बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्छ : मन्त्री पौडेल

बिहीबार, २० भदौ २०८१, १७ : १३
बिहीबार, २० भदौ २०८१

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् ।

व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताए ।

'अहिले सामाजिक सुरक्षा कोष, सुरक्षा निकाय तथा कर्मचारीका बेग्ला बेग्लै बीमा कार्यक्रम छन्, उनले भने, 'राज्यले उपचारका लागि पनि विभिन्न शीर्षकमा खर्च गरिरहेको छ । हाम्रो उद्देश्य यी सबैलाई एकीकृत प्रणालीमा राखेर थप श्रोतको खोजी गर्ने हो । हाल राज्यको मातहत रहेका सबै बीमा तथा खर्च रकम एउटै प्रणालीमा राख्न सकिए अहिले भन्दा श्रोत बढ्नेछ ।'
मन्त्री पौडेलले राज्यको योगदान रकम समेत थप गर्न र करमार्फत श्रोत थपेमा स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे । उनले श्रोत सुनिश्चिततासँगै बीमाको प्रणालीमा देखिएको गलत दाबीजस्ता समस्या समेत सुधार गर्ने काममा लागिरहेको भन्दै त्यसो भएमा स्वास्थ्य बीमा प्रभावकारी बन्ने बताए ।
हालको १ लाख बीमा रकमले मात्र सेवा प्रभावकारी नहुने भन्दै सेवामा सुधार अनि श्रोतसमेत थप गर्न सके ५ लाखको बीमा बनाउन सकिने भन्दै त्यसै विश्वासका आधारमा आफू लागि परेको बताए ।

मन्त्री पौडेलले हाल देशमा देखिएको हैजा, झाडापखाला तथा इन्सेफ्लाइटिसजस्ता संक्रमण नियन्त्रणका लागि तीनै तहसँग मिलेर काम गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप