बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

हेडको विस्फोटक ब्याटिङसामु नतमस्तक बन्यो स्कटल्याण्ड

बिहीबार, २० भदौ २०८१, ०८ : २१
बिहीबार, २० भदौ २०८१

एडिनब्र । ओपनर ट्राभिस हेडले मात्र २५ बलमा ८० रनको शानदार इनिङ्स खेलेपछि अस्ट्रेलियाले स्कटल्याण्डलाई पहिलो टी–२० खेलमा सजिलै हराएको छ । बुधबार भएको खेलमा स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य अस्ट्रेलियाले १० ओभर अगावै मात्र ३ विकेटको क्षतिमा पछ्याएको हो । 

अस्ट्रेलियाको सुरुवात भने राम्रो हुन सकेन । जेक फ्रेजर म्याकगर्क तेस्रो बलमा शून्य रन बनाएर पभेलियन फर्किएका थिए । तर, त्यसपछि हेड र कप्तान मिचेल मार्सले शतकीय साझेदारी गर्दै स्कोर अघि बढाए । 

हेडले आफ्नो इनिङ्समा १२ चौका र ५ छक्का हिर्काए । मार्सले १२ बलमा ३९ रन जोडे । उनले यस क्रममा ५ चौका र ३ छक्का प्रहार गरे । 

त्यस्तै, जोस इङ्लिसले १३ बलमा २७ रन बनाउँदै टोलीलाई जितसम्म डोर्‍याए । स्कटल्याण्डका लागि मार्क वाटले २ तथा ब्रान्डन म्याकमुलेनले १ विकेट लिए । 

यसअघि, पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक २८ रन बनाए । त्यस्तै, म्याथ्यु क्रसले २७ रनको योगदान दिए भने कप्तान रिची बेरिङटनले २३ रन बनाए । 

अस्ट्रेलियाका लागि सन एबटले ३ विकेट हात पारे । यसैगरी, ज्याभियर बार्टलेट र एडम जाम्पाले २–२ विकेट लिए । राइली मरेडिथ र क्यामरुन ग्रिनले १–१ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप