शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, १८ भदौ २०८१, २२ : ००
मङ्गलबार, १८ भदौ २०८१

आज २०८१ भदौ १८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • संसद्‍ बैठक

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । आयोगले यही भदौ १ गते परीक्षा लिएर १४ गते निकालेको नतिजाप्रति सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा योग्यता क्रमको आधारमा गर्नुपर्नेमा त्यसो नगरिनु गम्भीर त्रुटि भएको सांसदहरूको भनाइ छ । 

  • एमसीसी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले संसद्‍बाट कानुन बनाउन पर्ने पार्टीको दृष्टिकोण भएको स्पष्ट पारेका हुन् ।

  • १०औँ राष्ट्रिय खेलकुद

आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुने सम्भावना न्यून देखिएको छ । आयोजक केन्द्र सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल पनि प्रतियोगिता समयमा गर्ने पक्षमा देखिँदैनन् ।

  • बक्यौता रकम

किसानले लामो समयदेखि दूध, बीमा र उखुको रकम भुक्तानी पाउन सकेका छैनन् । देशभरका किसानले उखु, बीमा र दूधको गरेर ३ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ पाउन बाँकी छ । सरकारी तथ्याङ्क अनुसार उखु किसानलाई गत वर्षको १ अर्ब ३० करोड भुक्तानी गर्न बाँकी छ । यस्तै, डीडीसीको १ अर्ब २७ करोड ४३ लाख रुपैयाँ र बीमा प्रिमियम रकम अनुदान बापतको १ अर्ब रकम बाँकी छ ।

  • राजमार्गका होटल

चाडपर्वको बेला सहरबाट गाउँ जानेको सङ्ख्या निकै बाक्लिन्छ । राजमार्गबाट यात्रा गर्ने यात्रुलाई बाटोमा खाजा तथा खाना भनेजस्तो भेट्टाउन मुस्किल पर्छ । गाडी चालकले गाडी रोकेको होटलहरुमा जस्तो भेट्यो त्यस्तै खाएर हिँड्नु पर्ने बाध्यता छ । किनभने अधिकांश गाडी रोक्ने स्थानमा एक, दुईबाहेक होटल हुँदैनन् । 

  • मानव तस्करी

अचेल धेरै नेपाली युवाको सपना अमेरिका जाने नै हुन्छ । कतिपय त आफ्नो ज्यानको बाजी मारेर भए पनि जान खोज्छन् । पछिल्लो समय त्यसरी नै गैरकानुनी रूपमा अमेरिका छिर्न हिँडेका १७६ जना नेपाली ब्राजिलको अध्यागमनले कडाइ गरेपछि अलपत्र परेका छन् । जबकि यस अघिसम्म ब्राजिलको एयरपोर्टमा आफूसँग भएको कागजात च्यातेर फालिदिएपछि अध्यागमनले कागजात बनाइदिने गरेको थियो ।

  • एमाले बैठक

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन् ।  मंगलबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पारेका हुन् ।  ‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले रातोपाटीसँग भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’

  • निजी क्षेत्रको लगानी

 चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना, साउनमा २० वटा वाणिज्य बैंकमध्ये आठको व्यवसाय बढ्न सकेको छैन । हिमालयन, लक्ष्मी सनराइज, नेपाल बैंक लिमिटेड, एनआईसी एसिया लगायत बैंकले साउन महिनामा लगानी विस्तार गर्न सकेनन् ।  त्यस्तै प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको पनि लगानी विस्तार साउनमा खुम्चियो । 

  • ललिता निवास प्रकरण

कुनै समय चर्चामा रहेको ललिता निवास प्रकरण अहिले सेलाएको छ । ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्य सङ्गठित रूपमा गरेको र हाइप्रोफाइल व्यक्ति जोडिएको यो विवादमा सर्वोच्च र काठमाडौँ जिल्ला अदालतमा एक–एक थान मुद्दा विचाराधीन छन् ।

  • सिमलताल दुर्घटना

 त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस अझै फेला परेको छैन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट असार २८ गते राति बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप