मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

निजामती सेवा दिवसका अवसरमा सरसफाइ

बिहीबार, २० भदौ २०८१, ११ : १३
बिहीबार, २० भदौ २०८१

गण्डकी । निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बहनगरी काम गर्नुपर्नेमा जोड दिइन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाइप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुुपर्ने आवश्यकता औँल्याए ।

कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलमा सरसफाइ गरिँदै आइएको बताउँदै निजामती सेवा दिवसका अवसरमा सहिद चोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको जानकारी गराए ।

कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिसहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।

मानवसेवा आश्रममा भोजनका लागि सहयोग
कर्मचारी मिलन केन्द्र कास्कीले निजामती सेवा दिवस २०८१ कै अवसरमा आज मानवसेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनका लागि सहयोग गरेको छ ।

केन्द्रका तर्फबाट संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रु २६ हजार नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताए । पर्यटन राजधानी पोखरालाई सडक मानवमुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको उनले बताए ।

केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिको भोजनका लागि सहयोग गरिएको बताउँदै समाजिक एवं मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थामा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप