बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
मनाेरञ्जन

दिनेश डिसी : सञ्चारकर्मीदेखि चलचित्र विकास बोर्ड अध्यक्षसम्म

बुधबार, १९ भदौ २०८१, ०८ : २५
बुधबार, १९ भदौ २०८१

‘म जागिर खान हैन, काम गर्न आएको हो ।’ सोमबार चलचित्र विकास बोर्डमा पदभार ग्रहणपछि मिडियासँगको प्रतिक्रियामा दिनेश डिसीले भनेका शब्द हुन् यी ।

गत बिहीबार मन्त्री परिषद्को निर्णयबाट चलचित्र विकास बोर्डको अध्यक्ष बनेका डिसीले ४ दिनपछि पद भार ग्रहण गरेका हुन् । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गरे । त्यसपछि पहिलो कार्यस्वरुप एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरेका उनले विकास बोर्डमा काम गर्न आएको बताए । बोल्ने काम जिन्दगीमा धेरै गरेको बताएका डिसीले अब बोल्ने भन्दा काम गरेर देखाउने बेला आएको भनाई राखेका थिए ।

चलचित्र विकास बोर्डको चाबहिलस्थित कार्यालयमा पदभार ग्रहण गर्न उनी पुग्दा उनलाई स्वागत गर्न बोर्ड कर्मचारी त हुने नै भए, चलचित्र क्षेत्रका विभिन्न सङ्घसंस्थाका पदाधिकारी, कलाकर्मी र रंगपत्रकार समेत उक्त अवसरमा सहभागी थिए ।

गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि गत साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । मन्त्रालयमा ६ जनाको आवेदन परेपछि अध्यक्ष हुन भने डिसी सफल भएका हुन् ।

डिसी नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष डिसी पनि हुन् । जनपक्षीय चलचित्रकर्मी संघले समेत बोर्डको अध्यक्षका लागि एमाले पार्टी, प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई  डिसीको नाम समेत सिफारिस गरेको थियो ।

नेकपा एमालेमा लामो समयदेखि रहँदै आएका डिसीको नाम बोर्ड अध्यक्षको रूपमा यसअघिका बोर्ड अध्यक्ष स्वर्गीय केशव भट्टराई र त्यसपछिका अध्यक्ष दयाराम दाहालको समय पनि चर्चामा थियो । उक्त समय डिसीको बोर्ड अध्यक्ष भन्दा राजदूत चाहना थियो । तर राजदूत चाहना पुरा हुन नसकेपछि उनी बोर्ड अध्यक्ष बनेको उनी निकट साथीभाइ बताउँछन् ।

384242689_10168364396320224_3260159738655770788_n

नेपाली कला क्षेत्रमा निर्देशक, कलाकार र सञ्चारकर्मीको रूपमा परिचित डिसी अब चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा पनि चिनेछन् । चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार  र बक्स अफिस सुचारु मुख्य एजेन्डा बनाएका थिए । अहिले अध्यक्ष भएर आएपछि बक्स अफिस, बजार व्यवस्थापन, अन्तर्राष्ट्रियकरणका मुद्दा र वितरण चार एजेन्डामा १०० दिनमा मिडियामा उपलब्धि राख्ने बताए ।

यसअघिका अध्यक्ष भुवन केसी चलचित्र विकास बोर्ड स्वायत्तताको नारा सहित अध्यक्ष बनेका थिए । तर त्यो गर्न सकेनन् । डिसीले आफ्नो एजेन्डामा यो विषय नराखे पनि अधिकांश चलचित्रकर्मीको डिसी प्रति आस चलचित्र विकास बोर्ड स्वायत्तता गराउँछन् भन्ने छ । बोर्ड अध्यक्षको रूपमा काम गर्दै गर्दा विकास बोर्ड स्वायत्तता गर्नु डिसीका लागि चुनौती हो ।

कलाकार र निर्देशक डिसी

चलचित्र क्षेत्रमा डिसी कलाकार, निर्देशकको रूपमा चिनिँदै आएका छन् । कलाकारितामा डिसी ‘विमान चालक’ नामक सिरियलबाट प्रवेश गरेका थिए । त्यसपछि उनले नेपाल टेलिभिजनका लागि चर्चित कार्यक्रम ‘ट्वाक्क टुक्क’ निर्माण गरे । अहिलेका हास्य कलाकार दीपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल ‘फिष्टे’ लगायतका थुप्रै कलाकारका गुरु पनि हुन् डिसी । उनले ‘ट्वाक्क टुक्क’बाट थुप्रै कलाकार भित्र्याएका छन् । डिसीले पछिल्लो समय कान्तिपुर टेलिभिजनका लागि ‘ट्वाक्क टुक्क रिटन्र्स’ समेत बनाएका थियो ।

डिसीले थुप्रै चलचित्र पनि अभिनय गरेका छन् । धेरै जसो चलचित्रमा नेगेटिभ भूमिका निर्वाह गरेका डिसी फिल्मका निर्देशक पनि हुन् । ‘सावधान’ फिल्मबाट निर्देशनमा होमिएका डिसीले ‘मायाज बार’, ‘दाईको सुसराली’ र ‘फुलैफुलको मौसम तिमीलाई’ फिल्म निर्देशक गरेका छन् । उनको निर्देशन रहेको पछिल्लो फिल्म ‘फुलैफुलको मौसम तिमीलाई’ हो । उनले सहिद भक्ति थापाको विषयमा फिल्म चलचित्र बनाउँछु भनेको १२ वर्ष भयो होला । यो फिल्म आफ्नो जीवनको सपना समेत उनले बताउँदै आएका छन् । जसको केही गृहकार्य समेत भएको थियो ।

डिसी चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष पनि हुन् । डिसी पछिल्लो समय ‘एलजी सिने सर्कल अवार्ड’ समेत आयोजना गर्दै आएका छन् । 

सञ्चार कर्ममा डिसी

डिसी सञ्चारकर्मीको रूपमा पनि चिनिँदै आएका छन् । नेपाल टेलिभिजनमा उडमान्डु भन्ने फिल्मी कार्यक्रमबाट संचारकर्म थालेका डिसीले त्यसपछि रेडियो कान्तिपुरमा कार्यक्रम चलाउन थाले । डिसीको आवाजको दुनियाँको साथी भनेर परिचय बनेको पनि रेडियो कान्तिपुरबाट नै हो । 

कान्तिपुरमा एक कार्यक्रमबाट प्रवेश गरेका प्रवेश गरेका डिसी स्टेज मेनेजर समेत भए । डिसी रेडियो कान्तिपुरमा दुई पटक स्टेसन मेनेजर भए । रेडियो कान्तिपुरमा डिसीको सबैभन्दा लोकप्रिय कार्यक्रम ‘घुम्ने मेच’ थियो ।

373304406_10168208212480224_4666803092677823861_n

नेपाल टेलिभिजनमा ‘आक्रमण’ नामक एक राजनीतिक टक सो समेत चलाएका डिसी विसं २०७६ मा कान्तिपुर टेलिभिजनको स्टेसन म्यानेजरमा बनेका थिए । त्यसपछि ‘नेपाल नेटवर्क टेलिभिजन’को प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेका उन पछिल्लो समय ‘नेपाल नेटवर्क टेलिभिजन’बाट पनि अलग थिए ।

कार्यक्रम सञ्चालकको रूपमा समेत परिचित डिसीले स्वदेश तथा विदेशमा थुप्रै कार्यक्रम सञ्चालन पनि गरेका छन् । डिसी नेपालका सबैभन्दा महँगा कार्यक्रम सञ्चालक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप