बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

यूएस ओपनको सेमिफाइनल समीकरण पुरा, अमेरिकी खेलाडीको दबदबा

बिहीबार, २० भदौ २०८१, १० : ४७
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपन उत्तरार्धतर्फ लम्किएको छ । पुरुष तथा महिला दुबैतर्फको सेमिफाइनल समीकरण पनि पुरा भइसकेको छ ।

यसपटक महिला र पुरुषतर्फ दुई–दुईजना अमेरिकी खेलाडी सेमिफाइनल चरणमा प्रवेश गरेका छन् । तर, दुबै स्पर्धामा गरी तीनजना अमेरिकी खेलाडीमात्र फाइनलमा पुग्ने सम्भावना देखिन्छ ।

पुरुष एकलतर्फ अमेरिकी खेलाडी टेलर फ्रिट्ज र फ्रान्सेस टिआफोए तथा महिला एकलतर्फ एमा नाभारो र जेसिका पेगुला सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

यसैगरी, महिला एकलतर्फ चेक गणतन्त्रकी कारोलिना मुचोभा र बेलारुसकी आर्यना साबालेन्का तथा पुरुष एकलतर्फ इटालीका यानिक सिनर र बेलायतका ज्याक ड्रापर सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको पुरुष एकलतर्फको सेमिफाइनलमा दुई अमेरिकी खेलाडी टेलर फ्रिट्ज र फ्रान्सेसबिच प्रतिस्पर्धा हुनेछ । त्यो खेलबाट एक अमेरिकी खेलाडीमात्र अगाडि बढ्ने छन् ।

पुरुष एकलतर्फको अर्को सेमिफाइनलमा यानिक सिनर र ज्याक ड्रापरबिच खेलिने छ । महिला एकलतर्फको सेमिफाइनल खेल भने पेगुला र मुचोभा तथा नाभारो र साबालेन्काबिच हुनेछ ।

पहिलो वरीयतामा आसिन पोल्यान्डकी ईगा स्विटेक भने क्वार्टरफाइनल खेलमै पराजित भइन् । यूएस ओपनकी पूर्वविजेता समेत रहेकी स्विटेकलाई छैटौँ वरीयतामा आसिन पेगुलाले हराएकी हुन् ।

२३ वर्षीय स्विटेकले सन् २०२२ मा यूएस ओपनको उपाधि जितेकी थिइन् । उनी अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको साविक विजेता पनि हुन् । उनले चारपटक फ्रेन्च ओपन जितेकी छन् ।

प्रभावशाली प्रतिद्वन्द्वी स्विटेकलाई हराएकाले पनि जारी यूएस ओपनको महिला एकलतर्फ पेगुलालाई महिला एकलतर्फको उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप