शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
पारा ओलम्पिक

राखेपमा आयोजित खेलाडी सम्मान कार्यक्रममै पदाधिकारीबिच तितो पोखापोख !

बुधबार, १९ भदौ २०८१, १५ : ०५
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । फ्रान्सको पेरिसमा सम्पन्न गृष्मकालीन पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोबर्धनको सम्मानमा आयोजित कार्यक्रमलाई पनि खेल पदाधिकारीहरूले तितो पोखापोख गर्ने मञ्चका रूपमा प्रयोग गरेका छन् ।

खासगरी, नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल तेक्वान्दो संघबिचको तिक्ततापूर्ण सम्बन्ध ‘खेलाडी सम्मान मञ्च’मा पनि छताछुल्ल भएको थियो ।

नेपाली खेलकुदकी ऐतिहासिक पदक विजेता पलेशा बुधबार बिहान पेरिसबाट स्वदेश फर्किएकी हुन् । पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामाको स्वागतका लागि बुधबार बिहान ८ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन तेक्वान्दो संघले एक दिनअघि नै विज्ञप्ति जारी गरेको थियो ।

त्यसको केही सयमपछि राखेपले पनि अर्को विज्ञप्ति सार्वजनिक गरेको थियो । राखेपद्वारा जारी विज्ञप्तिमा पलेशा र प्रशिक्षक कविराजलाई विमास्थलबाट नगरपरिक्रमा गराउँदै त्रिपुरेश्वरस्थित आफ्नो मुख्यालय पुर्‍याउने उल्लेख थियो । त्यसपछि राखेप परिसरमा सम्मान कार्यक्रम आयोजना गरिने परिषद्को विज्ञप्तिमा उल्लेख थियो ।

तर, राखेपमा आयोजित सम्मान कार्यक्रममा न तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, न त महासचिव दीपराज गुरुङ नै उपस्थित थिए । कार्यक्रममा संघका अन्य प्रमुख पदाधिकारी पनि उपस्थित थिएनन् ।

‘हामीले आफ्नै पहलमा उधारोमै भए पनि एक महिनाको प्रशिक्षणका लागि म्यानचेस्टर पठायौँ । स्वर्ण वा रजतको लक्ष्यसहित हामी तीन महिनाअघि पलेशालाई म्यानचेस्टर पठाउन चाहन्थ्यौँ । राखेपसँग सहयोगका लागि आग्रह पनि गर्‍यौँ । तर, राखेपले कुनै जवाफ फर्काएन । त्यसपछि बाध्य भएर एक महिनाका लागि भए पनि वैदेशिक प्रशिक्षणमा पठाउने निर्णय लियौँ । राखेपले आश्वासन दिएको रकमसमेत अहिलेसम्म उपलब्ध गराएको छैन ।’

संघको प्रतिनिधित्व गर्दै प्रवक्ताको भूमिकामा रहेका सदस्य साम्राज्य विक्रम पाण्डे कार्यक्रममा सहभागी भएका थिए । सम्मान कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नेक्रममा प्रवक्ता पाण्डेले आफूहरू राखेपको उपेक्षामा परेको तितो पोखे ।

उनले राखेपको विज्ञप्तिमा तेक्वान्दो संघको विषयमा केही उल्लेख नभएकोमा पनि चित्त दुखाए । ‘पलेशाको ओलम्पिक तयारीदेखि प्रशिक्षणसम्ममा संघले अथक प्रयास गरेको छ तर, राखेपले हामीलाई सधैँ उपेक्षा गर्दै आएको छ । राखेपको विज्ञप्तिमा समेत संघको योगदानको अवमूल्यन गरिएको छ,’ प्रवक्ता पाण्डेले भने ।

पाण्डेले खेलकुद विकासमा सक्रिय भएर लागेका संघहरूलाई गर्ने राखेपको ब्यवहार निराशाजनक रहेको आरोप लगाए । उनले आफूहरूप्रति तुष राखेकै कारण राखेपमा तेक्वान्दो संघका अत्यावश्यक फाइलहरू पनि बिचमै अल्मलिने गरेको बताए ।

‘खेलकुद संघका अध्यक्ष र महासचिव फाइल बोकेर राखेपको शाखा–शाखामा धाए कि धाएनन् भन्ने कुरालाई मात्र मूल्याङ्कनको आधार बनाइन्छ । यो गलत परम्परा हो । संघका अध्यक्ष, महासचिव लगायतका पदाधिकारीले फाइद सदर गराउन राखेपको शाखा धाउने होइन । यसरी राखेपको शाखा धाउने संघका पदाधिकारीले खेलाडीको हितमा काम गर्न सक्दैनन्,’ पाण्डेले भने ।

‘खेलकुद संघका अध्यक्ष र महासचिव फाइल बोकेर राखेपको शाखा–शाखामा धाए कि धाएनन् भन्ने कुरालाई मात्र मूल्याङ्कनको आधार बनाइन्छ । यो गलत परम्परा हो । संघका अध्यक्ष, महासचिव लगायतका पदाधिकारीले फाइल सदर गराउन राखेपको शाखा धाउने होइन । यसरी राखेपको शाखा धाउने संघका पदाधिकारीले खेलाडीको हितमा काम गर्न सक्दैनन् ।’

तेक्वान्दो संघकै पहलमा पलेशाले एक महिना बेलायतको म्यानचेस्टरमा पेरिस ओलम्पिकको अन्तिम तयारी गरेकी थिइन् । प्रशिक्षक नेगी पनि पलेशासँगै म्यानचेस्टर गएका थिए । उनीहरू उतैबाट पेरिस पुगेका थिए ।

त्यसपछि आफ्नो मन्तव्य व्यक्त गर्न आएका राखेपका सदस्यसचिव टंकलाल घिसिङले राखेपद्वारा जारी विज्ञप्तिमा भुलवस तेक्वान्दो संघको नाम छुट्न गएको स्पष्टिकरण दिए । उनले संघको योगदानलाई अवमूल्यन गर्ने राखेपको कुनै योजना नरहेको पनि बताए । 

IMG-20240904-WA0064

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि राखेपको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । सम्मान कार्यक्रममा अन्तिम वक्ताका रूपमा मञ्चमा उपस्थित भएका मन्त्री चौधरीले राखेपमा व्यापक सुधारको आवश्यकता रहेको बताए ।

युवा तथा खेलकुद मन्त्रालय नेपाली खेलकुदको नियमनकारी निकाय हो भने खेलकुदमन्त्री चौधरी राखेपका अध्यक्ष हुन् । ‘राखेपको कार्यशैलीमा सुधार आवश्यक छ । राखेपको काम विदेश जान मरिहत्ते गर्नेमात्र होइन । राखेपको पहिलो दायित्व खेलाडी र प्रशिक्षकको हितमा काम गर्ने नै हो,’ मन्त्री चौधरीले भने ।

उनले तत्काल आफ्नो कार्यशैली र गतिविधिमा सुधार ल्याउन राखेप नेतृत्वलाई सुझाव पनि दिए । ‘अझै पनि समय छ । आफ्नो कार्यशैलीमा सुधार ल्याउनुस् । होइन भने तपाईंहरूका लागि अवस्था प्रतिकूल बन्न सक्छ,’ खेलकुदमन्त्री चौधरीले चेतावनीको शैलीमा भने ।

‘राखेपको कार्यशैलीमा सुधार आवश्यक छ । राखेपको काम विदेश जान मरिहत्ते गर्नेमात्र होइन । राखेपको पहिलो दायित्व खेलाडी र प्रशिक्षकको हितमा काम गर्ने नै हो । अझै पनि समय छ । आफ्नो कार्यशैलीमा सुधार ल्याउनुस् । होइन भने तपाईंहरूका लागि अवस्था प्रतिकूल बन्न सक्छ ।

उनले पलेशाका प्रशिक्षक कविराज नेगी लामाको विषयलाई लिएर पनि राखेपप्रति खरो टिप्पणी गरेका थिए । कविराज राखेपअन्तर्गतका प्रशिक्षक होइनन् । उनी स्वयंसेवक प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा पलेशाले पारा एसियाली खेलकुदमा पनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

कविराजकै प्रशिक्षकत्वमा पलेशाले पेरिस पारा ओलम्पिकको छनोट प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी पनि हुन् ।

IMG-20240904-WA0062

‘प्रशिक्षकको भूमिकामा कविराज नेगीले एकपछि अर्को उत्कृष्ट नतिजा दिनु भएको छ । तर, उहाँ अझै स्वयंसेवक प्रशिक्षक रे ! उहाँलाई राखेपको आधिकारिक प्रशिक्षक बनाउन के कुराले रोकेको छ ? नियम कानुन बाधक बनेको हुनसक्छ । तर, प्रक्रिया त अगाडि बढाउनु पर्‍यो नि !’ खेलकुदमन्त्रीले भने ।

ऐतिहासिक पदक विजेता खेलाडीको सम्मान गर्न राखेप परिसरमा आयोजित कार्यक्रममा उपस्थित खेलाडी, प्रशिक्षक, पदाधिकारी र अभिभावकले भने खेल पदाधिकारीबिचको आरोप–प्रत्यारोपलाई रमाइलो मानेर हेरेका थिए ।

अझ रमाइलो पक्ष त के हो भने, राखेपले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उपस्थित नभएका संघका अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारी त्यसलगत्तै काठमाडौँ महानगरपालिकाद्वारा आयोजित पलेशाको सम्मान कार्यक्रममा भने सहभागी भएका थिए ।

‘प्रशिक्षकको भूमिकामा कविराज नेगीले एकपछि अर्को उत्कृष्ट नतिजा दिनुभएको छ । तर, उहाँ अझै स्वयंसेवक प्रशिक्षक रे ! उहाँलाई राखेपको आधिकारिक प्रशिक्षक बनाउन के कुराले रोकेको छ ? नियम कानुन बाधक बनेको हुनसक्छ । तर, प्रक्रिया त अगाडि बढाउनु पर्‍यो नि !’

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङलगायतका अधिकांश पदाधिकारी उपस्थित थिए । संघका अध्यक्ष राणाले पनि आफूहरू महानगरपालिकाको कार्यक्रममा उपस्थित भएको जानकारी दिए ।

‘काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा हामी अधिकांश पदाधिकारी सहभागी भयौँ । यो राम्रो परम्परा हो । यस्ता कार्यक्रममले देशको गौरव बढाउने खेलाडीको हौसला अभिवृद्धि गर्न ठुलो सहयोग पुर्‍याउँछ,’ अध्यक्ष राणाले भने ।

IMG-20240904-WA0056

अनि, राखेपको कार्यक्रममा किन अनुपस्थित त ? ‘राखेपले जारी गरेको विज्ञप्तिमा संघको नामसम्म उल्लेख छैन । हाम्रो कुनै योगदान नै छैनजस्तो गरेर राखेपले विज्ञप्ति जारी गर्‍यो । हाम्रो कुनै योगदान नै छैन भने हामी किन उपस्थित हुने ?’ जवाफमा अध्यक्ष राणाले भने ।

पेरिस पारा ओलम्पिकको तयारीका लागि तेक्वान्दो संघले आफ्नै पहलमा पलेशा, प्रशिक्षक कविराज लगायतको टोलीलाई वैदेशिक प्रशिक्षणका लागि बेलायतको म्यानचेस्टर पठाएको अध्यक्ष राणाले बताए । राखेपले हालसम्म सहयोगको आश्वासनमात्र दिएको उनको भनाइ छ ।

‘हामीले आफ्नै पहलमा उधारोमै भए पनि एक महिनाको प्रशिक्षणका लागि म्यानचेस्टर पठायौँ । स्वर्ण वा रजतको लक्ष्यसहित हामी तीन महिनाअघि पलेशालाई म्यानचेस्टर पठाउन चाहन्थ्यौँ । राखेपसँग सहयोगका लागि आग्रह पनि गर्‍यौँ । तर, राखेपले कुनै जवाफ फर्काएन,’ राणाले भने, ‘त्यसपछि बाध्य भएर एक महिनाका लागि भए पनि वैदेशिक प्रशिक्षणमा पठाउने निर्णय लियौँ । राखेपले आश्वसान दिएको रकमसमेत अहिलेसम्म उपलब्ध गराएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप