बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

राज्यव्यवस्था समितिमा संघीय मामिलामन्त्री गुप्ताले झुट बोले

बिहीबार, २० भदौ २०८१, १५ : ४३
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बाराको जितपुरसिमरा उपमहानगरपालिकामा अहिलेसम्म नगरसभा हुन नसकेको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा झुट बोलेका छन् ।

बिहीबार बसेको समितिको बैठकमा सांसद दुर्गा राईले जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण पूर्वाग्रही भएर रोकेको बताउँदै मन्त्री गुप्तासँग त्यसबारे जवाफ माग गरेकी थिइन् । सांसद राईलाई जवाफ दिने क्रममा मन्त्री गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकामा अहिलेसम्म नगरसभा हुन नसकेको र मन्त्रालयलाई नै मुद्दा हालेको भनेर गलत विवरण प्रस्तुत गरेका हुन् । 

गत असार १० गते तेस्रो पटक कानुन बमोजिम २५ प्रतिशत नगर सदस्य पुर्‍याएर उपमहानगरपालिकाको दसौँ नगरसभा सम्पन्न भएको थियो । नगरसभा बिथोल्ने एमाले, कांग्रेसका जनप्रतिनिधिहरूले भने त्यहाँको मेयर राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेविरुद्ध नगरसभा बदरको अन्तरिम आदेश समेत माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए । यद्यपि उनीहरूको माग बमोजिम अदालतले अन्तरिम आदेश भने दिएको थिएन । 

समितिमा मन्त्री गुप्ताले भने,‘कर्मचारीको अमेरिका भ्रमण पूर्वाग्रही ढंगले रोकिएको होइन । त्यहाँ (जितपुरसिमरा उपमहानगरपालिकामा) एक जना मेयर बाहेक सम्पूर्ण बोर्ड सदस्य एकातिर हुनुहुन्छ । उपमेयर लगायत बाँकी सबै दलका सदस्य, कार्यपालिका एक ठाउँमा हुनुहुन्छ । आजसम्म त्यहाँ परिषद् भएको छैन । यहाँसम्म कि एउटा भिडियो मलाई आएको छ, हुन त उहाँ महिला हुनुहुन्छ, हामीले सम्मान गर्नुपर्छ । पालिकाकै कार्यालयमा तँछाडमछाड भएको दृश्य हेरेँ । हाम्रो मन्त्रालयमा मुद्दा पनि भएको छ । हामीले उहाँलाई चार पाँच दिनदेखि तपाई मन्त्रालय आउनुहाेस, तपाईँसँग त्यहाँको पालिका चल्दैन, महिला हुनुहुन्छ, कहीँ पायक पर्ने ठाउँमा राखिदिन्छौँ भन्यौँ । उहाँ काजमा जानुभएछ, उहाँले मन्त्रालयलाई टेर्नुभएन । मन्त्रालयमा आएर आफ्नो कुरा त राख्नुपर्थ्यो, काठमाडौँमा बसेर पनि मन्त्रालयलाई नटेर्ने गर्नुभयो । मौखिक र लिखित रूपमा जानकारी गराउँदा पनि आउनुभएन । हामी मुद्दा पनि खेप्ने, उहाँलाई विदेश भ्रमण पनि पठाउने गर्न सक्दैनौँ । अहिलेलाई रोकौँ, किनभने महिला हुनुहुन्छ, हामी पनि त्यहाँ जान पाएका छैनौँ । उहाँले मन्त्रालयलाई अटेर गर्नुभयो, इलवेन्थ आवरमा उहाँलाई रोक्न हामी बाध्य भयौँ ।’  

तर सांसद राईले मन्त्रीले दिएको जवाफमा चित्त नबुझाउँदै मन्त्री गुप्ताले पूर्वाग्रही ढंगले भ्रमण रोकेको र मेयरको राजनीतिक आस्थाका आधारमा प्रमुख प्रशासकीय अधिकृतको विदेश भ्रमण मन्त्रीले रोक्न नहुने उल्लेख गरिन् । सांसद राईले भनिन्,‘तपाईँले जे गर्नुभएको छ गलत गर्नुभएको छ, व्यक्तिगत रूपमा म उहाँलाई चिन्दिन तर एउटा राजनीतिक दलका कार्यकर्ताको प्रेसरमा कर्मचारीलाई दण्ड गर्नुहुँदैन ।’ उनले कसैलाई निस्तेज गर्नु लोकतन्त्र नभएको भन्दै ती महिला कर्मचारीलाई न्याय दिनुपर्ने उल्लेख गरिन् । 

अमेरिकामा यूएसडएडको कार्यक्रममा भाग लिन १२ जना जाने कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) काफ्ले पनि थिइन् । तर अन्तिम समयमा आएर मन्त्री गुप्ताले उनको भ्रमण रद्द गरेका थिए । 

जितपुरसिमरा उपमहानगरपालिकामा मेयरको नजिक भएर नगरसभा गराउन भूमिका खेलेको भन्दै उनीहरू पूर्वाग्रह राखिएको आरोप छ । अमेरिकामा यूएसएडले दिन लागेको ‘पब्लिक फिनान्सियल म्यानेजमेन्ट’ विषयक चार दिने तालिम कार्यक्रमका लागि काफ्लेलाई मन्त्रालयले गत साउन ६ गते मनोनयन गरेको थियो । कार्यक्रममा जाने तयारी गरेकी काफ्लेलाई भदौ १८ गते अन्तिम समयमा मन्त्रिस्तरीय निर्णयबाट भ्रमण रद्द गरिएको हो । आफू नेकपा माओवादीबाट निर्वाचित नगर प्रमुख भएकै कारण राजनीतिक प्रतिशोध साध्नका लागि प्रमुख प्रशासकीय अधिकृतलाई निशाना बनाएको बाराको जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई यसअघि मन्त्रालयले बनाएको मापदण्ड विपरीत सरुवा गरिएको थियो ।

456416957_522054620469527_5938963078200047362_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप