बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
प्रशासन

काठमाडौँको सीडीओ बन्न ५ सह सचिवबिच प्रतिस्पर्धा

काठमाडौँमा के छ आकर्षण ?
बुधबार, १९ भदौ २०८१, १३ : २८
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । काठमाडौँमा कार्यरत प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफ्नो कार्यकाल पुरा गरेका छन् । २०८० असार २१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रजिअ भएका बस्नेतलाई १४ महिनापछि गृह मन्त्रालयले सरुवा गर्दैछ ।

काठमाडौँको प्रमुख जिल्ला अधिकारी बन्न गृह मन्त्रालयका सह सचिवहरूबिच प्रतिस्पर्धा सुरु भएको छ । मन्त्रालयका अधिकृतहरूका अनुसार ५ जना सह सचिव काठमाडौँ जाने दौडमा छन् ।

सहसचिव जयनारायण आचार्य, प्रेमप्रसाद भट्टराई, डा.भीष्मकुमार भुसाल, कोशहरि निरौला र रामचन्द्र तिवारी काठमाडौँको प्रजिअ बन्ने प्रतिस्पर्धामा छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्य प्रतिस्पर्धामा सबैभन्दा अगाडि छन् । उनी जुम्लाका स्थानीय हुन् ।

काठमाडौँमा रुचि राख्ने अर्का सहसचिव प्रेमप्रसाद भट्टराई अहिले मोरङका प्रजिअ हुन् । उनले काठमाडौँ जान तीव्र इच्छा देखाएको गृहका अधिकारीहरू बताउँछन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी र अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला पनि काठमाडौँ जाने दौडमा छन् । गृहमन्त्री रमेश लेखक निकट स्रोतका अनुसार काठमाडौँमा कारागार व्यवस्थापन विभागका महानिर्देशक आचार्यलाई पठाउने सम्भावना प्रबल छ ।

आकर्षण किन ?

काठमाडौँमा प्रमुख जिल्ला अधिकारी हुन निजामती प्रशासनमा ‘शक्तिशाली’ र सत्ता निकट भनेर चिनिएका सहसचिव बिच प्रतिस्पर्धा हुन्छ । करियर भएका र सेवाको अन्तिम अवस्थामा रहेकाहरू समेत काठमाडौँ नै रोज्छन् ।

नाम र ‘फेम’ अर्थात ख्यातिका कारण काठमाडौँको प्रजिअ रोजाइमा पर्ने गरेको गृह प्रशासनका अधिकारीहरू बताउँछन् । काठमाडौँमा बसेका एक जना पूर्वप्रजिअ भन्छन, ‘काठमाडौँको कार्यप्रकृत्ति अनुसार सत्तापक्ष र प्रतिपक्षसँग ठोक्किनुपर्छ त्यसबाट सबैसँग समान सम्बन्ध कायम हुने रहेछ ।’

राजधानीको जिल्ला भएको हुनाले देशभरका सबैसँग सम्बन्ध हुन्छ । काठमाडौँमा कार्यरत प्रमुख जिल्ला अधिकारीलाई राष्ट्रपति र प्रधानमन्त्रीले चिन्ने अवस्था हुन्छ । राज्यको तर्फबाट आयोजित समारोह व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारीको भूमिका हुन्छ ।

गृह मन्त्रालयमा लामो समय काम गरेका एक जना सहसचिव भन्छन्, ‘काठमाडौँमा ठुलो कार्यक्षेत्र छ, यहाँको प्रजिअ हुँदा उच्च तहका पदाधिकारी र राजनीतिज्ञहरूसँग पहुँच हुन्छ ।’

काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उद्योगी र ब्यापारीहरुसँग काम गर्न पाउँछन् । त्यसबाट उनीहरूले ‘फाइदा’ लिनसक्ने जानकारहरू बताउँछन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारीको मातहतमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक हुन्छन् । काठमाडौँमा डीएसपीले कमान्ड गर्ने १४ वटा प्रहरी वृत्त छन् । काठमाडौँ परिसर र वृत्तका डीएसपीहरुले पनि प्रजिअसँग समन्वय गरेर काम गर्नुपर्ने संरचनागत अवस्था छ ।

सार्वजनिक हित तथा शान्तिविरुद्धको कसुर र जुवासम्बन्धी कसुरका मुद्दाहरू प्रजिअले नै हेर्छन् । मुद्दाको चापका कारण पनि काठमाडौँको प्रजिअ हुन बढ्दो आकर्षण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप