माओवादी परामर्श बैठकको जोड : अहिले प्रचण्डको विकल्प छैन, जनार्दनको ‘टाइमिङ’ मिलेन
काठमाडौँ । साढे तीन दशकदेखि पार्टीको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पार्टीमा ‘निर्विकल्प’ देखिएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशमा जारी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठकमा अध्यक्ष प्रचण्डको विकल्प खोज्ने बेला नभएको मत नेताहरूले राखेका छन् ।
साउनको अन्तिम साता केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्वको विकल्पमा तीन वटा प्रस्ताव लिखित रूपमै पेस गरेका थिए । पार्टी निर्माणमा देखिएका समस्याबारे उनले नेतृत्वको खुलेर आलोचनासमेत गरेका थिए ।
जवाफमा अध्यक्ष प्रचण्डले शर्माको प्रस्तावले पार्टी निर्माणमा सहयोग पुग्ने बताए पनि आफूमाथिका आरोपको भने खण्डन गरेका थिए । शर्माको प्रस्तावलाई समेटेर तलसम्म छलफल र बहसमा लैजाने प्रचण्डले प्रतिबद्धता जनाएका थिए ।
असोजको पहिलो साता बस्ने केन्द्रीय समिति बैठकअघि प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका सुझाव लिएर राजनीतिक दस्तावेज बनाउने तयारी प्रचण्डको छ ।
स्थायी समितिको निर्णय बमोजिम सबै प्रदेश, केन्द्रीय निकाय, जवस/मोर्चामा परामर्श बैठक जारी छ । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय निकायमा परामर्श बैठक बसेको छ । यसअघि बागमती, उपत्यका विशेष/प्रदेश समन्वय, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा परामर्श बैठक सम्पन्न भइसकेको छ ।
परामर्श बैठक सम्पन्न भएका प्रदेशहरूमा अधिकांशले अहिले नै नेतृत्वको विकल्प खोज्ने बेला नभएको विचार व्यक्त गरेको नेताहरू बताउँछन् । पार्टी निर्माण र नेतृत्वको विकल्पमा १४ पेजको फरक प्रस्ताव राखेका शर्माको नियत ठिक भए पनि ‘टाइमिङ’ (समय) नमिलेको अधिकांशको मत छ ।
उपमहासचिव एवं कोशी प्रदेशको इन्चार्ज हरिबोल गजुरेलले विचारको विकासमा पार्टीभित्र देखिएको बहस सकारात्मक भए पनि तत्काल नेतृत्वको विकल्प नखोजिएको प्रस्ट पारे ।
‘परामर्श बैठकमा पार्टी निर्माण र विचारको संश्लेषणबारे सकारात्मक बहस भएको छ । तर नेतृत्वको विकल्पमा बहस भएको छैन । माओवादी नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै हटाइएकाले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डा लिएर जनतामा जानुपर्ने सुझाव आएका छन्’, उनले भने ।
केन्द्रीय सदस्य तथा प्रदेशका नेताहरूले पनि अहिले नै अध्यक्ष प्रचण्डको विकल्पको खोजी नभएको बताए । फरक प्रस्ताव राखेका शर्मा स्वयंले नै पार्टी विभाजन गर्न वा नेतृत्वको विकल्पमा आफूले प्रस्ताव नल्याएको स्पष्ट पारेकाले उक्त प्रस्ताव खारेज भइसकेको उनीहरूको जिकिर छ ।
खासमा अहिलेसम्म बैठकमा भएका बहस, पार्टी निर्माण, नेतृत्वको विकल्पमा केकस्ता विचार आएका छन् ? समाजवादी कार्यदिशा कार्यान्वयनमा देखिएका समस्या लगायत विषयमा केन्द्रीय सदस्य हिमाल शर्मा, बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, शर्मा, पौडेल, चौधरी र बरालसँग गरिएका कुराकानीको सम्पादित अंशः
- अन्तरविरोध सम्बन्धी ‘च्याप्टर क्लोज’ भइसक्यो : हिमाल शर्मा
लिडरशिप परिवर्तन गर्ने अहिले समय होइन र छलफलको विषय बन्न पनि सक्दैन भन्ने बहस भएको छ । यसमा जनार्दन कमरेडले पनि मैले नेतृत्व परिवर्तनको कुरा उठाएको होइन भन्नुभएको छ । सुझावमात्र हो, फरक मत होइन भनेर उहाँले स्पष्ट पार्नुभएपछि त्यस सम्बन्धी ‘च्याप्टर क्लोज’ भयो । पार्टीलाई जनवादीकरण गर्ने, लोकतान्त्रिकरण गर्ने भन्ने विषय उहाँले उठाउनुभएको विषय राम्रो भए पनि टाइमिङ मिलेन भन्ने सुझाव आएको छ ।
अध्यक्ष प्रचण्ड नै चुनाव लड्न तयार भएपछि महाधिवेशनमा जाउँ भन्ने मेरो पनि मत रह्यो । अहिले कसलाई नेतृत्व हस्तान्तरण गर्ने ? उत्तराधिकारीको टिम निर्माण नभएसम्म सहज हस्तान्तरण गर्न सकिँदैन । जनार्दनको प्रस्तावले अहिले समाधान दिँदैन । जनवादीकरण गरौँ भन्ने अधिकांशको सुझाव आएको छ । महाधिवेशनमा पुगेर विधि र प्रक्रियाबाट नेतृत्व छनोट गरौँ भन्ने छ ।
अर्को पार्टीलाई एकताबद्ध बनाएर लैजाउँ भन्ने छ । आठौँ महाधिवेशनले समाजवादी कार्यदिशा पारित त गरेको छ तर साङ्गोपाङ्गो भएको छैन । त्यही कार्यदिशा हो भन्नेमा कसैको दुईमत छैन । समाजवादको मुख्य दुस्मन दलाल पूँजीवाद हो भन्ने हाम्रो निष्कर्ष हो । तर दलाल पूँजीवादलाई सरकार, पार्टी कार्यकर्ता र आम जनताले कसरी निरुत्साहित गर्ने हो ? भन्नेमा शृङ्खलाबद्ध कार्यनीति दिनुपर्यो । विचार संश्लेषण गर्नका लागि महाधिवेशन जरुरी छ । महाधिवेशनका लागि केन्द्रीय समिति बैठकले एउटा ठोस प्रस्तावका रूपमा अगाडि बढाउँछ ।
- प्रचण्डले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने विषय दरिलो ढङ्गले आएको छ : हरिराम चौधरी
अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक बस्नुअघि सातै प्रदेशबाट मसिनो रूपमा सुझाव र सल्लाह लिन परामर्श बैठक राख्नुभएको जस्तो लाग्यो । अन्य प्रदेशमा के भयो, थाहा भएन । संक्षिप्तमा भन्नुपर्दा सुदूरपश्चिममा पाँच वटा सुझाव आएका छन् ।
पहिलो विधान सम्मेलन र आठौँ महाधिवेशनको म्याण्डेटलाई पार्टीले संस्थागत ढङ्गले अगाडि बढाउन पर्यो भन्ने छ ।
दोस्रो जबस/मोर्चाहरू सक्रिय बनाउन सुझाव दिएका छन् । समसामयिक विषयबस्तु लिएर जान जबस/मोर्चालाई सक्रिय रूपमा लिएर जाने । त्यसका लागि अहिलेको केन्द्रीय समितिले कार्ययोजना बनाउनु पर्यो भन्ने छ ।
यस्तै, माओवादीले जनयुद्ध सुरु गर्दै गर्दा पहिचानको मुद्दा विशेष ढङ्गले उठाएको थियो । त्यसका वरिपरि जातीय र क्षेत्रीय मोर्चा गोलबन्द भएका थिए । संविधान जारी भएपछि पहिचानको मुद्दा अलि ओझेलमा परेको छ । त्यसको बारेमा केन्द्रीय समितिले आवश्यक निर्णय गरोस् भन्ने सुझाव आएका छन् ।
तेस्रो, पार्टीको तल्लो समितिदेखि माथिल्लो समितिहरू भद्दा छन्, त्यसलाई चुस्तदुरुस्त बनाएर जनताका काममा सक्रियपूर्वक खट्न सक्ने समिति निर्माण गर्नुपर्यो । समितिलाई सङ्ख्यात्मक नभइ क्षमता विकासका निम्ति अगाडि बढाउनुपर्यो । समय सापेक्ष पार्टी कार्यकर्ताहरूलाई स्कुलिङ गर्नुपर्यो भन्ने छ ।
चौथो, पछिल्लो पटक अध्यक्ष प्रचण्ड सरकारमा गइसकेपछि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा खेलेको भूमिका महत्त्वपूर्ण छ । सरकारमा हुँदा गरेका कामलाई पार्टीले प्रभावकारी ढङ्गले जनतामा लिएर जानुपर्छ ।
समाजवाद निर्माणका लागि बहस भइरहेको विषयमा दलाल नोकरशाह पूँजीपति वर्गको विरुद्ध कार्यक्रम लिएर जानुपर्ने सुझाव आएका छन् ।
पछिल्लो समय लिखित रूपमा आएका बहसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखेका छन् । तर अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने विषय दरिलो ढङ्गले आएको छ ।
- अहिले प्रचण्डकै ‘रि–ब्राण्डिङ’ गरेर पार्टीको नेतृत्व गर्नुपर्छ : सरल ‘सहयात्री’ पौडेल
पहिला माओवादी पार्टीको वैचारिक अपग्रेड गरेर संगठनात्मक दिशा प्रस्ट गर्नुपर्छ । दोस्रोमा नेतृत्वको ‘रि–ब्राण्डिङ’ गरी नेतृत्व हस्तान्तरण गरेर वैचारिक, राजनीतिक, साङ्गठनिक व्यवस्थापन ठिक ढङ्गले गरेर नेतृत्व हस्तान्तरण र सङ्गठन सम्हाल्ने आइडोलोजिकल के कुरा हो, त्यो क्लियर गर्नुपर्छ । तर अहिलेलाई नेतृत्व र पार्टी संगठनको रि–ब्राण्डिङ आवश्यक छ ।
रि–ब्राण्डिङको अर्थ अध्यक्षले तत्काल पार्टी राजनीतिको नयाँ ढङ्गले विचारको संश्लेषण गर्दै उत्तराधिकारीको टिम निर्माणको राजनीतिक, वैचारिक प्रश्न के हो, त्यसको हल हुने गरी वैचारिक केन्द्रीयकरण गर्नुपर्छ । तुलनात्मक रूपमा माओवादी नेतृत्व र पार्टीप्रति जे सकारात्मक भावना व्यक्त भइराखेको छ, त्यसलाई नयाँ ढङ्गले जागृत गर्न सकिन्छ ।
प्रचण्डको नेतृत्वमै पार्टी निर्माणमा विचारको संश्लेषण गरेर नेतृत्व हस्तान्तरणको विधिलाई क्लियर गर्नुपर्छ । लामो समय नेतृत्व गर्दा अध्यक्षको पनि समस्या भयो । तर उत्तराधिकारीको टिम जसरी क्लियर रुपमा देखिनुपर्थ्यो, त्यसमा ग्याप देखिएको छ । त्यसलाई परिपूर्ति गर्ने विधि तय गर्नुपर्छ । अहिले प्रचण्डकै रि–ब्राण्डिङ गरेर पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने क्लियर सन्देश आएको छ ।
अर्को, समाजवादको आधार तय गर्न विचार संश्लेषणको बहस हुँदै गर्दा प्रचण्डले ३५ वर्षसम्म अनवरत रूपमा नेतृत्व गर्नुभयो । अहिले समाजवादी प्रकृतिको संगठन हो कि होइन भन्ने बहस उठेको छ । तर ३५ वर्षसम्म नेतृत्व गरेको प्रक्रिया के हो भन्ने बारेमा कम बहस भयो ।
माओवादी आन्दोलन अन्य दलजस्तो नियमित सङ्गठन चलाएको पार्टी होइन । माओवादीले १० वर्ष क्रान्ति नै गर्यो । अर्को चार/पाँच वर्ष क्रान्तिको तयारी गर्न लाग्यो । तयारी गरेर क्रान्ति अर्कोलाई गर भनेको भए अहिले विवेकशील पार्टी बन्थ्यो । त्यसपछि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संविधान निर्माणको एउटा चरण भयो ।
संविधान निर्माणपछिको चरणचाहिँ बहसयोग्य हुनसक्छ । त्यसकारण प्रचण्ड नेतृत्व विशिष्टिकृत परिस्थितिको उपज हो । त्यसैले नियमित नेतृत्वको अपेक्षा गर्न हुँदैन । पार्टीभित्र अहिले व्यक्ति केन्द्रित जस्तो बहस भइरहेको छ, त्यसबाट माथि उठेर राजनीतिक र वैचारिक प्रकृतिको बनाएर निकास दिनुपर्छ भन्ने सन्देश दिएको छ ।
- जनार्दनको नियत ठिक छ, अलि टाइमिङ मिलेन भन्ने सुझाव आएको छ : सुदर्शन बराल
अध्यक्षले ल्याउने समाजवादी कार्यक्रमको पक्षमा सिङ्गो पार्टी उभिन्छ र कार्यान्वयन गर्छ । विवेकशील रुपान्तरण हुनुपर्छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला भएका कामले जनतामा आशा जगाएको छ । यस्तो बेला पार्टीलाई अझ एकताबद्ध बनाउनुपर्यो, संगठन निर्माणमा ध्यान दिनुपर्यो भन्ने सुझाव आएका छन् ।
जनार्दन शर्माले उठाएको नियत ठिक छ तर अलि टाइमिङ मिलेन कि भन्ने सुझाव आएको छ । उहाँ आफैँले पनि मेरो फरक मत होइन भन्नुभएको छ । अरुले मौखिक सुझाव दिए, मैले लिखित दिएँ भन्नुभएको छ । यी सबै पार्टी रुपान्तरणका लागि उठाएको विषय हो भन्नुभएको छ ।
शर्माले पार्टी फुटाइँदै छ भन्ने हल्ला चलेको हुनाले नेतृत्वले नै स्पष्ट पार्नुपर्छ भनेको हुँ भन्नुभयो । दुःख गरेर बनाएको पार्टी मैले किन फुटाउने भन्ने कुरा राख्नुभयो । तर साथीहरूले राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिएको बेला पार्टी अझ एकताबद्ध हुनुपर्ने बेलामा यस्ता हल्ला भएकाले पार्टी डिफेन्सिभजस्तै देखिएकोमा चिन्ता व्यक्त गरेका छन् । अध्यक्षले पनि जनार्दनको प्रस्तावलाई राम्रै मान्नुभएको छ । जनार्दनले पार्टी फुटाउँदै छन् भन्ने कुरालाई स्थायी समितिले खारेज गरिसकेको अध्यक्षले जानकारी गराउनु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला