बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सम्मेलन

२३ औँ राष्ट्रिय सम्मेलन ऐतिहासिक हुने अखिल क्रान्तिकारीको दाबी, ‘टिके प्रथा’ अन्त्य होला ?

बुधबार, १९ भदौ २०८१, २० : ३९
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलनबाट गुटबन्दी र ‘टिके प्रथा’ (पार्टी नेतृत्वले नेता तोकिदिने परम्परा) अन्त्य हुने दाबी गरेको छ । असोज १० देखि १४ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुने सम्मेलनले गुटबन्दी अन्त्य गर्दै सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट चुनिने दाबी गरिएको छ ।

यसअघि २२ औँ राष्ट्रिय सम्मेलनमा गुटबन्दी हाबी हुँदा उपाध्यक्ष पवन कार्की समूहले बहिष्कार गरेको थियो । सम्मेलनले नेतृत्व छनोट गर्न नसक्दा पार्टीले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष बनाइएको थियो ।

पार्टीकै पहलमा पञ्चालाई अध्यक्ष मानेर २३ औँ सम्मेलनमा जान पवन समूह तयार भएपछि संगठनभित्रको विवाद हल भएको थियो । यसपटक विगतका गल्ती नदोहोरिने संगठनका नेताहरूको दाबी छ ।

गुटबन्दी भत्किने नेताहरूको दाबी

अध्यक्षका प्रत्यासीसमेत रहेका उपाध्यक्ष कार्कीले योपटक पहिलाको जस्तो गल्ती नदोहोरिने दाबी गरे । संगठनमा नेताहरूले हस्तक्षेप गर्दा २२ औँ राष्ट्रिय सम्मेलन नै असफलजस्तो साबित भएको उनको बुझाइ छ ।

‘पहिलाको जस्तो नेताले चाहेर यसलाई बनाइदिऔँ भन्ने स्थिति यसपटक हुँदैन,’ उनले भने, ‘त्यतिबेला नेतृत्वले नै हस्तक्षेप गरी नेतृत्व चयन गरियो । त्यसपछि कुनै कमिटी बन्न सकेन । पछि एकलौटी हुँदा संगठन नै विभाजित भयो ।’

२३ औँ राष्ट्रिय सम्मेलनमा गएर समस्या हल गर्ने गरी अहिले एक ठाउँमा आएको कार्कीले बताए । उनले भने, ‘पार्टीले पनि विधान महाधिवेशनमार्फत् वैचारिक राजनैतिक लाइन दिने, सांगठनिक रूपमा हस्तक्षेप नगर्ने भनेको छ । जनवर्गीय संगठनलाई स्वायत्तता दिने भनेर विधानमै उल्लेख छ ।’

त्यसकारण यसपटक पार्टीले हस्तक्षेप नगर्ने उनको विश्वास छ । ‘देशभरबाट आएका प्रतिनिधिले चुन्ने र चुनिन पाउने कुरा ग्यारेन्टी गर्ने पक्षमा हामी छौँ,’ उनले भने, ‘यसमा सबैको एकमत छ ।’

भावी नेतृत्वको दाबी गरेका अर्का उपाध्यक्ष मदन भुलले पनि योपटक गुटबन्दी अन्त्य गरी प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट सबै समिति छानिने विश्वास व्यक्त गरे ।

नेताहरूको घरदैलोमा पुगेर अध्यक्ष बन्ने प्रथा २३ औँ राष्ट्रिय सम्मेलनबाट अन्त्य हुने उनको विश्वास छ । 

‘केन्द्रीय नेताको घरदैलोमा धाएको भरमा नेता बन्ने प्रथा अन्त्य हुन्छ । कम्तीमा पनि विद्यार्थी प्रतिनिधिले प्रत्यक्ष निर्वाचनबाट नेता चुन्न पाउने ढोका हामीले खोलेका छौँ,’ भुलले भने, ‘यसपटक शतप्रतिशत निर्वाचन हुन्छ । निर्वाचन हुँदा विद्यार्थीमैत्री, सक्षम, कम्तीमा विद्यार्थीको एजेण्डा, मुद्दा उठाउन सक्ने लिडरशिप आउँछ भन्नेमा हामी विश्वस्त छौँ ।’

अध्यक्षका अर्का आकाङ्क्षी एवं उपाध्यक्ष केशव रावले पदाधिकारी, केन्द्रीय समितिमात्र नभई सबै प्रतिनिधि निर्वाचन प्रक्रियाबाट आउने भएकाले अब टिके प्रथा पूर्णरूपमा अन्त्य हुने दाबी गरे । नेताबाट हस्तक्षेप गर्ने वा प्रभावित गराउन खोजिए सम्मेलन नै विघटन गरी एक हप्तामा अर्को सम्मेलन गर्ने गरी कार्यविधि बनाएको उनको दाबी छ । 

‘पहिलो कुरा यसपटक टिके प्रथा पूर्णरूपमा अन्त्य हुन्छ । विधानमा पनि त्यो व्यवस्था गरेका छौँ । कार्यविधि पनि बनाएका छौँ । तल क्याम्पस समिति, इकाई समितिदेखि जिल्ला समिति, प्रदेश समितिमा कहीँ कतै एक जनाले विरोध गरेमा निर्वाचनमा जाने भन्नेछ’, रावलले भने, ‘दोस्रो, कतै नेतृत्वले प्रभावित भएर पार्टीले घोषणा गरिदियो वा विद्यार्थी नेताहरू गएर घोषणा गरे भने हलमा भएका २५ प्रतिशत प्रतिनिधिले केन्द्रीय कार्यालयमा उजुरी पठाएमा सम्मेलन विघटन गरी सात दिनभित्र पुनः सम्मेलन गर्ने भनिएको छ ।’

चुनावलाई लत्याएर जबरजस्ती गरेमा त्यो खारेजीमा पर्ने भन्दै उनले खुमलटार वा कतै नेताहरू बसेर नेतृत्व घोषणा गर्ने प्रथा अब अन्त्य भइसकेको दाबी गरे ।

यही फागुनको पहिलो हप्ता काठमाडौँमा भएको प्रथम विधान अधिवेशनले पार्टीले वैचारिक र राजनीतिक मार्गनिर्देशन दिनेगरी जनवर्गीय संगठनलाई स्वायत्तता दिने निर्णय गरेको थियो । तर सबै तहमा प्रत्यक्ष निर्वाचन विधि अपनाउने विषयमा आंशिक सफलता पाएको थियो ।

शान्ति प्रक्रियामा आएपछि पनि युद्धकालीन शैलीमा संगठन सञ्चालन हुँदा पार्टी कमजोर भएको अधिवेशनले निष्कर्ष निकालेको थियो । तर जनवादी केन्द्रीयतालाई ख्याल नगरी एकै पटक सबै समिति प्रत्यक्ष निर्वाचनबाट भएमा  संगठन थप अराजकता निम्तिने भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचनमा जान अस्वीकार गरेका थिए ।

माओवादीको विशेष महाधिवेशन वा नियमित महाधिवेशनले विधान संशोधन नगरेमा केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट छनोट हुनेछ । केन्द्रीय समितिले पदाधिकारी लगायत समिति छनोट गर्नेछ ।

तर पार्टीले बनाएको विधानभन्दा संगठनको विधान प्रगतिशील रहेको अध्यक्ष पञ्चाले दाबी गरिन् । संगठन निर्माण र नेतृत्व छनोटको हिसाबले २३ औँ राष्ट्रिय सम्मेलन ऐतिहासिक हुने दाबी गरिन् ।

‘सबै तहका समितिमात्र प्रत्यक्ष निर्वाचनबाट चुनिने होइन, अध्यक्ष बन्न वा केन्द्रीय सदस्य बन्न प्रत्यक्ष निर्वाचनबाट तल्लो तहबाट छानिएर आउनुपर्छ । प्रतिनिधि नभएको मानिस उम्मेदवार बन्न पाइँदैन’, उनले भनिन्, ‘पार्टीको विधानभन्दा हाम्रो विधान प्रगतिशील छ । अब नेता देखाएर वा घर दैलोमा पुगेर नेतृत्वमा आउने दिन गए ।’

सबै गुट भत्काएर प्रतिनिधिबाट सबै तहका नेतृत्व छनोट हुने भएकाले यो सम्मेलन ऐतिहासिक हुने उनको दाबी छ ।

क्रान्तिकारीको २२ औँ सम्मेलनमा पञ्चासहित पवन, सुरेन्द्र बस्नेत लगायतले अध्यक्ष पदमा आकाङ्क्षा देखाएका थिए । नेतृत्वमा विवाद हुँदा अन्ततः पार्टीले हस्तक्षेप गरेको थियो । त्यसको असर गत भदौसम्म संगठनमा परेको थियो ।

भदौ २५ गते प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएपछि विवाद अन्त्य भएको थियो ।

तथापि निर्वाचन प्रक्रियाबाट केन्द्रीय सदस्य र पदाधिकारी चुनिएको यो पहिलो पटक होइन । २०७४ भदौ १७ मा सम्पन्न भएको २१ औँ राष्ट्रिय सम्मेलनमा विवाद हुँदा निर्वाचन प्रक्रियाबाट केन्द्रीय समिति र पदाधिकारी छानिएको थियो । त्यतिबेला अध्यक्षमा रञ्जीत तामाङ निर्वाचित भएका थिए । उनले प्रतिस्पर्धी अनिल शर्मालाई झिनो मतले पराजित गरेका थिए । तामाङले ८४५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी शर्माले ८२२ मत पाएका थिए । तर यसपटक कार्यविधि बनाएर विधानमै बाध्यकारी प्रावधान राख्न खोजिएको नेताहरूको दाबी छ ।

विद्यार्थी नेताहरूले नेतृत्व छनोटमा अहिले कुनै समस्या नभएको दाबी गरे पनि नेताहरूको गुटगत छायाबाट संगठन मुक्त भइसकेको देखिँदैन । प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ निकट देखाउने विद्यार्थी नेताहरू प्रशस्त छन् । सोही अनुसार जिल्ला दौडाहामा नेताहरू गएका छन् ।

अहिले पार्टीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दनबिच अन्तरविरोध देखिएको छ । त्यसको प्रभाव विद्यार्थी संगठनमा पर्न सक्ने आकलन गरिएको छ ।

साँच्चै नै विद्यार्थी नेताहरूले दाबी गरेजस्तै यो सम्मेलन पार्टी हस्तक्षेप मुक्त गरी आफूलाई स्वायत्त संगठन रहेको प्रमाणित गर्न सक्छ कि सक्दैन, त्यसका लागि असोजको पहिलो हप्तासम्म कुर्नै पर्ने देखिन्छ ।

गुटगत नेताकोे ट्याग कायमै

गुटबन्दी गर्न आवश्यक नभएको पञ्चाको भनाइ छ । विगतमा नेताहरूले हस्तक्षेप गरी संगठन चलाउन खोज्दा समस्या आएकाले अब त्यस्तो नहुने उनको जिकिर छ ।

‘हिजो विधि, प्रक्रिया मिचेर नेताको घरदैलोमा पुगेर नेता बन्न खोज्दा समस्या भयो । अब नेतृत्वमा आउन नेताको घरदैलो जान आवश्यक छैन । सबै प्रतिनिधिसहितको हलबाट समाधान खोज्न सकिन्छ’, उनले भनिन् ।

तर उपाध्यक्ष मदनले गुटभन्दा पनि विचारको समूह बन्नु स्वाभाविक रहेको बताए । ‘विचारको आधारमा गोलबन्द हुनु स्वभाविकै हो । विचार, विशेषता, व्यवहार मिल्ने एक ठाउँमा आउँछन् । त्यसैले गुटभन्दा पनि एजेण्डा मिल्ने साथीहरू टिमवर्कका लागि एक ठाउँमा आउन सक्छन्,’ उनले भने, ‘यसमा कुन नेताले कहाँ कसलाई सहयोग गर्छ भन्ने सेकेन्डरी कुरा भयो । मुख्यकुरा निर्वाचन हुँदा भोलि जो पनि आउन सक्छ ।’

नेतामुखी हुने हिजोदेखिको मानसिकताका कारण ट्याग नहटेको पवनको बुझाइ छ । यसमा दुईवटा प्रवृत्ति हावी रहेको उनले स्पष्ट पारे ।

‘हिजो देखिको केहीको मानसिकता फलानाको मानिस भएँ भने चुनाव जित्न सकिन्छ भन्ने रहेको छ । र, त्यो ट्याग लगाउन आफैँ खोज्ने एउटा प्रवृत्ति छ,’ उनले भने, ‘केहीलाई जबरजस्ती अर्कौको ट्याग लगाइदियो भने अरु सबैलाई एकातिर बनाउन पाइन्छ भन्ने देखिन्छ । त्यसकारण को मान्छे कसको हो वा होइन, त्यो क्लियर छैन । तर यस्तो प्रवृत्ति सरासर गलत छ । यो सबै प्रवृत्ति भत्काएर योपटक हामी नयाँ अध्यायमा जान्छौँ ।’

पञ्चा आफ्नो कार्यकाल पूरा गरी यो राष्ट्रिय सम्मेलनबाट बिदा हुँदैछिन् । संगठनको विधान र कार्यविधि अनुसार तल्लो तहबाट चुनिएर आएमा अहिलेका उपाध्यक्ष र महासचिव अध्यक्षका मुख्य दाबेदार छन् । १७५ सदस्यीय पदाधिकारीमा १८ जना उपाध्यक्ष र एक महासचिव छन् । तीमध्ये अध्यक्षमा पवन, मदन, दिपेश पुन बलिया प्रतिस्पर्धी मानिएका छन् । त्यसैगरी केशव रावल, तुकमान महरा, नरेश रेग्मी, नारायण खनाल, इन्द्र भुसाल र क्षितिज सापकोटा लगायतले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

साउनको अन्तिम साता बसेको क्रान्तिकारीको कार्यालय बैठकले ३३ पदाधिकारीसहित २४३ केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ ।  विधान अधिवेशनले जस्ताको तस्तै पास गरेमा भेगीय सन्तुलन र समावेशी मिलाएर एक अध्यक्षसहित उपाध्यक्ष ९, महासचिव एक, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक जना पदाधिकारी रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप