बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रेल सेवा

जनकपुर–अयोध्या रेल सञ्चालन कहिले ?

असोज ६ गते जनकपुरका लागि दिल्लीबाट हिँड्ने छ ‘भारत गौरव’ रेल
बिहीबार, २० भदौ २०८१, २० : ३०
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । जनकपुरदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने रेल सेवा अन्योलमा परेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू तेस्रो पटक प्रधानमन्त्री बनेको १०० दिनको अवसर पारेर जनकपुर–अयोध्या रेल सञ्चालन गर्ने तयारी थियो तर नेपालबाट त्यसमा ध्यान नदिएका कारण ढिलाइ भएको स्रोतको दाबी छ ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको बेला नै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी थियो । दुवै देशका रेल्वे कम्पनीले आ–आफ्नो तयारी पूरा गरिसकेका थिए । रेलको रुट, दर रेट तथा सेवा–सुविधा सबै लगभग निश्चित भइसकेको थियो ।

उद्घाटनको तयारी चलिरहेकै बेला प्रधानमन्त्री पदबाट प्रचण्ड हटेपछि त्यसमा केही समयका लागि ब्रेक लागेको थियो । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै पुनः त्यसको तयारी सुरु भयो ।

यसबिचमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको चर्चा पनि सुरु भएको थियो । प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको मौका पारेर रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको थियो । तर ओलीको भ्रमण निश्चित नभएपछि आ–आफ्नै देशबाट हरियो झण्डा देखाएर भए पनि उद्घाटन गर्ने तयारी थियो । तर नेपालले चासो नदेखाएका कारण रेल अझै सञ्चालन हुन नसकेको भारतीय पक्षको आरोप छ ।

भारतले नेपालको तयारी नपुगेको कारण सञ्चालनमा आउन नसकेको भनिरहँदा नेपालले भारतको तयारी नपुगेका कारण सञ्चालन हुन नसकेको बताएको छ । दुवै मुलुक एक अर्कालाई आरोप लगाएर पन्छिने काम भइरहेको स्रोतले जनाएको छ ।

रेल विभागका इञ्जिनियर सुमोद पोखरेलले तयारी नपुगेको कारण हालसम्म रेल सञ्चालनमा नआएको दाबी गरे । उनले भने, ‘नेपालको तर्फबाट लगभग तयारी पूरा छ, भारततिर रेल्वे लिक मर्मत गरिरहेको सुन्नमा आएको छ । मर्मत सम्भारको कार्य सकेपछि रेल सेवा सञ्चालनमा आउँछ ।’

यसको तयारी रेल्वे कम्पनीले गरिरहेको पोखरेलले बताए । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन कुमार झाले जनकपुर–आयोध्याबिच रेल सञ्चालनका लागि तयारी भइरहेको बताए । दुवै देशको बिचमा एकदुई पटक भर्चुअल बैठक भइसकेको जानकारी दिँदै उनले अब भौतिक उपस्थितिमा एउटा बैठक बसेपछि त्यसको टुङ्गो लाग्ने प्रस्ट पारे ।

महाप्रबन्धक झाले रुट, दररेट, सुरक्षालगायतका विषयमा नेपालको तर्फबाट भारतलाई प्रस्ताव गरिसकेको बताए । ‘तर उताबाट त्यसको कुनै जानकारी आइपुगेको छैन,’ उनले भने, ‘अब बस्ने बैठकमा सबै कुराको टुङ्गो लाग्छ ।’ रुटको लगभग टुङ्गो लागिसकेको उनको भनाइ छ ।

अयोध्याबाट गोरखपुर हुँदै नरकटियागंज, रक्सौल, सीतामढ़ी, दरभंगा, जयनगर हुँदै जनकपुरसम्म रेल आइपुग्ने छ ।

टिकट दरको विषयमा नेपालको तर्फबाट जयनगरदेखि अयोध्यासम्म रहेको दर नै कायम गर्ने प्रस्ताव गरिएको छ । त्यसको बारेमा भारतबाट कुनै जवाफ आएको छैन । हप्तामा एक दिन चलाउने सो रेल सेवाका लागि सुरक्षाको व्यवस्था कसरी गर्ने भन्ने टुङ्गो लागेको छैन ।

चाँडै नै दुई देशबिच रेल्वे सेवाका अधिकारीहरूको बैठक बसेर सबै विषयको टुङ्गो लगाउने र रेल सञ्चालनमा ल्याउने झाले बताए । उनले भने, ‘यो महिना वा त्यो महिनामा सञ्चालन हुनेभन्दा पनि जतिसक्दो छिटो रेल सञ्चालनमा आउँछ ।’

जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले गर्ने सम्भावना रहेको महाप्रबन्धक झाले बताए ।

रेल्वे कम्पनीका अनुसार प्रत्येक शनिबार जनकपुरबाट १ः३० बजे अयोध्याका लागि रेल प्रस्थान हुनेछ । सो रेल आइतबार बिहान चार बजे अयोध्या पुग्नेछ । त्यो दिन दिनभर सो रेल त्यहीँ रहने छ र सोमबार बिहान पाँच बजे त्यहाँबाट जनकपुरका लागि प्रस्थान गर्ने कम्पनीले जनाएको छ ।

अयोध्यादेखि जनकपुरसम्म चल्ने रेलमा २० वटा डब्बा हुनेछ । त्यसमा एसी क्लासदेखि स्लिपर तथा जनरल डब्बा पनि हुने बताइएको छ ।

जनकपुर–जयनगर रेल्वेको उद्घाटन २ अप्रिल २०२२ मा भएको थियो । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा दिल्लीबाट त्यसको उद्घाटन गरेका थिए । अहिले त्यसलाई साप्ताहिक रूपमा भए पनि अयोध्या–जनकपुर गरिने भएको छ । पछि त्यसैलाई दिल्ली–जनकपुर गरिने बताइएको छ ।

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सेप्टेम्बर १० देखि अमेरिकामा हुन गइरहेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । दुवै जना उताबाट नफर्केसम्म जनकपुर–आयोध्या रेल सेवा सञ्चालनबारे कुरा अघि बढ्न सम्भव नहुने स्रोत बताउँछ ।

स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केपछि भारत भ्रमणमा जाने कुरा छ । त्यतिबेला नै उद्घाटन हुने सम्भावना छ ।’

दिल्लीबाट जनकपुर आउन लाग्यो रेल

दिल्लीबाट पर्यटक लिएर ‘भारत गौरव’ एसी रेल जनकपुर आउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार असोज ६ गते भारतको दिल्लीबाट सो रेल जनकपुरका लागि हिँड्ने छ ।

तर यसको आधिकारिक जानकारी आफूकहाँ आइनपुगेको महाप्रबन्धक झाले बताए । उनले भने, ‘मैले पनि यो कुरा सुनेको हुँ तर आधिकारिक पत्र आइसकेको छैन ।’

पहिला पनि जनकपुरसम्म रेल आउने प्रस्ताव आएको थियो । त्यसमा आफूहरूले दिल्लीबाट आएका पर्यटकलाई जनकपुरमा मात्र होइन, त्यहाँबाट पोखरा र काठमाडौँसम्म लग्ने प्रस्ताव गरेको बताउँदै उनले त्यसको जवाफ आइनसकेको बताए ।

अहिले आउन लागेको रेलका पर्यटक जनकपुरमा मात्र घुम्ने हो कि नेपालका अरु ठाउँ पनि जाने हो भन्ने आधिकारिक जानकारी आएको छैन । 

दिल्लीबाट जनकपुर आउने पर्यटक रेलको रुट पनि तय भइसकेको छ । जनकपुरका लागि दिल्लीको सफदरजंगबाट खुल्ने सो रेल त्यही राति १२ बजे मुगलसराय पुग्नेछ । त्यहाँ १० मिनेट रोकिने रेलले पाटलीपुत्र र मुज्जफरपुरमा पनि विश्राम लिने बताइएको छ ।

त्यसको भोलिपल्ट सो रेल सीतामढी पुग्नेछ । दिउँसो १ बजे दरभंगा पुग्ने सो रेलको इन्जिन फेरेर साढे तीन बजे जयनगर पुग्ने जनाइएको छ । सो रेल असोज ७ गते अपराह्न पाँच बजे जनकपुर पुग्ने रुट निर्धारण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप