बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

एक्लाएक्लै चुनाव लड्ने अडानमा टिक्लान् कांग्रेस, एमाले र माओवादी ?

शुक्रबार, २१ भदौ २०८१, ०८ : ३०
शुक्रबार, २१ भदौ २०८१

काठमाडाैँ । २०७९ मा भएको आवधिक निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लडेका प्रमुख राजनीतिक दलहरू अब हुने २०८४ को निर्वाचनमा भने ‘एक्लाएक्लै चुनाव लड्ने र बहुमत ल्याउने घोषणा गरिरहेका छन् ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्ना पार्टी कमिटी बैठकमा ०८४ को निर्वाचन एक्लै लड्ने बताउँदै सोही अनुसार तयारी गर्न पार्टी कमिटी र नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । तर, यी दलहरूले अहिले लिएको निर्णय र अडान चुनावसम्म टिक्ला या नटिक्ला भन्नमा संशय कायमै छ । 

किनभने जस्तासुकै विचार बोकेका दलहरूसँग पनि गठबन्धन गरेर जतिसक्दो ठुलो दल बन्ने र त्यसकै आडमा सत्ताको वरिपरि घुम्ने प्रवृत्ति कायमै रहेकाले दलहरूले अहिले भन्दैमा पत्याइहाल्ने अवस्था नरहेको वाम विश्लेषक श्याम श्रेष्ठको विश्लेषण छ ।

‘अहिले प्रमुख दलका नेताहरूले आगामी निर्वाचनमा एक्लै लड्ने भनेर भने पनि चुनावमा पुग्दा त्यो अडान कायमै राख्लान् भन्ने सकिँदैन’, श्रेष्ठले भने, ‘अहिले कार्यकर्ताहरूलाई उत्साहित गर्दै परिचालन गर्न एक्लै लड्ने र बहुमत हासिल गर्ने भन्ने गरेपनि विगतका अनुभवहरूले अहिले नै अव एक्लाएक्लै लडिहाल्छन् र अडानमा रहन्छन् भनेर विश्वास गर्ने आधार छैन ।’

विश्लेषक श्रेष्ठले दलहरूले एक्लाएक्लै चुनाव लड्न खोज्नुलाई भने सकारात्मक लिनुपर्ने पनि बताए ।

केही दिन पहिला सकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने वा गठबन्धन गर्ने ? भन्नेमा निकै लामो बहस नै भयो । तर महामन्त्री गगन थापाको प्रतिवेदनमा एक्लै चुनाव लड्ने विषय प्रस्ताव गरिए पनि त्यसमा मध्यमार्गी शब्द राखेर उक्त विषयलाई थाती राखियाे ।

‘त्यसरी एक्लाएक्लै लड्ने प्रयास गर्नुलाई सकारात्मक रूपमै लिनुपर्छ । यदि भनेअनुसार गरे भने जनतामा उनीहरूको आआफ्नो वास्तविक साइज पनि थाहा हुन्थ्यो’, श्रेष्ठले भने, ‘त्यो नेपाली जनताको हितमा पनि हुन्थ्यो ।’

श्रेष्ठले चुनावका मुखमा दलहरूले गणित हेरेर चुनावी रणनीति बनाउने गरेको बताए । ‘गणित हेरेर र विश्लेषण गरेर पाइला चाल्छन् । जित्ने अवस्था देखे भने एक्लैपनि लड्छन्, हार्ने अवस्था देखे भने मोर्चा बनाउँछन् ।’

केही दिन पहिला सकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने वा गठबन्धन गर्ने ? भन्नेमा निकै लामो बहस नै भयो । तर महामन्त्री गगन थापाको प्रतिवेदनमा एक्लै चुनाव लड्ने विषय प्रस्ताव गरिए पनि त्यसमा मध्यमार्गी शब्द राखेर उक्त विषयलाई थाती राखियाे । बरु कांग्रेसले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने निर्णय गरेर मध्यमार्गी बाटो अपनायो ।

त्यसो त नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत गठबन्धन गर्ने नगर्ने विषय रणनीतिक भएको बताउँछन् । ०८४ को निर्वाचन अघि परिस्थिति हेरेर गठबन्धन गर्ने नगर्ने विषयमा निर्णय हुने महतको भनाइ छ ।

कांग्रेसले एकल बहुमत ल्याएर पहिलो दल बनाउँछौ भन्नुलाई गठबन्धन हुँदैन र गर्दैन भनेर प्रचार नगर्न महतको अनुरोध छ । ‘कुनै पनि दलको एकल बहुमत ल्याउने उद्देश्य हुनुपर्छ । यसमा गठबन्धन गर्ने नगर्ने अहिलेको बहस होइन । मूल विषय एक्लै चुनाव जित्न सक्ने परिस्थिति बनाउने हो‚’ महतले रातोपाटीसँग भने,‘गठबन्धन विशुद्ध राजनीतिक रणनीतिक विषय हो ।’

निर्वाचन अगाडी त्यसबेलाको राजनीतिक परिस्थितिको विश्लेषणको आधारमा गठबन्धन गर्ने नगर्ने, गरे कुन दलसँग कसरी गर्ने भन्ने विषयमा छलफल हुने महतको भनाइ छ । ‘दुई दल मिलेर बहुमत ल्याउँछौँ भनेर निर्णयमा लेख्ने कुरा हुँदैन । अनेक पक्षबाट प्रचार भएको छ । मुख्य कुरा अहिले पार्टी बलियो बनाउने हो । पछिको कुरा हो गठबन्धन गर्ने नगर्ने विषय’, प्रवक्ता महतको भनाइ छ ।

त्यस्तै दोस्रो ठुलो दल नेकपा एमालेले त मिसन ८४ अभियान नै चलाएर आगामी निर्वाचनमा एक्लै निर्वाचन लडेर बहुमत ल्याउने घोषणा नै गरिसकेको छ । बुधबार सम्पन्न एमाले पोलिटब्युरो बैठकले आगामी निर्वाचनमा एमालेले कसैसँग पनि गठबन्धन नगर्ने भन्दै एक्लै अबको निर्वाचन आफ्नै तागतमा लड्ने र बहुमत ल्याउने निर्णय गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर जनतामा जाने र कसैको बैसाखी नटेकी चुनाव लड्ने भन्दै सोही अनुसार तयारी गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । साथै उनले एमाले हाल निर्णायक बलियो राष्ट्रिय शक्ति नबन्दा स्वतन्त्रतापूर्वक पार्टी नीति लागु गर्दै देशलाई समृद्ध बनाउने लक्ष्य पूरा नहुने अवस्था देखिएकाले निर्णायक राष्ट्रिय शक्ति बनाउने पार्टीको मिसन पूरा गर्ने दिशामा अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।

कांग्रेस र एमाले मात्र होइन अहिलेको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले पनि आगामी निर्वाचन एक्लै लड्ने निर्णय नै गरिसकेको छ । उक्त निर्णय अनुसार सो पार्टीले अहिले प्रदेशस्तरीय बैठकमा नेता कायकर्ताहरूलाई सोही अनुसारको तयारी गर्न निर्देशन दिइरहेको छ ।

‘पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन सिङ्गो पार्टी पङ्तीमाथि ठुलो र महत्त्वपूर्ण अभिभारा रहेको छ । सोही बमोजिम साथीहरूलाई एकताबद्ध रूपमा पार्टी काममा जुट्न आग्रह गर्छु’, ओलीले भनेका छन्, ‘पार्टीलाई स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्ने गरी सुदृढ, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढ्नुपर्छ । त्यसका लागि पार्टी राजनीतिक वैचारिक र सैद्धान्तिक रूपमा स्पष्ट छ ।’

कांग्रेस र एमाले मात्र होइन अहिलेको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले पनि आगामी निर्वाचन एक्लै लड्ने निर्णय नै गरिसकेको छ । उक्त निर्णय अनुसार सो पार्टीले अहिले प्रदेशस्तरीय बैठकमा नेता कायकर्ताहरूलाई सोही अनुसारको तयारी गर्न निर्देशन दिइरहेको छ ।

गत साउन १५ गते बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरू, हाम्रा राजनीतिक कार्यदिशाहरू, हाम्रा दृष्टिकोणहरू जनतामा सोझै पुग्न सकियोस्’, पदाधिकारी बैठकको निर्णय सुनाउँदै प्रवक्ता सापकोटाले त्यसवेला भनेका थिए ।

यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरू जनतामा लैजान अप्ठ्यारो परेको निष्कर्षसहित माओवादीले यो निर्णय गरेको नेताहरूको भनाइ छ । ‘हामीले के निष्कर्ष निकालेका छौँ भने यो जनतामा जाने सुवर्ण अवसर पनि हो’, सापकोटाको भनाइ छ ।

यसैबिच माओवादीले पदाधिकारी बैठकले गरेको निर्णयमा पार्टी आगामी निर्वाचनसम्म कायम रहला ? भन्ने प्रश्नमा सो पार्टीका सचिव समेत रहेका नेता लीलामणि पोखरेल गरिएको निर्णय कार्यान्वयनमा लैजानुको विकल्प नभएको बताउँछन् ।

‘पार्टी निर्माणको प्रक्रियामा लागेपछि त्यसमै चुनाव लड्ने आधार बनाउने हो । एक्लै चुनाव लड्ने कुरा प्रस्टै छ’, पोखरेलले भने,‘निर्णय अनुसार पार्टी योजना बनाउनुपर्छ र अडान कायमै राखेर हामीहरू प्रतिबद्ध हुनुपर्छ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप