यस्ता छन् एमाले पोलिटब्युरो बैठकले पारित गरेका १३ प्रस्ताव
काठमाडौँ । नेकपा एमालेले सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिले जनतामा आशाको सञ्चार भएको उल्लेख गरेको छ । मंगलबारदेखि सुरु भएको एमाले पोलिटब्युरो बैठकले १३ बुँदे प्रस्ताव पारित गर्दै यस्तो उल्लेख गरेको हो ।
बुधबार सकिएको बैठकले सर्वोच्च अदालतको २०८० पुस ३ गतेको परमादेशले काठमाडौँ उपत्यकाभित्रका नदी, सहायक नदी र खोला लगायतका तटीय क्षेत्रमा नक्सा पास गरी वैध संरचना बनाएर बसोबास गरिरहेका र व्यवसाय सञ्चालन गरिरहेका हजारौँ परिवारहरू प्रभावित हुने, कतिपय धार्मिक– सांस्कृतिक– सामाजिक संरचनाहरू समेत हटाउनु पर्ने जटिल स्थिति देखा परेको उल्लेख गर्दै सर्वोच्चको उक्त परमादेशका दूरगामी र जटिल असरलाई ध्यानमा राख्दै पुनरावलोकनका लागि आवश्यक कानुनी प्रबन्धका निम्ति सरकारको ध्यानाकर्षण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै एमालेले बंगलादेशमा भएको घटनाप्रति गहिरो ध्यानाकर्षण भएको जनाएको छ । बैठकले बंगलादेश छिटै सामान्य लोकतान्त्रिक प्रक्रियामा फर्कने, जनताले आफ्नो भविष्यको फैसला आफै गर्न सफल हुने र राजनीतिक स्थायित्व, शान्ति र सामाजिक सद्भाव स्थापित हुने विश्वास व्यक्त गरेको छ ।
यस्तै बैठकले पेरिस प्याराओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोबर्धनलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।
बैठकले आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्ति बनाउने लगायतका निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो, सुदृढ र निर्णायक शक्ति बनाउने उद्देश्य अनुसार अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भ्रष्टाचारको न्यूनीकरण गर्न एमाले र एमाले नेतृत्वको सरकारले चाहेको र भ्रष्टाचारका विषयमा कुनै कम्परमाइज गर्ने पक्षमा नरहेको बताएका हुन् ।
महासचिव शंकर पोखरेलले बैठकमा पेस गरेको ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’,माथि पोलिटब्युरो सदस्यहरूले दिएको सुझाव समेटेर पार्टी कमिटीलाई कार्यान्वयनका लागि पठाउने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल
-
बबाल बुमराह, निरीह अस्ट्रेलियाको टप अर्डर !