शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
चाडपर्व

चाडपर्वमा खाद्यान्न कालोबजारी रोक्न सरकारले निकालेको उपाय

कति चामल आवश्यक पर्छ भन्ने यकिन तथ्याङ्क नै छैन
बुधबार, १९ भदौ २०८१, १३ : ०४
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । सरकारले चाडपर्वमा खाद्यान्नको कालोबजारी रोक्न सरकारी निकायलाई सक्रिय बनाएको छ । निजी क्षेत्रले मात्रै आयात गर्दा खाद्यान्नको अत्यधिक माग हुनेबेला कालोबजारी बढ्ने भन्दै सरकारले खाद्य संस्थान, साल्ट ट्रेडिङ जस्ता संस्थानलाई आयात अनुमति दिएको छ ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका थिए । सँगै चाडपर्वमा चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्ने भन्दै उनले साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन मातहतका निकायलाई भने ।

त्यसअघि चाडपर्वमा खाद्यान्न अभाव हुन नदिन प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा उद्योगमन्त्री दामोदर भण्डारी र सचिवलाई समेत राखेर छलफल गरिएको थियो । चाडपर्वमा खाद्यवस्तु अभाव हुन नदिन आयातलाई सहज बनाउने तथा बजार अनुगमन गर्नेबारे छलफल भएको थियो । 

दसैँतिहार लगायतका ठुला चाडपर्व नजिकिएका छन् । यो बेलामा अत्यधिक खपत हुने चामल, चिनी, मैदा, तेल लगायतका खाद्यवस्तु सरकारले बेलैमा जोहो गरेर राख्नुपर्ने हो । तर अहिलेसम्म सरकारी भण्डार (खाद्य संस्थान) मा कुल ९५ हजार ३७९.१७ क्विन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी सर्मिला सुवेदी न्यौपानेले जानकारी दिइन् ।

खाद्य संस्थान अन्तर्गत रहेका २४ वटा जिल्ला शाखा कार्यालयमा ३३ हजार ९९१.५४ क्विन्टल चामल मौज्दात छ ।

  • बैतडीमा छैन चामल 

खाद्य संस्थानको जिल्ला शाखा कार्यालयमध्ये सबैभन्दा धेरै मौज्दात हुम्लामा ८ हजार २६१.१५ क्विन्टल चामल छ । बैतडीको कुलाउ शाखामा भने मौज्दात छैन । यस्तै मनाङ, अछाम, बझाङ, रोल्पा, रुकुम पूर्व लगायतका जिल्लाहरूमा न्यून मौज्दात रहेको पाइएको छ ।

ddddd

यस्तै प्रदेशका ७ शाखामा ३६ हजार ६६९.०४ क्विन्टल चामल मौज्दात छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशको कार्यालय काठमाडौँमा १४ हजार २६९.७६ क्विन्टल चामल मौज्दात छ । सबैभन्दा थोरै गण्डकी प्रदेशको कार्यालय पोखरामा ९४३.९१ क्विन्टल चामल मौज्दात छ ।

प्रादेशिक कार्यालयमा भएको मौज्दात

प्रादेशिक कार्यालय मौज्दात विवरण (क्विन्टलमा)

3

स्रोतः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका मुख्य शाखा कार्यालहरूमा २४ हजार ७५१ क्विन्टल चामल मौज्दात छ । जसमध्ये सबैभन्दा धेरै नेपालगञ्जको कार्यालयमा ७ हजार ७०३.५० क्विन्टल चामल मौज्दात छ । सबैभन्दा थोरै महेन्द्रनगरको मुख्य शाखा कार्यालयमा ४३६ क्विन्टल चामल छ । महेन्द्रनगरको मुख्य शाखा कार्यालयले सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न वितरण गर्छ ।

मुख्य शाखा कार्यालयमा चामल मौज्दातको अवस्था

4

 

स्रोतः खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड

मौज्दात बाहेक ८० हजार क्विन्टल चामल आयात हुने क्रममा रहेको खाद्य कम्पनीका सूचना अधिकारी न्यौपानेले बताइन् । उक्त चामल आयात भएपछि आवश्यकता अनुसार दुुर्गमका खाद्य भण्डारहरूमा पठाउने उनको भनाइ छ ।

‘८० हजार क्विन्टल चामाल आयतको क्रममा छ । यो दसैँ अगाडि नै आइपुग्छ । दसैँमा चामल अभाव हुँदैन,’ न्यौपानेले भनिन्, ‘यो चामल आइसकेपछि आवश्यकताअनुसार सबै शाखामा पठाउँछौँ ।’

सरकारी निकायमा चाडपर्वको बेला कति चामल आवश्यक पर्छ भन्ने तथ्याङ्क नै नभएको पाइएको छ । चाडपर्वमा कति चामल आवश्यक पर्छ भन्ने विषयमा यकिन तथ्याङ्क नभएको खाद्य संस्थानको खरिद विभागका अधिकृत भेषराज न्यौपानेले बताए ।

‘चाडपर्वमा के कति चामल आवश्यक पर्छ भन्ने तथ्याङ्क निकालिएको छैन । निकाल्ने प्रयास भइरहेको छ । हामी छिट्टै यस्तो तथ्याङ्क निकाल्छौँ,’ अधिकृत न्यौपानेले भने ।

  • निजीले पनि ल्याउँदै

खाद्य संस्थान, साल्ट ट्रेडिङ र निजी २० कम्पनीले भारतबाट तोकिएको कोटा बमोजिमको ९५ हजार मेट्रिक टन चामल आयात गर्ने प्रक्रियामा छन् । जसमध्ये २० निजी कम्पनीले ६५ हजार मेट्रिक टन चामल ल्याउने अनुमति पाएका छन् । साल्ट ट्रेडिङले २० हजार र खाद्य संस्थानले १० हजार मेट्रिक टन चामल ल्याउने अनुमति पाएका छन् । 

सो चामल दसैँ अगाडि आइसक्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल बताउँछन् ।

यस्तै विभागले चाडपर्वलक्षित चिनी ल्याउन ७ निजी कम्पनीलाई अनुमति दिइसकेको छ । ती कम्पनी चिनी आयात गर्ने प्रक्रियामा गइसकेका छन् ।

‘कोटाको १९ हजार मेट्रिक टन चिनी भदौ अन्तिमसम्म ल्याइसक्नु पर्छ,’ पौडेलले भने, ‘असोज १४ गते भारतले दिएको कोटाको अवधि सँकिदैछ । त्यसैले दसैँ अगाडि चिनी आइसक्छ र यो वर्ष चिनीको अभाव हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप