मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

तिजका नाममा मौलाएको विकृति

बिहीबार, २० भदौ २०८१, ०८ : ४३
बिहीबार, २० भदौ २०८१

हिन्दु संस्कार र संस्कृति अपनाउने नेपाली महिलाले तिजलाई व्रत तथा अनुष्ठानसँगै नाचगान गरेर मनाउने गर्छन् । खासगरी गीत गाएर आफ्ना भावना, विचारहरू पोख्ने र दुःख अनि पीडा बिसाउने पर्वका रूपमा तिज मनाउने परम्परा हो । 

खेतीपातीको काम सकेर खेतबारी हरियाली भइरहेका बेला भित्रिने तीज पर्वमा खासगरी चेलीहरू माइतीमा गएरु गीतमार्फत आफ्ना मनका बह पोख्थे । जन्मथलो त्यागेर कर्म भूमिमा अहोरात्र संघर्षमा खटिएका महिलाहरू वर्ष दिनमा आउने तिजमा माइती घरमा जम्मा हुने अवसर पनि हो । 

राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र वैज्ञानिक विकास र परिवर्तनसँगै चाडपर्व मनाउने हाम्रा प्रवृत्तिहरू फरक र परिमार्जित हुँदै गए । चेतनामा आएको परिवर्तनका कारण महिलाले स्वतन्त्रता, अधिकार, प्रजातन्त्रका कुरा पनि तिजका गीतमार्फत व्यक्त गर्न थाले । 

तिज यही बेलादेखि मनाउन सुरु भयो भन्ने यकिन छैन, विशेष गरी उत्तर भारत र नेपालमा पौराणिक कालदेखि नै हरितालिका तिज मनाउने संस्कार चलिआएको बुझ्न सकिन्छ । 

धार्मिक कथन अनुसार हिमालयपुत्री पार्वतीले असल स्वामी पाउँ भनी व्रत बसेकी थिइन् । व्रत सफल भएर उनले महादेवलाई पतिका रुपमा पाएको सन्दर्भलाई हिन्दु नारीले हरितालिका तिजका रूपमा मनाउँदै आएको पाइन्छ । यद्यपि शिवले पार्वतीलाई पाउन के के गरे भन्ने थाहा पाउन सकिँदैन । 

पार्वतीले व्रत बसेर महादेव पति पाएको धार्मिक मान्यतालाई आत्मसात् गर्दै विवाहिता महिलाले पतिको दीर्घायुका लागि र अविवाहिता युवतीले सुयोग्य वर पाउँ भनी तिजको व्रत बस्ने चलन छ ।

तिजमा केही रूढिवादी मान्यता रहे पनि यसका सकारात्मक पाटा पनि छन् । चेली र माइतीबिचको सहयोग, सम्मान र स्नेहलाई प्रगाढ बनाउन तिजको भूमिका छ ।

श्रीमान्ले श्रीमतीको आयु र आरोग्यका लागि व्रत बस्नुनपर्ने र श्रीमतीले श्रीमानको आयु र आरोग्यको कामना गर्दै व्रत बस्ने चलन वर्षौैंदेखि चलिआएको पाइन्छ । श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा भनिए पनि हाम्रा संस्कारमा भने केही विभेद रहेको पाइन्छ । 

त्यसो त हाम्रा धार्मिक ग्रन्थहरू पनि वर्षौंअघि लेखिएकाले परापूर्व कालको समाज र अहिलेको समाजमा निकै भिन्नता आएको छ । समयसँगै हामी पुरानो सोच, मान्यता वा रूढिवादी परम्पराबाट माथि उठ्न जरुरी छ ।

जसरी समाज हरेक दृष्टिकोणले विकास र परिवर्तनको मार्गमा दौडिरहेको छ, सोहीबमोजिमका विचार, बहस र चिन्तनलाई महिलाले तिज पर्वसँग जोड्नुपर्ने हो । तर महिलाका अंगअंगसँग जोडेर समग्र नेपाली महिलाको आत्मसम्मानमा चोट पुग्ने गरी तीजका गीत बजारमा आएको देख्दा आधुनिक युगमा महिलालाई हेर्ने, बुझ्ने, सम्मान र आदर गर्ने प्रवृत्ति निकै तल गिरेको जस्तो लाग्छ ।

ऋषिपञ्चमीका दिन व्रतालु महिलाले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्, यसो गर्दा दाँत सफा हुने र एलर्जी लगायत छालाका रोग नलाग्ने जनविश्वास रहेको छ । अर्कोतिर तिजको दिनदेखि चर्तुथी र पञ्चमीसम्म निराहार व्रत बस्दा त्यसले स्वास्थ्यमा पार्ने असर छँदै छ । जसका कारण धेरै दिदीबहिनी ग्यास्ट्रिक, अल्सरजस्ता रोग झेल्न बाध्य भएका छन् । 

केही अन्धविश्वासका रूपमा मानिँदै आएको तिज पर्वले माइती र चेलीबिचको सम्बन्धलाई प्रगाढ पार्नुका साथै आपसी मेलमिलापमा पुलको काम पनि गर्दछ । 

  • विकृति 

तिजमा केही रूढिवादी मान्यता रहे पनि यसका सकारात्मक पाटा पनि छन् । चेली र माइतीबिचको सहयोग, सम्मान र स्नेहलाई प्रगाढ बनाउन तिजको भूमिका छ । तिजले पतिपत्नीबिच प्रेम जगाउने पाटा पनि छन् । यद्यपि प्रेम जगाउने कोसिस पत्नीले मात्रै गर्नुपर्छ भन्ने होइन, यसमा बहस गर्न सकियो । 

केही पक्ष वा विशेषता बोकेको हरितालिका तिज पर्वमा पछिल्लो समयमा देखासिकी र तडकभडकले स्थान पाउन थालेको छ । भड्किलो तिज पर्वले दुःखजिलो गरेर साधारण जीवनयापन गर्ने नेपाली महिलाहरूको आर्थिक अवस्थालाई गिज्याउन खोजेको हो कि जस्तो भान हुन थालेको छ । लवाइखवाइमा आएको भड्किलोपनले सामाजलाई विभाजित गरेर तिज पर्वको महत्त्व र विशेषतालाई समेत धमिल्याउने हो कि भन्ने चिन्ताको विषय बनेको पाइन्छ । 

संस्कार र संस्कृतिभित्र रहेका सुन्दर पक्षलाई जोगाउने भन्दा पनि आफ्नो आर्थिक हैसियत देखाउन तँछाडमछाड गर्ने प्रवृत्ति बढेको छ । खासगरी तिजमा महँगो तथा भड्किलो पोसाक लगाउने र सुनका गहना देखाउने होडबाजी चलेको पनि देखिन्छ । 

पुँजीवादले पछिल्लो चरणमा चाडपर्वलाई प्रभाव पारेको छ । खासगरी चाडपर्व मनाउने नाममा महिलाहरू बजारको पछिपछि कुदिरहेका छन् । त्यसैले रूढिवादी कुरा हटाएर समयानुकूल मौलिक संस्कृति नमास्ने ढंगले तिज मनाउनुपर्छ । 

महिनौँदेखि पाँचतारे होटल वा पार्टी प्यालेसमा तिजको दर खाने र भड्किला पोसाकमा सजिएर नाचगान गर्ने प्रवृत्ति नै विकृतिका रूपमा देखापरेको छ । 

पछिल्लो समय तिजका गीत भनेर बजारमा आएका गीतमा न तिजको मर्म र भावना पोखिएको छ, न त नाच अनि सभ्यता । अश्लील अर्थ दिने खालका शब्द र भिडियोमा पनि त्यस्तै प्रस्तुति रहेका तिज गीत सार्वजनिक हुन्छन्, जसलाई परिवार र आफन्तसँगै बसेर सुन्न र हेर्न सकिँदैन । 

हिजो हाम्रा तिजगीतमा चेलीले माइतीप्रति राख्ने आशा हुन्थे, आफूले घरमा भोगेको दुःखसुखका घटना हुन्थे । समाजमा देखिएका वा घटेका विभिन्न घटनालाई समेटेर पनि तिज गीत बनाइन्थ्यो । जस्तो ः ‘आमाले पकाएको मिठो–मिठो खाने हो, यसपालिको तिजमा माइती जाने हो’; ‘हाम्रा मामाले भान्जी लिन आएनन्, यसपालिको तिजमा रुँदै बस्ने हो’ । क्रमशः तिजगीतमा महिला अधिकारका कुरा पनि समेटिन थाले, जो सुन्दर पक्ष हो । तर तिज गीत छाडा हुनु हाम्रो संस्कृति र सभ्यता सुहाउँदो कुरा होइन । 

केही रूढिवादी विषय र विश्वासलाई हटाएर हामीले तिज पर्वलाई सुसंस्कृत बनाउँदै लैजान आवश्यक छ । 

महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझाका अनुसार, मानव जातिको विकास सँगसँगै समयले सिकाएका र मानिसको आवश्यकतासँग जोडिएका आधारभूत कुराहरू नै संस्कृतिका रुपमा आउने हुन् । समय बदलिँदा संस्कृति पनि बदलिनुपर्छ । त्यसमा भएका सकारात्मक कुरालाई हामीले अनुकरण गर्नुपर्दछ तर अन्धविश्वास र तथ्यहीन कुरालाई छाड्नुपर्छ । 

तिज पर्वका बारेमा उनी भन्छिन्, ‘तिजले दाम्पत्य जीवनको प्रेमको महत्व, शान्ति र समन्वयात्मक समाजसँगै महिलाको यौनिक शक्तिको महत्त्व बुझाउन खोजेको छ । यो प्रकृति वा पर्यावरणसँग जोडिएको पर्व पनि हो ।’ 

पुँजीवादले पछिल्लो चरणमा चाडपर्वलाई प्रभाव पारेको छ । खासगरी चाडपर्व मनाउने नाममा महिलाहरू बजारको पछिपछि कुदिरहेका छन् । त्यसैले रूढिवादी कुरा हटाएर समयानुकूल मौलिक संस्कृति नमास्ने ढंगले तिज मनाउनुपर्छ । 

(लेखिका नेपाल पत्रकार महासंघ सदस्य हुन् । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णाकुमारी रेग्मी
कृष्णाकुमारी रेग्मी
लेखकबाट थप