शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पलेशालाई आज नगर परिक्रमा गराइने

बुधबार, १९ भदौ २०८१, ०७ : ३५
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा आज विशेष नगर परिक्रमा कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा कार्यक्रमको आयोजना गरेको हो । 

पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । 

यो पदकले नेपाली खेलकुदमा नयाँ इतिहास कायम गरेको छ । पलेशाले नेपालका लागि पारालिम्पिक्स खेलमा पहिलो पटक पदक जित्न सफल भएकी हुन् ।

आज बिहान ८ बजे पलेशा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । 

उनलाई विमानस्थलमै भव्य स्वागत गरिनेछ, जसमा राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । पलेशालाई विमानस्थलमा स्वागत गरेपछि बिहान साढे ८ बजेबाट नगर परिक्रमा सुरु गरिनेछ ।

नगर परिक्रमाको रुट विशेष रूपमा तयार पारिएको छ । यो रुट विमानस्थलबाट सुरु भई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिनेछ । नगर परिक्रमाको समयमा पलेशालाई नेपाली झन्डा सहितको विशेष गाडीमा सवार गराइने छ ।

नगर परिक्रमाको अन्त्यमा राखेपको प्राङ्गणमा विशेष सम्मान कार्यक्रम आयोजना गरिनेछ । सो अवसरमा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरू, पदाधिकारीहरू, खेलाडीहरू, र उनका प्रशिक्षकहरूको उपस्थिति रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप