मकवानपुर जिल्ला लिग फुटबल : हाँडीखोला, सहिद स्मृति र कम्बाइन विजयी
हेटौँडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न ३ खेलमा हाँडीखोला, सहिद स्मृति र कम्बाइन विजयी भएका छन् । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लब, बागमती गाउँपालिकाको सहिद स्मृति क्लब र हेटौँडाको न्यु कम्बाइन विजयी भएको हो ।
हाँडीखोलाले हेटौँडा १७ को प्रगतिशील युवा क्लबलाई २–० ले पराजित गरेको हो । हाँडीखोलाका लागि दुवै गोल सञ्जीव गिरीले गरेका थिए । पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका उनले दोस्रो हाफमा थप गोल गरेका थिए । गिरी नै खेलको म्यान अफ द म्याच घोषित भए । जितसँगै समूह घ मा रहेको हाँडीखोलाको ४ अंक बटुलेको छ ।
यस्तै समूह घ मा नै रहेको सहिद स्मृति क्लबले प्रतिभा क्लबलाई २–० ले हराएको छ । सहिद स्मृतिको तर्फबाट बुद्ध बल तामाङ र रमेश थिङले समान एक/एक गोल गरेका थिए । खेलको पहिलो हाफमा दुवै टिम गोल रहित रहेका थिए भने दोस्रो हाफमा सहिद स्मृतिले २ गोल गरेको थियो । खेलको म्यान अफ द म्याच सहिद स्मृतिका बुद्ध बल घोषित भए ।
समूह ग मा रहेको कम्बाइनले हटिया स्पोर्टस् एकेडेमीलाई ३–० ले पराजित गरेको छ । कम्बाइनका लागि विशाल भ्लोनले २ र सुजल थिङले एक गोल गरेका थिए । खेलमा विशाल भ्लोन म्यान अफ द म्याच भए । दुई खेल जितेको कम्बाइनको ६ अंक भएको छ ।
त्यस्तै बिहान भएको एफसी नामटार र पदमपोखरी यूथ क्लबको खेल भने बराबरीमा टुङ्गिएको छ । दुवै टिमले खेलको निर्धारित समयमा एक÷एक गोलको गरेका थिए । खेलमा नामटारले सुरुवाती अग्रता लिए पनि कायम राख्न सकेन ।
खेलमा नामटारका कार्सङ थिङले गरेको प्रहार पदमपोखरीका खेलाडीलाई लाग्दै गोल भएको थियो । त्यससँगै पदमपोखरीका नवराज थिङले बराबरी गोल फर्काएर टिमलाई हारबाट जोगाएका थिए । नामटारका कार्सङ खेलको म्यान अफ द म्याच घोषित भए ।
यता वर्षाका कारण बिहीबार २ खेल स्थगित भएको छ । दिउँसो ४ बजेका लागि तय भएको २ खेल वर्षाका कारण स्थगित भएको हो । एफसी पोताला र विजय यूथको खेल गौरीटार रङ्गशालामा तथा पशुपति युवा क्लब र एफसी चाइना क्वाटरको सिमलटार खेल मैदानमा हुने तालिका रहेको थियो ।
वर्षाका कारण दुवै खेल स्थगित गरिएको प्रतियोगिता संयोजक मकवानपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष युवराज लामाले बताए । उनका अनुसार स्थगित खेल दुवै क्लबसँगको छलफलमा आयोजना गरिनेछ ।
वर्षाका कारण लिगका खेलहरू स्थगित हुँदै आएको छ । ५ वर्षपछि भएको जिल्ला लिग फुटबलमा मकवानपुरका २८ वटा क्लबको सहभागिता रहेको छ ।
लिगको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन