बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

१४ वर्षदेखि बेवारिसे अस्पताल सञ्चालनमा

पठाउन थालियो स्वास्थ्य उपकरण तथा औषधी
बिहीबार, २० भदौ २०८१, १५ : २३
बिहीबार, २० भदौ २०८१

वीरगन्ज । धनुषामा सहिद सूर्यनाथ राना स्मृतिको नाममा बनाइएको अस्पताल करिब १४ वर्षपछि सञ्चालनमा आउने भएको छ ।

धनुषाको सहिदनगर नगरपालिकाको डुमरियामा सहिद सूर्यनाथ राना स्मृति जिल्ला अस्पताल सञ्चालनमा आउन लागेको हो ।  

मधेस सरकारले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेपछि सहिद सूर्यनाथ राना स्मृति अस्पतालमा हिजोदेखि स्वास्थ्य उपकरण तथा औषधी पठाउन थालिएको हो ।

भौतिक संरचना बनेको १४ वर्षपछि सहिद सूर्यनाथ राना स्मृति अस्पताल सञ्चालनमा ल्याउन लागिएको मधेस सरकारका कमान्डर एवम मुख्यमन्त्री सतिस सिंहले बताए ।

उनका अनुसार स्थानीयले अस्पताल नहुँदा धेरै सास्ती हुने गरेको गुनासो गरिरहेका थिए । त्यसैक्रममा प्रदेश सरकारले सहिद सूर्यनाथ रान स्मृति अस्पतालको अवलोकनसमेत गरेको थियो ।

अवलोकनमा अस्पताल सञ्चालन गर्दा जनतालाई राहत पुग्ने निष्कर्ष निस्केपछि सरकारले त्यसलगत्तै प्रदेशको मातहतका ४ वटा अस्पतालको स्वामितव ग्रहण गरेर सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री सिंहले सहिद सुर्यनाथ राना स्मृति अस्पताल धनुषा, पोखरिया अस्पताल पर्सा, सहिद राजीव रामकृष्ण प्रादेशिक अस्पताल सप्तरी र बैजनाथ आमा तथा बाल अस्पताल सर्लाहीलाई प्रदेश सरकारको मातहत राखेर चलाउने निर्णय भएको बताए ।    

मन्त्रीपरिषद्बाट प्रदेशमा चार वटै अस्पताललाई ५० शय्याको अस्पताल सञ्चालनको अनुमति दिने निर्णय भएको मधेसका मुख्यमन्त्री सिंह बताउँछन् ।

उनका अनुसार सोही निर्णयबमोजिम हिजोदेखि सहिद सूर्यनाथ राना स्मृति अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण तथा बन्दोबस्तीका सामान पठाउन लागिएको हो ।

अबको एक महिनाभित्रमा सूर्यनाथ राना स्मृति अस्पतालबाट सेवा प्रवाह हुने गरी काम अघि बढाइएको मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।

अस्पतालको भौतिक संरचना खडा भएपनि कसले सञ्चालन गर्ने ? भन्ने विषयमा अन्योलता रहेकोले अस्पतालबाट सेवा प्रवाह हुन नसकिरहेको स्थानीय बताउँछन् ।

स्थानीय दीपेन्द्र यादवले लामो समयपश्चात अस्पताल सेवा सुरु हुँदा सबैमा खुसी छाएको बताए । उनले भने, ‘करिब १४ वर्षदखि हामी लगातार अस्पतालको सुरु गराउनका लागि धाइरहेका थियौं, तर हुन सकिरहेको थिए । अस्पताल नहुँदा हामीलाई जनकपुर जानुपर्ने बाध्यता थियो । तर त्यो अब सकियो । त्यस मानेमा हामी सबै खुसी छौं ।’

यही १९ असारमा मधेस सरकारले प्रदेशका ४ वटा अस्पताललाई सरकारको मातहत राखेर सञ्चलान गर्ने मन्त्रीपरिषद्बाट निर्णय भएको थियो ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधी पठाइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप