बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पानीट्यांकी युवा समाजद्वारा ‘राष्ट्रिय ट्रमा सेन्टर’ मा  १५० बढी बिरामी र कुरुवाहरूलाई निःशुल्क भोजन

बिहीबार, २० भदौ २०८१, १८ : ४२
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । काठमाडौँको बौद्ध, महांकाल, पानीट्यांकी–६  स्थित “पानीट्याङ्की युवा समाज” ले तीज पर्वको अवसरमा दूरदराजबाट उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ आएका विपन्न बिरामी र बिरामीका कुरुवाहरूका लागि दर खुवाउने उद्देश्यले निःशुल्क भोजन सेवा कार्यक्रम सम्पन्न गरेको छ । युवा समाजले अस्पतालमा करिब १५० जनालाई निःशुल्क भोजन सेवा उपलब्ध गराएको हो ।

पानीट्यांकी युवा समाजका अध्यक्ष उमेश सापकोटासहित समाजका कार्यसमिति पदाधिकारी तथा सदस्य, सल्लाकार, साधारण सदस्यहरू गरी २० जना समाजसेवीहरूको उपस्थितिमा यो सेवा उपलब्ध गराइएको हो ।

चाडपर्वको बेला अस्पतालमा देशका विभिन्न जिल्लाहरूबाट उपचार गराउन आएका बिरामी र उनीहरूका कुरुवा आफन्तहरूलाई एकछाक भएपनि खानामा सहज होस र एकछाक खानाबाट बचेको पैसा बिरामीको औषधि उपचारमा खर्च होस भन्ने उद्देश्यका साथ यो सेवा प्रदान गरिएको आयोजक पानीट्यांकी युवा समाजका अध्यक्ष सापकोटाले बताए ।

उनले भने,‘महिलाहरूको महान् पर्व हरितालिका तीज जस्तो  चाडपर्वको बेलामा आफ्नो परिवारबाट टाढा बस्नु परेको बाध्यतालाई मध्येनजर गरेर थोरै भएपनि माया प्रेम स्नेह ममता आत्मीयता अनि मानवता दर्साउन  हामीले यो सेवा सञ्चालन गरेका हौँ । ट्रमा सेन्टर काठमाडौँ र बुढानीलकण्ठ नगरपालिका कपनस्थित सहानुभूति नेपाल आश्रममा गरी हामीले झण्डै १८० जनालाई यो सेवा उपलब्ध गराएका छौँ । भोजनमा हामीले दाल, भात, तरकारी, अचार, मासु, जेरी र दहीको व्यवस्थापन गरेका छौँ ।’

समाजका सल्लाहकार डा. रमेश शर्मा न्यौपानेले पानीट्यांकी युवा  समाजले यसरी विभिन्न खालका सामाजिक सेवाका  कार्यक्रमहरू  गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरु पनि यस्तै खालका सामाजिक कार्यक्रमहरू अघि बढाउन आग्रह गरे । यस्ता कामका लागि स्थानीय तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप