आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
श्रम बजार

नेपालमा श्रमिक अभाव, श्रम बजारमा भारतीय नागरिक भरिभराउ

बिहीबार, २० भदौ २०८१, १२ : ०२
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । गत वर्ष साढे सात लाख नेपाली वैदेशिक रोजगारीमा गए । तीमध्ये चार लाख ६० हजारले पहिलो पटक श्रम स्वीकृति लिएका थिए भने दुई लाख ८१ हजार १९५ नेपाली पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

स्वदेशमा रोजगारीका अवसर नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै जाँदा नेपालमा श्रमिकको अभाव देखिएको छ ।

निर्माण क्षेत्र, उत्पादन क्षेत्र, कृषि लगायतका क्षेत्रमा काम गर्ने श्रमिकको अभाव देखिन्छ । ‘लेबर सर्भे रिपोर्ट २०१८’ को तथ्याङ्क अनुसार नेपालको श्रम बजारमा ७० लाख श्रमिक छन् । त्यसपछि अर्को रिपोर्ट आएको छैन ।

हरेक वर्ष पाँच लाखको हाराहारीमा श्रम बजारमा श्रमिक थपिन्छन् । हाल नेपालमा पाँच लाखभन्दा बढी भारतीय तथा विदेशी श्रमिक रहेको अनुमान गरिन्छ । तर, यसको यकिन तथ्याङ्क राज्यसँगै छैन ।

व्यवसायीहरूले श्रमिकको अभावमा काम गर्न गाह्रो भइरहेको बताउँदै आएका छन् । विशेषगरी निर्माण क्षेत्रमा दक्ष जनशक्तिको अभाव खड्किरहेको हो । जसले गर्दा भारतीय तथा बंगलादेशी श्रमिकलाई चर्को पारिश्रमिक दिएर ल्याउनुपर्ने अवस्था छ ।

निर्माण क्षेत्रमा काम गर्ने धेरैजसो मजदुर भारतीय छन् । नेपाली श्रमिकलाई काममा लगाउन खोज्दा नपाउने, काममा आउनेहरू समेत केही समय काम गर्ने र त्यसपछि विदेश जाने प्रवृत्ति बढ्दो छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको अत्यन्तै अभाव रहेको बताए । ‘हामीसँग पहिला पार्टटाइम श्रमिकमात्रै हुन्थे । कृषि कर्म सकेपछि फुर्सद भएर हामीसँग जोडिन्थे,’ अध्यक्ष सिंहले भने, ‘अहिले अत्यधिक रूपमा विदेश पलायन हुने प्रवृत्ति छ । त्यसले निर्माणको काम गर्ने श्रमिक पाइन छाडे । अहिले सम्पूर्ण रूपमा भारतबाट आउने श्रमिकमा भर पर्नुपर्ने हुन्छ ।’

नेपालीहरू त्यही काम गर्न वैदेशिक रोजगारीमा जाने गरेको तर, विदेशमा कमाउनेभन्दा बढी पारिश्रमिक दिँदासमेत नेपालमा अभाव रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । विदेशमा अन्य खर्च नहुने र जति कमायो, त्यति नै बच्छ । नेपालमा जति कमाउँदा समेत नबच्ने हुँदा श्रमिकहरू थोरै तलबमा समेत विदेश जान रूचाउने गरेका छन् ।

विगतमा २० प्रतिशतमात्रै भारत तथा अन्य देशबाट श्रमिक आउने गरेकोमा अहिले भारतीय श्रमिककै भर पर्नुपरेको उनको भनाइ छ । गाउँघरमा श्रमिक नहुँदा अन्यत्रबाट लैजानुपर्ने बाध्यता रहेको उनले बताए ।

‘मानौँ अहिले पाल्पामा मेरो काम परेको छ भने मैले दाङबाट मान्छे लैजानुपर्ने अवस्था छ । त्यो पनि १०÷१२ दिनका लागि,’ सिंहले भने । अहिले केही तराई क्षेत्रबाट र केही भारतको उडिसा, पश्चिम बंगाल, बिहारबाट मजदुर आउने गरेको उनको भनाइ छ ।

नेपालीहरू त्यही काम गर्न वैदेशिक रोजगारीमा जाने गरेको तर, विदेशमा कमाउनेभन्दा बढी पारिश्रमिक दिँदासमेत नेपालमा अभाव रहेको सिंहले बताए । विदेशमा अन्य खर्च नहुने र जति कमायो, त्यति नै बच्छ । नेपालमा जति कमाउँदा समेत नबच्ने हुँदा श्रमिकहरू थोरै तलबमा समेत विदेश जान रूचाउने गरेका छन् ।

निर्माण व्यवसायीहरूले नेपालीभन्दा भारतीय श्रमिक रूचाउने गरेका छन् । किनभने बाहिरबाट श्रमिक ल्याउँदा काममा बढी ध्यान दिने, निरन्तर काम गर्ने र लगनशील हुने गरेको उनीहरू बताउँछन् ।

‘नेपालीहरू त केही दिन काम गरेपछि घर जान्छन् । कहिले केही भयो भनेर काममा आउन मान्दैनन् । आज काममा आयो, भोलि उसको बिहे, व्रतबन्ध परिदिन्छ । नियमित नहुने । काम गर्ने कल्चर पनि नहुने । अन्तबाट आएकाहरूमा काम गर्ने कल्चर हुन्छ,’ अध्यक्ष सिंहले भने ।

अहिले नेपालको आन्तरिक श्रम बजारमा २० लाख श्रमिक छन् । त्यसमा श्रमिकको एकदमै अभाव झेलिरहेको उनले बताए । गत वर्षको तुलनामा यो वर्ष झन् श्रमिकको अभाव हुने निर्माण व्यवसायी बताउँछन् ।

पछिल्लो समय आफूहरूको रोजाइमा वैदेशिक रोजगारीबाट फर्केका श्रमिक (रिटर्नी)हरू पर्ने गरेको उनको भनाइ छ । विदेशमा लामो समय काम गर्दैगर्दा काम गर्ने कल्चरको विकास भएको हुने, अनुशासित हुने, कामप्रति लागत बढी हुने र अरुको तुलनामा काम बढी जान्ने हुँदा व्यवसायीहरूको रोजाइमा रिटर्नीहरू पर्ने गरेका छन् ।

नेपाली श्रमिकहरूले जति खाडीमा काम गर्दा कमाउँछन्, त्योभन्दा बढी नेपालमै भारतीय तथा बंगलादेशी श्रमिकलाई पारिश्रमिक दिँदै आएको अध्यक्ष सिंहले बताए ।

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूले दैनिक ज्यालादारी भन्दा पनि घनमिटर तथा नापको आधारमा रकम पाउने गरेका छन् । जसले गर्दा मासिक पारिश्रमिकको तुलनामा निकै बढी कमाउने गरेका छन् । तर पनि श्रमिकको नेपालमा काम गर्ने प्रवृत्ति नदेखिएको उनको भनाइ छ ।

अहिले नेपालको आन्तरिक श्रम बजारमा २० लाख श्रमिक छन् । त्यसमा श्रमिकको एकदमै अभाव झेलिरहेको उनले बताए । गत वर्षको तुलनामा यो वर्ष झन् श्रमिकको अभाव हुने निर्माण व्यवसायी बताउँछन् ।

गत वर्ष निर्माण सुस्त हुँदा श्रमिकको अभावका बाबजुद भारतीय श्रमिकले काम गर्नु परेको थियो । यो वर्ष निर्माण क्षेत्रले गति लिने अपेक्षा रहे पनि श्रमिकको अभाव खेप्नुपर्ने अवस्था देखिएको सिंहको भनाइ छ ।

‘अहिले स्थायी सरकार बनेको छ । जसले गर्दा निर्माण क्षेत्रको भुक्तानी पनि पाइन्छ । जलविद्युत लगायतका आयोजनाको कामले पनि तीव्रता पाउने देखिएको छ । जसले गर्दा श्रमिकको अभाव झन् खेप्नुपर्ने देखिन्छ । निर्माणको गति बढ्दा श्रमिकको अभाव हुने अनुमान छ,’ अध्यक्ष सिंहले भने ।  

गत आइतबार निर्माण व्यवसायी महासंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई श्रमिकको अभाव रहेको भन्दै व्यवस्थापन गरिदिन अनुरोधसहित ज्ञापनपत्र बुझाएको थियो ।

मन्त्रीसँगको भेटको क्रममा व्यवसायीहरूले भारत लगायतका देशबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको भन्दै उक्त समस्या समाधानका लागि प्रभावकारी ढंगले ठोस कदम चाल्नुपर्ने बताएका थिए ।

‘केही महिना काम गर्ने, त्यसपछि विदेश गइहाल्ने । हाम्रोमा काम सिक्न आउने, अनि विदेश गइहाल्ने प्रवृत्ति छ,’ अध्यक्ष सिंहले भने ।  

नेपालमा कृषि चियाबगान, निर्माण क्षेत्र, यातायात, सेवामूलक लगायतका क्षेत्रमा रोजगारी सिर्जना हुने गरेको छ । तीमध्ये अधिकांशमा श्रमिकको अभाव देखिन्छ । तर, नेपालीहरू भने त्यही काम गर्नका लागि विदेश जाने गरेका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । अन्य प्रकारका श्रमिकहरू पर्याप्त रहेको उनको भनाइ छ ।

दक्ष जनशक्तिको रूपमा भारतीय श्रमिकहरू नेपालमा काम गर्दै आएका छन् । त्यसलाई व्यवस्थित गर्न नसकिएको गोपको भनाइ छ । खुला सीमा नाकाका कारण भारतीय श्रमिकलाई रोक्न नसकिने र त्यसलाई व्यवस्थापन गर्न गाह्रो हुने उनले बताए ।

नेपालमा कृषि चियाबगान, निर्माण क्षेत्र, यातायात, सेवामूलक लगायतका क्षेत्रमा रोजगारी सिर्जना हुने गरेको छ । तीमध्ये अधिकांशमा श्रमिकको अभाव देखिन्छ । तर, नेपालीहरू भने त्यही काम गर्नका लागि विदेश जाने गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले वैदेशिक रोजगारीमा जानेलाई भन्दा पनि गएपछि फर्केर यहीँ काम गर्ने वातावरण सिर्जना गर्नतिर सरकार लागिरहेको बताए ।

‘नेपालीहरूलाई विदेश नजाऊ भन्न सकिँदैन । एक पटक गइसकेपछि उसलाई कामको कल्चरको विकास भइसकेको हुन्छ । त्यसपछि फर्किएर पुनः जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ भन्ने हो । त्यसका लागि सरकारले काम गरिरहेको छ,’ घिमिरेले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप