मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रुसकाे आक्रमण तीव्र भइरहेका बेला युक्रेनी विदेश मन्त्रीको राजीनामा

बुधबार, १९ भदौ २०८१, १३ : ५४
बुधबार, १९ भदौ २०८१

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सिकीलाई झट्का लागेको छ । रुसले व्यापक हवाई आक्रमण गरिरहेको समयमा विदेश मन्त्रीले राजीनामा दिएका छन् । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बुधवार पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामाको जानकारी युक्रेनी संसद्का सभामुखले दिएका हुन् । रुसी आक्रमण तीव्र बन्दै गइरहेको समयमा राजीनामा दिने कुलेबा जेलेनेस्कीको मन्त्रिमण्डलका अर्को हाई–प्रोफाइल मन्त्री हुन् । उनको राजीनामाबारे संसद्को अर्को बैठकमा छलफल हुने संसद्का सभामुख रुस्लान स्टेफानचुकले टेलिग्राममा भनेका छन् ।

मङ्गलवार संसद्का बहुमतका नेता डेभिड अराखामियाले मन्त्रिमण्डलमा यो हप्ता व्यापक हेरफेर हुनसक्ने बताएका थिए । स्टेफानचुकका अनुसार जेलेन्स्की सरकारका कम्तीमा ६ अन्य वरिष्ठ नेताहरूले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् ।

बुधवार मन्त्रिपरिषद्का थप केहीले राजीनामा दिने बताइएको छ । बिहीबार नयाँ मन्त्रीहरूको नामावली सार्वजनिक हुने भएको छ । मन्त्रिपरिषद्मा हेरफेरको सम्भावनाबिच मङ्गलवार राति संसद्का सभामुख समक्ष चार जना मन्त्रीले राजीनामा बुझाएका थिए ।

सभामुखको कार्यालयअनुसार युरोपेली मामिलाका लागि उपप्रधानमन्त्री ओल्गा स्टेफानिशिनास रणनीतिक उद्योग मन्त्री ओलेक्जेन्डर कामिशिन, न्याय मन्त्री डेनिस मालिस्का र वातावरण मन्त्री रुस्लान स्ट्राइलेट्सले आफ्नो पदबाट राजीनामा दिएका छन् । यसबारे सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यीमध्ये कोही मन्त्रीलाई अन्य वरिष्ठ पदमा राखिने हो वा होइन भन्ने पनि स्पष्ट छैन । जेलेन्स्कीले गत हप्ता मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुने सङ्केत गरेका थिए । यसैक्रममा मङ्गलवार संसदमा आफ्नो दलका प्रमुखले वर्तमान आधा मन्त्री परिवर्तन हुने सम्भावना रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप