खोल्दैछ । जनताले पाएका अधिकार पनि कुण्ठित गर्न खोजिँदैछ । सत्तासीन, जसलाई दलाल पुँजीपति वर्ग भनिन्छ, त्यसले आफ्नो नियन्त्रणलाई मजबुत बनाउने कल्पना गरिराखेको छ । त्यो झन् गलत हुन्छ । जनता रोकिँदैनन्, अगाडि बढ्छन् ।
कसरी परिवर्तन गर्ने भन्ने कुरामा हामीले विभिन्न विकल्प अगाडि सारेका छौँ । अहिलेको राज्यसत्तामा मजदुर वर्ग सहभागी छैन । किसान, बुद्धिजीवी, सुरक्षा सेना सहभागी छैन । राज्य एकप्रकारले अपाङ्गता भएको छ ।
दोस्रो, सत्ताले जनताको आधारभूत समस्यालाई समाधान गर्न सकेको छैन । सरकारमा झगडाबाहेक केही छैन । वर्षैपिच्छे सरकार बनाउने र ढलाउने खेल भइरहेको छ । अर्बौं राजस्व स्वाहा पार्नेबाहेक केही भएको छैन । संसद दैनिक झगडाको थलो बनेको छ । लेनिनले गफ गर्ने अखडा भन्नुभएको थियो । यहाँ त बकवास झगडा र लुछाचुँडी गर्ने अखडा बनेको छ । यसबाट जनता दिक्क भएका छन् । जनताका वास्तविक प्रतिनिधि त्यहाँ जान पाइराखेका छैनन् । यसले गर्दा एउटा क्रान्ति आवश्यक छ । एउटा संविधानलाई पूरै परिवर्तन गरेर होस् या जनताले अहिलेसम्म नपाएको जनमत संग्रह गरेर होस् या क्रान्ति गरेर होस्– यो व्यवस्थामा परिवर्तन आवश्यक छ । समाजवाद आवश्यक छ । त्यहाँ पुग्नु नै अहिलेको विकल्प हो ।
हामीले खोजेको समाजवाद जननाको वास्तविक समाजवादी व्यवस्था हो । राज्य हो । समाजवाद भन्ने बित्तिकै समाज निर्माण, विकासमा निर्णायक भूमिका खेल्ने मानिस श्रमिक, बुद्धिजीवी, युवाहरू हुन् । उनीहरूको सहभागिता सुनिश्चित गर्ने व्यवस्था समाजवाद हो । मुठ्ठीभर मानिसले रातारात अर्बपति–खर्बपति हुने र अरु जनता सडकमा फ्याँकिने अवस्था जो अहिले छ, त्यसको अन्त्य गर्न हुनुपर्छ । यो सम्भव छ ।
राज्यसत्तामा अहिले हेर्ने हो भने नाम मात्रको सङ्घीयता छ । सङ्घीयताको प्रयोग कतै भएकै छैन । स्वयं प्रदेश सरकार नै एक प्रकारले असन्तुष्ट र आक्रोशित देखिएको छ । यो व्यवस्था रहेसम्म यस्तै हो ।
सबैतिर एउटा लुटेरा र ठग वर्ग हुन्छ । त्यसले सत्तामा प्रभुत्व जमाउँछ । जनतालाई ठग्दै हिँड्छ । अहिलेको व्यवस्थाबाट केही हुँदैन । वास्तविक जनताले प्रतिनिधित्व गर्ने व्यवस्था हामीले ल्याउनुपर्छ । जसले निराश हुन दिँदैन । पलायन हुन दिँदैन । अर्काको गुलामी गर्नुपर्दैन । नेपालमै सम्भव छ । नेपालकै हावापानी, माटो, श्रम र स्रोतलाई प्रयोग गरेर मज्जाले बाँँच्न सक्छौँ ।
हामीले किन लिने ? प्रचण्ड र बाबुरामले लिनुपर्छ । नेतृत्वमा जो हुन्छ, जस र अपजस पनि उसैले पाउँछ । हामीले त ०६४÷०६५ मै भनेका थियौँ । माओवादीले जनताका उपलब्धिलाई सम्झौताको नाममा जसरी छोड्यो, त्यो ठुलो त्रुटि थियो । प्रचण्ड र बाबुराम मिलेर एक रातमा वक्तव्य निकालेर स्वीकार्नुभयो । त्यसले हाम्रो स्कुल, सहकारी, कम्युन, उद्योग, सेवाहरूलाई एउटै वक्तव्यबाट ध्वस्त पारियो । भित्र हामी कार्यकर्तालाई ‘यो बाहिर भन्नेमात्र हो, भित्र चलाउनुपर्छ’ भनियो । तर उहाँहरू सहरमा यसरी हराउनुभयो, त्यो गलत थियो भन्ने सामान्य माओवादी कार्यकर्तालाई पनि राम्रोसँग थाहा छ ।
त्यतिबेला रोल्पा, रुकुमकै अर्थतन्त्र अन्यको तुलनामा माथि गएको थियो । जनताको आयस्रोत बढेको थियो । अर्थशास्त्रीहरूले पनि एउटा विचित्रको तथ्याङ्क सार्वजनिक गरेका थिए । त्यो चिजमा जनता रमाएका थिए । जनसत्ता, जनअदालन थियो । रोल्पा, रुकुममा मुद्दा शून्य थियो । माओवादी आधार इलाकामा मुद्दा थिएन । जनताले सरल र निष्पक्ष तरिकाले न्याय पाउँथे । उपचार पाउँथे । सेवा पाउँथे ।
त्यसलाई केन्द्रीय सत्तासम्म संरक्षण गरेर यहाँसम्म ल्याउन नसके पनि बचाएर अगाडि बढाउनेतिर हामीले सोच्नुपर्थ्यो । हामी ध्वस्त भएको दलाल पुँजीवादी सत्ता स्थापना गर्नतिर गयौँ । त्यसले जनता खुसी भएनन् ।
कतिसम्म भने त्यतिबेला जनअदालतले गरेको फैसला अमान्य घोषणा गर्दा गाउँघरमा काटमारसम्म भयो । लुटतन्त्र फेरि मौलायो । भ्रष्टाचार धेरै बढ्यो । विकास निर्माणका पनि हाम्रा आफ्नै मोडेल थिए । हामी आफैँले गाउँघरमा मोटर बाटो बनाइरहेका थियौँ । उदाहरणका लागि रोल्पा–रुकुमलाई समेटेर सहिदमार्ग बनेका थिए । हेलिकप्टरको आतङ्कमुनि बसेर श्रमिकले खनेका बाटो अहिलेसम्म पूरा भएको छैन । अर्बौं खर्च भइसक्यो । त्यतिबेला औजार किन्न जम्मा ६३ लाख खर्च भएको थियो ।
त्यहीँबाट कति मन्त्री भए । काम केही भएन । भ्रष्टाचारमा माओवादीका एउटा हिस्सा सहभागी भए । त्यो जनताले देखे । त्यसैले उनीहरूमा सबै उस्तै रहेछन् भन्ने परेको छ । जग्गाजमिन बेचेर खानेमा पनि माओवादी संलग्न देखिन्छ । जमिनदारबाट खोसिएका जमिन न जमिनदारको हातमा गयो, न जनतासँग गयो, न त सरकारसमक्ष आयो । माफियामा एउटा हिस्सा संलग्न भयो । ती मानिसलाई जनतामा अनुहार देखाउन पनि गाह्रै छ । त्यतिबेला हाम्रो सत्ता बनेकोमा जनता आनन्दित थियो । रगत बगाउँदा, लड्दा, मर्दा पनि कोही दुःखी थियो ? थिएनन् त ।
आज त खान पाएन र लगाउन पाएन, सिद्धियो भन्ने मात्र सुनिन्छ । माओवादी भनेको त्यो होइन । माओवादी भनेको आफ्नो सत्ताका लागि सम्पूर्ण चिज त्याग्न तयार हुने प्रवृत्ति हो । यसमा समीक्षा गर्नुपर्छ ।
अहिले दैनिक रूपमा माओवादीहरू छलफलमा छन् । यो वा त्यो माओवादी होइन । जनयुद्ध लडेर आएका सबै माओवादीबिच यतिसम्म भावना गाँसिएका छन् । उनीहरू भेट्ने बित्तिकै रुवाबासी चल्छ । मान्छे एकदम तरङ्गित छ । हामी ठुलो आदर्श, लक्ष्य र उद्देश्यबाट आएका मान्छेहरू हौँ । हामी कहाँ छौँ भन्नेमा ठुल्ठुला बहस छन् । बहिर व्यक्त गर्न नसक्ला, कार्यकर्तामा त्यो फिलिङ छ ।
हिजो एक छाक खान दिएर सुताएका जनतालाई पनि माओवादीको चिन्ता छ । माओवादी बनोस् भनेर त्यतिबेला सहानुभूति राख्ने बुद्धिजीवी, व्यवसायीलाई चिन्ता छ । त्यसैले के अब रूपान्तरण सम्भव छ ? जनताको विश्वास फेरि आर्जन गर्न सकिन्छ भन्दा यो नै एकमात्र विकल्प हो । कमजोरी करेक्सन गरेर जाने हो भने हाम्रो एकता निकै माथि उठ्छ । जब हामीले आफूलाई बदल्छौँ, तब सबै बदलिन्छ । हामीले जनयुद्धकालमा पनि पार्टी शुद्धीकरण अभियान चलाएका थियौँ । जनताले देख्नेगरी हाम्रो जीवनशैली बदल्यौँ भने विश्वास आर्जन गर्न सकिन्छ । उनीहरूले खोजेकै त्यही हो । माओवादी सकियो भन्छन्, कहाँ सकिएको छ ? गाउँगाउँ, घरघरमा छन् माओवादी । असन्तुष्टि छ । चित्त बुझेको छैन । कुरा त्यही हो । यसको मतलब अर्को पार्टीमा जाने, त्यो पनि छैन मनस्थिति । जनताले माओवादी एकताबद्ध होस्, जनतासँग प्रत्यक्ष जोडियोस् । नबिग्रियोस् भनिरहेका छन् । पहिलो कुरा यही हो ।
दोस्रो कुरा, हामीले राम्रो गर्दा जनताले राम्रै माने । जनतालाई खुसी बनाउँदा खुसी नै भए । देशका लागि लड्दा सबै एकताबद्ध भए । तर हामी आ–आफ्ना तरिकाले चल्न खोज्दा जनता बेखुसी भए । जनता, सहिद, बेपत्ता तथा घाइते अपाङ्गता भएका परिवारको भावना नबुझ्दा बेखुसी भए । अहिले म देशभर गएर बुझ्दा उनीहरूले केवल पैसामात्र माग गरेका छैनन् । देशभर हाम्रो भोलुम छ तर माओवादी केन्द्रको जत्रो त छैन । यद्यपि हामी एकै ठाउँमा छौँ । त्यसैले अगाडि बढ्न सम्भव छ । समाजवाद ल्याउन सम्भव छ । फेरि लड्छौँ ।
आज नेपालमा सुकुमबासीका लागि लड्ने पार्टी भनेको नेकपा छ । त्यो नेकपा पनि हिजोको माओवादीकै धार हो । हामीलाई कहाँ कसले समर्थन गर्छन्, त्यो सरोकार होइन । यो आकाश र धर्तीमा सबैको बराबर अधिकार छ । बर्खामा आएर घर भत्काउन खोज्ने, योभन्दा खराब के हुन्छ ? त्यसमा नेकपा लडिराखेकै छ । काठमाडौँमा दुईचार जना एनजीओका मानिसहरू प्लेकार्ड बोकेर हिँड्नेको कुरा हो ? जनताको वास्तविक जीवनका लागि लड्ने शक्ति को हो, जनताले बुझिराखेका छन् ।
नेपाली जनताले बुझेका छन् । अझै राम्रोसँग बुझ्न जरूरी छ । नेपालमा जनताको व्यवस्था खोस्नका लागि जनताको आकाङ्क्षालाई रोक्नका लागि नेपालका दलालहरू मात्र छैनन् । खासगरी अमेरिकी साम्राज्यवादी शक्ति केन्द्र नेपालमा ठुलै षड्यन्त्र गरिराखेको छ । अमेरिकालाई पनि हामीले चिट्ठी लेखेका छौँ कि तिमीहरूले मित्रता चाहन्छौ भने हस्तक्षेपको नीति त्याग । अतिक्रमण गर्ने नीति त्याग भनेका छौँ । कुनै पनि बहानामा नेपालको धर्तीमा अमेरिकी सेना लिएर आउने कुरा हामीलाई स्वीकार्य छैन । त्यो कुरा अमेरिकाले बुझ्न जरूरी छ ।
अहिले नेपालमा संरक्षण गर्न खोजिएको दलाल पुँजीवाद र नेपाली जनताबिच लडाइँ छ । यसको पछाडि उसको हैकम संसारभरि कमजोर भएर गएको छ । ऊ हार्दैछ । उसको प्रभुत्व सिद्धिँदै छ । त्यसैले छटपटाइराखेको छ । जसरी हुन्छ, अन्तिम प्रयत्न उसले गरिराखेको छ । मध्यपूर्व, युक्रेन, प्यालेस्टाइन, बंगलादेश पनि त्यही हो ।
नेपालमा पनि आर्थिक सहयोग गरेर बसेको अमेरिका अहिले ब्यारेक नै खडा गर्न खोज्दैछ । यो कुरा सबैले बुझ्न जरूरी छ । अमेरिकाको प्रतिद्वन्द्वी शक्तिको रूपमा चीन आइराखेको छ । अमेरिकाले चीनलाई नेपालबाट घेराबन्दी गर्न चाहन्छ । तिब्बत नजिकै रहेको हुनाले त्यसको अन्तरविरोधमा उसले खेल्न चाहन्छ । यस विषयमा चीन र भारतलाई च्याप्न चाहन्छ । त्यसका लागि उसलाई नेपालको भूमि चाहिएको छ ।
अर्को कुरा, नेपालमा कम्युनिस्टहरू फैलिएको उसलाई मन परेको छैन । अहिले रातारात कम्युनिस्ट विरोधी पार्टीहरू जन्माइएका छन् । ती सबै पश्चिमाहरूको डिजाइनमा जन्माइएका हुन् । यहाँ गर्न पनि नदिने । प्रचण्ड कमरेडले अलिअलि सुशासनमा काम गर्न खोज्नुभयो । टिक्नै दिएन । आफैँले पैसा दिने अनि आफैँले बदनाम बनाउने काम गरिराखेको छ । यी सबै उसकै काम हो ।
माओवादीहरूको एउटा हिस्सा लालचले गर्दा दलदलमा डुबेको पनि थाहा पाएन । जनताको सत्ता बन्न नदिने, नेपालमा माओवादीले नेतृत्व ग¥यो भने बर्बाद हुन्छ भनेर सारालाई रातारात जुकाजस्तो जगाउने पनि तिनीहरू नै हो । हुँदै नभएका हल्ला फैलाउने, एनजीओ÷आइएनजीओ रातारात जाग्छन् । फेरि माओवादीले गर्न सकेन भनेर स्याल हुइँया मच्चाउने पनि तिनीहरू नै हुन् । त्यसकारण जनताको सत्ता नभएसम्म आफ्नो रक्षा हुँदैन ।
प्रतिक्रिया