शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा सुचारु गर्न माग
काठमाडौँ । भक्तपुर नागरिक सरोकार समाजले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई ध्यानाकर्षण गराएको छ । बिहीबार समाजले जिप्रकालाई सो अस्पतालमा सेवा सुचारु गराउन ध्यानकर्षण गराएको हो ।
समाजले बुझाएको ध्यानार्षणपत्रमा प्रत्यारोपण केन्द्रमा भइरहेको बेथिति तथा व्यवस्थापकीय र प्रशासकीय अनियमितताका कारण जनताले स्वास्थ्य सेवासम्बन्धी समस्या भोग्नुपरेको जनाइएको छ ।
ध्यानाकर्षणपत्रमा भनिएको छ- ‘विगत दुई वर्षदेखि यस केन्द्रमा मुटुसम्बन्धी उपचार भइरहेको र दैनिक दुईदेखि चार जना नागरिकहरुको हर्ट अट्याकका कारण मृत्यु यही अस्पतालकै सेरोफेरोमा हुनुले यस अस्पतालको व्यवस्थापन र नेतृत्व माथि गम्भीर प्रश्न उठेको छ र यस्तो गम्भीर विषय समाधान यथासिघ्र हुनुपर्छ ।’
पत्रमा सो केन्द्रमा मुटुकै उपचारको लागि अरबौं रकम लगानी भैसकेकोले स्वास्थ्य सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चको लागि मात्र काम भैरहेको आरोप लगाइएको छ ।