बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सीआरबीटी

स्रष्टाले पाएनन् १४ महिनादेखि सीआरबीटी रकम, झेल कस्तो ?

बुधबार, १९ भदौ २०८१, १२ : ००
बुधबार, १९ भदौ २०८१

काठमाडौंँ । नेपाल टेलिकमबाट गीत–सङ्गीतका निर्माता (गीतमा पैसा लगानी गर्ने, स्रष्टा, गायक–गायिका, गीतकार, सङ्गीतकार)ले लामो समयदेखि सीआरबीटी (कलर रिङ ब्याक टोन)को रकम नपाएको पाइएको छ ।

नेपाल टेलिकमले गीत प्रयोग गरेबापत तत्कालै ग्राहकसँग  सीआरबीटी शुल्क असुल्ने गरे पनि सम्बन्धित निर्माताले भने १४ महिनादेखि रकम नपाएको गुनासो गरेका हुन् । यसअघि तीन महिनामा प्राप्त गर्दै आएको सीआरबीटीको रकम लामो समयसम्म प्राप्त नभएको उनीहरूको गुनासो छ ।

santosh kc

गायक, गीतकार तथा सङ्गीतकार सन्तोष केसीले गत वर्षको असारदेखि आफूले सीआरबीटीको रकम नपाएको बताए । ‘२०८० असरपछिको पैसा पाउन बाँकी छ’, केसीले भने, ‘मेरो एग्रिगेटर म्युजिक नेपाल हो । म्युजिक नेपालको कोसँग छ, थाहा छैन । म्युजिक नेपालले पैसा नआएकाले दिन नसकेको बताउँदै आएको छ ।’

म्युजिक नेपाल र टेलिकमको सिधै कारोबार छ कि बिचमा अर्को छ, त्यसबारे आफूलाई थाहा नभएको केसीको भनाइ छ ।

kastup panta (1)

वरिष्ठ गायक तथा सङ्गीतकार कस्तुप पन्तले १४ महिनादेखि सीआरबीटीको रकम प्राप्त नगरेको बताए । ‘म हाइलाइट नेपालसँग जोडिएको छु । त्योभन्दा माथि टेलिकमसम्म को–को छन् भन्ने थाहा भएन’, गायक पन्तले भने, ‘हामी जोडिएको एग्रिगेटरले उताबाट रकम नआएको बताउँदै आएको छ । मैले केही बुझ्न सकेको छैन ।’

टेलिकमले उपभोक्ताबाट सेकेन्ड भरमै पैसा काट्ने गरे पनि आफूहरूलाई लामो समयदेखि रकम दिन रोकिएको उनको गुनासो छ ।

गायक तथा सङ्गीतकार अर्जुन पोखरेल पनि एग्रिगेटरले पाए वा पाएनन् भन्ने आफूलाई थाहा नभएको तर आफूले लामो समयदेखि रकम नपाएको बताउँछन् ।

‘मेरो हिसाब के भयो भनेर एग्रिगेटरसँग ताकेता गरेको धेरै नै भयो । उहाँहरू हुन्छ, म गर्छु भन्नुहन्छ’, पोखरेलले थपे, ‘पैसा नआएको हो वा एग्रिगेटरले अड्काएको हो भन्ने मैले केही बुझ्न सकिनँ ।’

  • निर्माताको कारोबार कोसँग ?

गीत–सङ्गीतका निर्माताले सीआरबीटीका लागि सिधै टेलिकमसँग कारोबार गर्दैनन् । उनीहरूले हाइलाइट नेपाल, म्युजिक नेपाल र बुढासुब्बाको डिजिटेनमेन्ट मार्फत कारोबार गर्दै आएका छन् ।

हाइलाइट नेपाल, म्युजिक नेपाल, डिजिटेनमेन्ट र  टेलिकमका बिचमा पनि अर्को एक एग्रिकेटर जेनिक्स प्रालि छ ।

हाइलाइट नेपाल, म्युजिक नेपाल, डिजिटेनमेन्टले एग्रिगेटर जेनिक्ससँग कारोबार गर्दै आएका छन् । आफूले कारोबार गर्दै आएको जेनिक्सले गत वर्षको असारपछिको  सीआरबीटी रकम प्राप्त नभएकाले निर्मातालाई दिन नसकेको हाइलाइट नेपालमा जनक तामाङ बताउँछन् ।

janak tamange

‘सीआरबीटीको रकम हामीले पनि प्राप्त नगरेको एक वर्षभन्दा बढी भयो’, तामाङले भने, ‘मैले टेलिकममा बुझ्दा पनि जेनिक्सले पैसा नपाएको थाहा भयो । त्यही भएर पनि हामीले ताकेता मात्र गरिरहेका छौँ ।’ जेनिक्स एग्रिगेटरबाट रकम प्राप्त हुनासाथ निर्मातालाई दिने तामाङको भनाइ छ ।

‘कतिपय निर्मातालाई हामीले पैसा लिएर रोकेको होला भन्ने बुझाइ छ तर त्यो होइन । हामीलाई प्राप्त हुनासाथ दिन्छौँ,’ तामाङले भने ।

nabaraj giri

डिजिटेनमेन्टका सञ्चालक संस्था बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले आफूमाथिको एग्रिगेटरबाट सीआरबीटीको रकम रोकिएकाले दिन नसकेको बताए ।

‘गत वर्षको असारबाट रकम प्राप्त भएको छैन’, गिरीले भने, ‘ताकेता गर्दा हामीमाथिको एग्रिगेटर र टेलिकमबिच केही समस्या रहेको थाहा हुन्छ ।’ आफूले रकम प्राप्त गर्ना साथ तुरुन्त सबैलाई बोलाएर दिने उनको भनाइ छ ।

  • जेनिक्स भन्छ– ४ महिनाको अहिले लिनुस्

गीत–सङ्गीतका निर्माताले सीआरबीटीको कारोबार हाइलाइट नेपाल, म्युजिक नेपाल र बुढासुब्बा डिजिटेनमेन्ट मार्फत गर्दै आए पनि यी कम्पनीले जेनिक्स प्रालि भन्ने एग्रिगेटरसँग ६ वर्षदेखि कारोबार गर्दै आएका छन् ।

जेनिथले भने गत वर्षको कात्तिक महिनासम्मको रकम टेलिकमबाट प्राप्त गरिसकेको छ । तर उसले यो रकम आफूभन्दा तलको एग्रिगेटरलाई अहिलेसम्म दिएको छैन ।

‘हामीलाई पैसा लिन र दिन डेटा सङ्कलनका लागि केही महिना लाग्छ । त्यो काम सकिएपछि सम्भवतः अर्को सातादेखि ४ महिनाको पैसा रिलिज गर्छाैं ।’

सीआरबीटीको ४ महिनाको रकम भर्खर प्राप्त भएकाले आफूभन्दा तलका एग्रिगेटरलाई दिने प्रक्रिया सुरु भइसकेको जेनिक्स प्रालिका म्यानेजर शिवम् श्रेष्ठ बताउँछन् ।

‘गत वर्षको असारसम्मको रकम मैले आफ्नो सबै एग्रिगेटरलाई पहिले नै भुक्तानी गरिसकेको छु । उहाँले निर्मातालाई दिनुभयो कि भएन, थाहा छैन’, श्रेष्ठले भने, ‘एक महिना अगाडिमात्र मैले टेलिकमबाट ४ महिना (साउन, भदौ, असोज र कात्र्तिक)को रकम प्राप्त गरेको छु । यो पनि दिने प्रक्रियामा छ ।’

४ महिनाको भुक्तानी लिन आफूले तलका एग्रिगेटरलाई खबर गरिसकेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘हामीलाई पैसा लिन र दिन डेटा सङ्कलनका लागि केही महिना लाग्छ । त्यो काम सकिएपछि सम्भवतः अर्को सातादेखि ४ महिनाको पैसा रिलिज गर्छाैं ।’

थप दुई महिनाको रकम पनि छिटै आउने कुरो भइरहेका कारण एकसाथ ६ महिनाकै रकम दिने कि भनेर केही समय होल्ड गरेको उनको भनाइ छ । धेरै गाह्रो परेको भए आउनुस्, आएको पैसा रिलिज गर्दिन्छु भनेर आफूले सबैलाई पटक पटक भनेको श्रेष्ठको भनाइ छ ।

  • के भन्छ टेलिकम ?

नेपाल टेलिकमले भने ६ महिनाभन्दा बढीको रकम बाँकी नरहेको प्रस्ट पारेको छ । जेनिक्ससँग टेलिकमको ६ महिनाभन्दा बढीको पेमेन्ट बाँकी नरहेको टेलिकमका प्रवक्ता किशोर कुमार भट्टले बताए ।

‘जेनिक्स र टेलिकमबिच सीआरबीटी कारोबारको एग्रिमेन्ट सकिएको छ । त्यो नवीकरण हुने प्रक्रियामा रहेकाले केही महिनाको भुक्तानी रोकिएको छ,’ प्रवत्ता भट्टले भने, ‘मेरो विचारमा त्यो ६ महिनाभन्दा बढीको छैन होला ।’ निर्माताले त्यो अवधिभन्दा बढीको पैसा नआउनुमा टेलिकमको केही दोष नरहेको उनको भनाइ छ ।

  • के हो सीआरबीटी ?

सीआरबीटी भनेको नेपाल टेलिकमको मोबाइल फोन सेवाका प्रयोगकर्ताहरूले कसैलाई फोन गर्दा बज्ने कलर रिङ ब्याक टोन हो । सेवाका प्रयोगकर्ताको मोबाइलबाट टेलिकमले ६ रुपैयाँ ४० पैसा काट्ने गर्छ । खासमा ७ दिनको सेवा शुल्क ५ रुपैयाँमात्र हो । टेलिकमले थप एक रुपैया ४० पैसा करबापत काट्छ ।

प्रयोगकर्ताबाट कटिएको ५ रुपैयाँमा टेलिकमले ४० प्रतिशत राखेर पहिलो एग्रिगेटर ‘जेनिक्स’ लाई ६० प्रतिशत (३ रुपैयाँ) दिन्छ । ‘जेनिक्स’ले आफूलाई प्राप्त ३ रुपैयाँबाट २० प्रतिशत सेवा शुल्क कटाएर दोस्रो एग्रिगेटर (हाइलाइट नेपाल, म्युजिक नेपाल र डिजिटेनमेन्ट)लाई २ रुपैयाँ ४० पैसा दिन्छ । दोस्रो एग्रिगेटरले पनि आफूलाई प्राप्त २ रुपैयाँ ४० पैसाबाट १५ देखि २० प्रतिशतसम्म सेवा शुल्क काटेर निर्मातालाई रकम उपलब्ध गराउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप