शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्व टेनिस इतिहासका ‘म्याराथन म्याच’

११ घण्टाभन्दा बढी चलेको थियो इस्नर र माहुतबिचको खेल
बिहीबार, २० भदौ २०८१, १२ : ४४
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पुरा भइसकेको छ । यस पटक महिला र पुरुष एकलतर्फ दुई–दुई जना अमेरिकी खेलाडी यूएस ओपनको सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।

पुरुषतर्फ अमेरिकाका टेलर फ्रिट्ज र फ्रान्सेस टिआफोए तथा इटालीका यानिक सिनर र बेलायतका ज्याक ड्रापर सेमिफाइनलमा पुगेका हुन् । महिलातर्फ अमेरिकाका एमा नाभारो र जेसिका पेगुला तथा चेक गणतन्त्रकी कारोलिना मुचोभा र बेलारुसकी आर्यना साबालेन्का सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

यूएस ओपनको प्रारम्भमै एउटा ऐतिहासिक घटना भएको थियो । पुरुष एकलतर्फको पहिलो चरणको खेलमा रमाइलो कीर्तिमान बनेको थियो । बेलायतका डान इभान्स र रुसका कारेन खाचानोभबिचको खेल पाँच घण्टा ३५ मिनेटसम्म चलेको थियो ।

निकै लामो भिडन्तपछि अन्ततः उक्त खेलमा ३४ वर्षीय डान इभान्सले बाजी मारेका थिए । यूएस ओपनको इतिहासमा यो नै सबैभन्दा लामो समयसम्म चलेको खेल बन्न पुगेको थियो । इभान्सले खेलमा उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई आफ्नो पक्षमा पारेका थिए ।

पहिलो सेटमा ६–७ (६–८) अंकले पछि परेका इभान्सले त्यसपछि दोस्रो सेटको नतिजालाई ७–६ (७–२) अंकले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेटमा पनि उनी ७–६ (७–४) अंकले विजयी भएका थिए । चौथो सेटमा भने उनी पुनः ४–६ अंकले पछि परेका थिए ।

पाँचौँ सेटको नतिजालाई ६–४ अंकले आफ्नो पक्षमा पार्दै उनी दोस्रो चरणमा पुगेका थिए । अन्तिम सेटको खेल चलिरहँदा डान इभान्स र उनका रुसी प्रतिद्वन्द्वी कारेन खाचानोभ दुवै शारीरिक तथा मानसिक रूपमा थकित भइसकेका थिए ।

डान इभान्स र कारेन खाचानोभबिचको पहिलो सेट खेल ६८ मिनेटसम्म चलेको थियो । त्यसपछि दोस्रो सेटको नतिजा आउन ६७ मिनेट समय खर्च भएको थियो । तेस्रो सेट त झनै ७२ मिनेटसम्म चलेको थियो । चौथो सेटको नतिजा ६७ मिनेटमा आएको थियो भने पाँचौँ सेट ६१ मिनेटसम्म चलेको थियो ।

विश्व टेनिसको चारवटा ग्रान्डस्लाम प्रतियोगितामध्ये यूएस ओपन दोस्रो पुरानो प्रतियोगिता हो । यूएस ओपनको पहिलो संस्करण सन् १८८१ मा आयोजना भएको थियो । हाल भइरहेको प्रतियोगिता यूएस ओपनको एक सय ४४ औँ संस्करण हो ।

आखिर ग्रान्डस्लाम टेनिसको इतिहासमा एउटै खेल कति लामो समयसम्म चलेको थियो त ? टेनिसलाई विश्वकै सबैभन्दा तीव्र गतिको खेलमध्ये एउटा मानिन्छ । यो खेलमा खेलाडीले अत्यन्तै छोटो समयमा कोर्टको चारैतर्फ दौडनुपर्ने हुन्छ ।

विपक्षीको कोर्टमा जवाफी प्रहार गर्दा खेलाडीले शक्तिको पनि उत्तिकै प्रयोग गर्नुपर्ने हुन्छ । सामान्यतः टेनिसको एउटा खेल औसतमा ९० मिनेटभित्र समाप्त हुन्छ । दुवै प्रतिद्वन्द्वी समान स्तरको भएमा खेल निकै लामो समयसम्म चल्छ ।

ग्रान्डस्लाम प्रतियोगिताको इतिहासमा निकै लामो समयसम्म लगातार खेल चलेको पर्याप्त उदाहरण पाइन्छ । सन् २०१० को विम्बल्डनका क्रममा अमेरिकी खेलाडी जोन इस्नर र फ्रान्सेली खेलाडी निकोलस माहुनबिचको पहिलो चरणको खेल लगातार ११ घण्टा पाँच मिनेटसम्म चलेको थियो ।  

ग्रान्डस्लाम टेनिसको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको खेलको कीर्तिमान यही नै हो । त्यो खेलमा जोन इस्नले निकोलस माहुतलाई ६–४, ३–६, ६–७, ७–६, ७०–६८ अंकले हराएका थिए । त्यो खेल लगातार ६ सय ६५ मिनेट (११ घण्टा पाँच मिनेट) सम्म चलेको थियो ।

रमाइलो पक्ष के हो भने बेलायतको लन्डनस्थित अल इङ्ल्यान्ड क्लबमा सम्पन्न त्यो खेलको नतिजा आउन तीन दिन समय लागेको थियो । जोन इस्नर र निकोलस माहुतबिचको खेल सन् २०१० को जुन २२ तारिखमा १८ नम्बर कोर्टमा सुरु भएको थियो ।

पहिलो दिन चार सेट खेल खेलिएको थियो । त्यसपछि अपर्याप्त प्रकाशका कारण खेल स्थगित गरिएको थियो । त्यसको भोलिपल्ट पाँचौँ सेटको खेल सुरु भएको थियो । त्यो दिन पनि निकै लामो समयसम्म खेल चल्यो । अन्ततः अपर्याप्त प्रकाशका कारण दोस्रो दिनको खेल पनि रोकियो ।

त्यसपछि खेल सुरु भएको तेस्रो दिनमात्र नतिजा जोन इस्नरको पक्षमा गएको थियो । पाँचौँ सेटको खेल मात्र आठ घण्टा ११ मिनेटसम्म चलेको थियो । जोन इस्नर र निकोलस माहुतबिचको त्यो खेल विश्व टेनिसमा पुरुष एकलतर्फको सबैभन्दा लामो खेल पनि थियो ।

त्यो खेलपछि ग्रान्डस्लाम टेनिसमा टाइब्रेकरको नियममाथि पनि नयाँ तरिकाले छलफल सुरु भएको थियो । रमाइलो संयोग, त्यसको अर्को वर्ष सन् २०११ को विम्बल्डनमा पनि इस्नर र माहुतबिच नै पहिलो चरणको खेल परेको थियो । तर, उक्त खेलमा इस्नर सोझो सेटमा विजयी भएका थिए ।

अमेरिकी खेलाडी जोन इस्नर हालसम्म दुई पटक ‘म्याराथन म्याच’ मा परेका छन् । सन् २०१८ को विम्बल्डनको सेमिफाइनलमा पनि जोन इस्नर र दक्षिण अफ्रिकाका केभिन एन्डर्सनबिचको खेल ६ घण्टा ३६ मिनेटसम्म चलेको थियो ।

त्यो खेलमा भने जोन इस्नर ६–७, ७–६, ७–६, ४–६, २४–२६ अंकले पराजित भएका थिए । जोन इस्नर र केभिन एन्डर्सनबिचको भिडन्त विश्व टेनिस इतिहासको चौथो लामो खेल थियो । ग्रान्डस्लाम टेनिसको इतिहासमा भने त्यो दोस्रो लामो खेल थियो ।

महिला एकलतर्फ सबैभन्दा लामो समयसम्म चलेको खेलको कीर्तिमान भने अमेरिकाकी विस्की नेल्सन र जेन हेप्नरको नाममा रहेको छ । सन् १९८४ मा सेन्ट्रल फिडेलिटी बैंक इन्टरनेशलन टुर्नामेन्टका क्रममा खेलिएको त्यो खेल ६ घण्टा ३१ मिनेटसम्म चलेको थियो । त्यो खेलमा नेल्सन विजयी भएकी थिइन् ।

सबैभन्दा लामो समयसम्म चलेको डबल्स खेल भने अमेरिकी र स्विट्जरल्यान्डका खेलाडीको नाममा रहेको छ । सन् २०१३ को डेभिस कपमा चेक गणतन्त्रका टोमस बेर्डिच र लुकास रोसोलको जोडीले स्विट्जरल्यान्डका स्टानिस्लस वावरिन्का र मार्को चिउडिनेल्लीलाई ६–४, ५–७, ६–४, ६–७, २४–२२ अंकले हराएको थियो । त्यो खेल सात घण्टा दुई मिनेटसम्म चलेको थियो ।

अस्ट्रेलियन ओपनमा एकल स्पर्धातर्फ सबैभन्दा लामो समयसम्म चलेको खेल नोभाक योकोभित्र र राफेल नाडालबिचको खेल हो । त्यो फाइनल खेल पाँच घण्टा ५३ मिनेटसम्म चलेको थियो । त्यो खेलमा योकोभिच विजयी भएका थिए ।

यसैगरी, अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनमा सबैभन्दा लामो समयसम्म चलेको खेल फाब्रिस सान्तरो र अर्नाउड क्लिमेन्टबिचको खेल हो । सन् २००४ मा सम्पन्न पहिलो चरणको त्यो खेल ६ घण्टा ३३ मिनेटसम्म चलेको थियो । त्यो खेलमा फाब्रिस विजयी भएका थिए ।

यसैगरी, विम्बल्डनको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको खेल जोन इस्नर र निकोलस माहुतबिचको खेल हो । सन् २०१० मा सम्पन्न पहिलो चरणको त्यो खेल ११ घण्टा पाँच मिनेटसम्म चलेको थियो । त्यो खेलमा जोन इस्नर विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप