बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
तिज

यस्तो होस् तिज : सभ्य, सुसंस्कृत र संवेदनायुक्त

बिहीबार, २० भदौ २०८१, ०८ : ३५
बिहीबार, २० भदौ २०८१

हरेक प्राणीको आफ्नो अस्तित्व छ, प्रकृति छ, धर्म र स्वभाव छ । सबै प्राणीले प्राकृतिक धर्मकै अनुशरण गर्दै आइरहेको सन्दर्भमा आफूलाई चेतनशील र पृथक् घोषणा गर्दै प्राकृतिक गुणको अतिक्रमण मान्छेले नै गरिरहेको छ । यस क्रममा मान्छेले प्रकृतिमाथि विजयको उद्घोष गर्दै अनेक नीति–नियम, परम्परा, संस्कार, धर्म, दर्शन, चिन्तन, सिद्धान्त आदिको विकास गरिरह्यो । 

जेहोस् समय क्रमसँगै जीवन सुन्दर बनाउने कलाको खोजीमा मान्छे नै अग्रसर बनिरह्यो । प्राकृतिक धर्मलाई अन्य केही प्राणीले जसरी अनुशरण नगरेर यसमा समय र परिस्थितिअनुकूल परिमार्जनको खाँचो महसुस गरिरह्यो । शताब्दीयौँदेखि खारिएका अनुभव, भोगाइ र त्यसको अभ्यासबाट निर्मित संस्कारको आफ्नै महत्त्व छ । यद्यपि कतिपय संस्कारले वर्तमानका सापेक्षमा परिमार्जनको ढोका चियाइरहेका छन् भने कतिपयले वर्तमानमा विकृति फैलाउने संस्कृति बन्ने भयबाट ग्रसित हुनुपरेको छ । यस्तै संघारमा लर्खराएर उभिएको एक संस्कृति हो :हिन्दु नारीहरूको महान् चाड हरितालिका तिज ।

सत्य युगमा हिमालयकी छोरी पार्वतीले निराहार व्रत बसेर महादेव पति पाएको मिथकको अनुशरण गर्दै हामीकहाँ हिन्दु नारीहरू व्रत बस्ने गरेको परम्परा छ । असल पति पाउने आशा तथा पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गरिएका पूजापाठ एवंं कठोर व्रत एउटा पाटो छ भने अर्कातिर महिनावारीको पाप पखाल्न पुरुषकै नेतृत्वमा पूजापाठ गर्ने र पवित्र भएँ भन्ने भ्रम पाल्ने पाटो छ । 

अब यहाँ प्रश्न उठ्न सक्छ, के व्रत बस्नु र पूजा गर्नु नराम्रो हो ? शरीर शुद्धी र मन शुद्धीका हिसाबले दुवै उत्तिकै सान्दर्भिक ठहर्छन् । यसमा विवाद गरिरहनु जरुरी छैन, तर कुरा रह्यो, असल पति मिल्ने, आयु बढ्ने र पाप पखालिने सन्दर्भ । यसमा बारम्बार विभिन्न बहस तथा प्रश्न उठिरहेका छन् । समयअनुसार यो सोच बदलिँदै गएर अहिले तिज भन्नु केवल रमाइलो भेटघाट, खानपिन र नाचगानको मेला बन्न थालेको छ । 

अबको प्रश्न हो, पितृसत्तात्मक सोच र रुढिवादी विचारधारामाथि धावा बोल्दै व्यक्तिगत स्वास्थ्य, स्वतन्त्रता र अधिकारलाई प्राथमिकतामा राख्ने वर्ग बढिरहेको सन्दर्भमा यस प्रकारको महिनौँ अघिदेखिको भोज र भड्किलोपनले समाजलाई कुन गतिमा अगाडि बढाइरहेको छ त ?

कतिपय संस्कारले वर्तमानका सापेक्षमा परिमार्जनको ढोका चियाइरहेका छन् भने कतिपयले वर्तमानमा विकृति फैलाउने संस्कृति बन्ने भयबाट ग्रसित हुनुपरेको छ । यस्तै संघारमा लर्खराएर उभिएको एक संस्कृति हो :हिन्दु नारीहरूको महान् चाड हरितालिका तिज ।

तिजका सन्दर्भमा देखिएका यही समाजका केही उदाहरण हेरौँ, नाम परिवर्तनसहितका यी पात्रबाट हामी प्रस्ट हुन सक्छौँ । 

सावित्रीका घरमा वृद्ध र रोगी सासू–ससुरा बुहारीको पर्खाइमा दिन बिताउन थालेको साता दिन भइसकेको छ । अरुबेला विशुद्ध गृहिणी बनेर सेवा गर्दै आइरहेकी बुहारी भदौ लागेसँगै तिजका दर खान हिँड्न थालेको पन्ध्र दिन भयो ।

‘कहिले कसको घरमा, कहिले कसको घरमा गा’छ, नाच्या’छ, टन्न खाएर राति अबेर घर फक्र्या’छ, हाम्रो बिजोक भयो । समयमा ओखती दिने, तातोपानी दिने पनि कोही भएन,’ सासू–ससुराले छोरासँग गरेको गुनासो सुनिन्छ । बिचरा छोरो, न श्रीमतीको रहरमाथि सिक्री कस्न सक्छ न त आमाबाबुको निरीहपनसँग कोलाहल मच्चाउन सक्छ । 

रातै सारीमा सजिएकी अस्मिता साँझमा ढुनमुनाउँदै घरको गेटमा पुगेर लडी । डरलाग्दो आवाज आयो । ‘हिँड्नै नसक्ने गरी दर खाएपछि यस्तै हो, उभिनै नसक्ने कस्तो दर हो आजकलको ?’ भन्दै रिसाउँदै उसको लोग्नेले हतारहतार उठायो । टाउको नराम्ररी बज्रिएर रगत बग्न थालेको रहेछ । ट्याक्सी बोलाएर तुरुन्त अस्पताल लिएर गयो । इन्तु न चिन्तु अवस्थामा उपचार भइरहेको छ । 

सुनमाया दिनदिनै नयाँ–नयाँ गहना किनिदिन आग्रह गर्दै श्रीमान्सँग झगडा गरिरहन्छे । उसलाई हरेक दिनको कार्यक्रममा नयाँ गहना किन चाहियो भन्दै छोरीहरू कराउँछन् । उसले थाहा नपाउने गरेर आमाको सुनप्रतिको क्रेजको भिडियो बनाएर सामाजिक सञ्जालमा हालिदिएछन् । ऊ भाइरल बनी तर रिसले छोरीहरूमाथि जाइलाग्दा दुवै छोरी हावाकावा । मामाघर गएका छोरीहरू तिज नसकिएसम्म आमाबाको झगडाका साक्षी बन्न घर नफर्कने भनेका छन् रे । पढाइ बिग्रेकामा हजुरबा हजुरआमालाई जति पीर कसलाई परेको होला र ? आमा गहना जुटाउने योजनाको भासबाट उत्रिनै सकेकी छैन ।

उता सीतारामदाइ कार्यालयमा झोँक्राएर बसिरहेका छन् । संयोगले सोध्न पुगेँ । उहाँको प्रतिक्रिया असाध्यै नमिठो आयो । ‘यो तिजले गरेको छ जे गर्नु म्याम, तपाईंलाई लागेको छैन ? सधैँ अफिसमै देख्छु त, कि तपाईं पनि साँझसाँझ बरालिनुहुन्छ ?’ उनको झटारो मैतिर हुत्तियो । 

म तर्सें र बुझिहालेँ पनि, तिजकै कारणले उनी तनावमा रहेछन् भन्ने । अनि सोधेँ, ‘भयो चाहिँ के ?’ उनले भने, ‘घाँटी हेरेर हाँड निल्न जान्नुपर्छ, आज पनि दर, भोलि पनि दर, पर्सि पनि, होइन कति दिन खान सकेका ? हाम्रो घरकी मालिक्नीको कुरा । भोलि हाम्रो घरको पालो रे । यो ले, ऊ ले, चौकीदारको कमाइ कति छ थाहा छ त ! फेरि केको देखासिकी ?’ उनीसँग दोहोरो कुरा गर्ने अवस्था थिएन । पछि उनी शान्त भएका बेला कुरा गरौँला भन्ने लाग्यो ।

कतिपय कामकाजी महिलादेखि अधिकारकर्मी, पत्रकार, शिक्षकसम्मले तिज आउनुअघि नै सामाजिक सञ्जालमा रातो सारी लगाएर नाचेका र रमाएका तस्बिर र भिडियो सेयर गरिरहेका छन्, जसमा विभिन्न सकारात्मक र नकारात्मक प्रतिक्रिया पनि आइरहेका छन् । 

कतिका घरमा चुलो बल्ने अवस्था छैन, तैपनि ऋण सापटी गरेर मनाउनुपर्ने ! फेरीफेरी लत्ताकपडा एवं गहना लगाउनुपर्ने ! घरभित्र बसेर रमाउने होइन, दुनियाँलाई देखाउनुपर्ने ! पार्टी प्यालेस र रेस्टुरेन्टमा खानुपर्ने ! दुःखसुखका गीत होइन, छाडा र उत्तेजक गीतमा अपाच्य नाच देखाउनुपर्ने ! यस्तै खालका चर्चा–परिचर्चा नारी र पुरुषका मुखबाट जताततै सुनिँदै आइएको छ । सामाजिक सञ्जालका भित्तामा भड्किलो तिजका विरोधमा लेख्नेको बाहुल्य छ । उता तिनै व्यक्ति नारीहरूको राताम्मै पोस्टमा तिजको शुभकामनाका प्रतिक्रिया दिन र मनपरेको बटन थिच्न पनि पुगेका छन् । 

हुँदा खाने वर्गका मानिसको घर–घरमा तिजको सन्त्रास फैलिएको छ । पतिपत्नीका गोजी रित्तिएर उस्तै उपहास गरिरहेका छन् । छोराछोरीको बाँकी फिस तिर्न नसकेर कतिपयले विद्यालयमा ङिच्च दाह्रा देखाइरहेका छन् । अर्कोतिर हुने खानेलाई दुनियाँमा रमाउने र अरूलाई धाक देखाउने दिन जसरी आएको छ तिज । 

देखासिकीमा नम्बर १ मा रहेको यो मुलुक संस्कृतिका नाममा बढ्दै गएको विकृतिको नक्कल गर्न पनि उत्तिकै अग्र स्थानमा देखिन्छ । राज्य संयन्त्र कुम्भकर्णजस्तो बन्दा विकृति जाग्नु स्वाभाविकै भइहाल्यो । 

सडक र गल्लीमा एकथरीले तिजको उपहास गर्दै भनिरहेका छन्, ‘अब जनै पनि एक महिनादेखि दाजुभाइका घरघर गएर लगाउने गरौँ । बर्थडेमा पनि महिनाभरि केक काटेर साथीहरू र आफन्तका घरघर डुल्नुपर्छ । दशैँ त झनै वर्ष दिनसम्म मासु खाएर टीका थाप्दै घरघर डुलेर मनाए फाइदा हुने देखियो, तर विचरा जनावरको सर्वनाश हुने भयो । 

कतिका घरमा चुलो बल्ने अवस्था छैन, तैपनि ऋण सापटी गरेर मनाउनुपर्ने ! फेरीफेरी लत्ताकपडा एवं गहना लगाउनुपर्ने ! घरभित्र बसेर रमाउने होइन, दुनियाँलाई देखाउनुपर्ने ! यस्तै खालका चर्चा–परिचर्चा नारी र पुरुषका मुखबाट जताततै सुनिँदै आइएको छ ।

तिहारको देउसी–भैलो पनि हरेक साँझ खेले झन् रमाइलो हुन्न र ? तासको कुरा छ नि, त्यसमा महिलाहरू हामीलाई किन हस्तक्षेप गर्ने ? त्यो हाम्रो खुसी हो नि, उनीहरूले दरका नाममा अनेकथोक पिउँदा र चर्तिकला देखाउँदा हामीले बोल्न पाएका छौँ र ? तिनीहरू हाम्रा इच्छाका विरुद्धमा किन बोल्ने ?’ यस्ता प्रश्न वा असन्तुष्टि अहिले जताततै सुनिन्छ । 

संस्कृतिमाथि गरिएका उपहासले कसलाई के फरक परिरहेको होला र ? तर संस्कृति नै लजाइरहेको छ । अधिकार र स्वतन्त्रताका नाराले समाजलाई कुन दिशामा डोर्‍याइरहेको छ भन्नेमा कसैको ध्यान छैन । क्षणिक पोलापोल र रमझममा केन्द्रित समाजले दीर्घकालीन अर्थ राख्ने विषयवस्तुप्रति चिन्तन गर्न भ्याएको छैन । तिजसँग सम्बन्धित विकृतिका विरुद्ध न महिलाहरू बोल्न सक्छन् न त पुरुषहरूले बोल्ने अवस्था छ । 

मन–मनभित्र कुण्ठा बोकेर ताली बजाउन बाध्य महिला तथा पुरुषका मनोभाव कसले बुझिदिने ? ‘मैले कसको बाउको के खाइदिएको छु र ?’ भन्ने कुनै समयको जँड्याहा पुरुषको डाइलग महिलाका मुखबाट निस्किन थालेकामा कलीयुग बौलाएको ट्याग लगाउँदै आरोप गर्नेको जमात उस्तै छ । 

जेहोस्, संस्कृति र चाडपर्वका आफ्नै महत्त्व छ । तिजमा पहिलेजस्तो हिन्दु आर्य महिला मात्र नभएर जुनसुकै जात, धर्म र समुदायका सदस्य पनि उत्तिकै रमाउन सक्नु यस पर्वको उपलब्धि र गौरवको विषय हो । 

परम्परागत सोच बदलिएर व्यक्तिगत स्वास्थ्य र मनोरञ्जनका साधनका रूपमा लिन थालिएको तिज पर्वलाई महिनौँ नभएर निश्चित दिनमा मात्रै मनाइनु आवश्यक छ । पराईघर पुगेका दिदीबहिनीहरू माइतीमा जम्मा भएर पीडा बिसाउने वा दुःखसुख साट्ने सभ्य र संवेदनशील चाडलाई असभ्य र संवेदनहीन बनाउनु हुँदैन । यस्तो भड्किलो र विकृत कार्यक्रममा कसैले सहयोग नगरिदिने हो भने यो आफैँ हराएर जानेछ । 

नारीहरूको महान् चाड हरितालिका तिजको परम्परा, महत्त्व र अभिमानलाई जोगाउनु हामी सबैको कर्तव्य ठान्दै गलत कदमलाई सच्च्याएर सुसंस्कृत र सभ्य तिज मनाउन सबै दिदीबहिनीलाई मेरो आग्रह छ । प्रतिस्पर्धा र देखासिकीका नाममा गलत कदम चालेर परिवारलाई बिचल्ली पार्दै समाजलाई समेत विकृत दिशामा धकेल्ने अभियानमा उत्रिन संस्कारकी प्रतिमूर्ति जननीलाई झन् सुहाउने कुरै भएन । तसर्थ सबै नारीमा आउँदो हरितालिका तिज सभ्य, भव्य र सुसंस्कृत बनोस् भन्ने मेरो शुभकामना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप