बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

स्वास्थ्य विपद्को ‘हटस्पट’ नरैनापुर

मङ्गलबार, १८ भदौ २०८१, २० : ४७
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । लुम्बिनी प्रदेशको नरैनापुर गाउँपालिकाले ‘शिक्षा, स्वास्थ्य, सरसफाइ र पूर्वाधार : समुन्नत नरैनापुरको मूल आधार’ भनेर नारा बनाएको छ । तर यो नारा अनुसार काम भने हुन सकेको छैन ।

पछिल्लो पटकमात्रै नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भयो । यही क्षेत्रका सात जना झाडापखालाबाट बिरामी परेका थिए । झाडापखाला सङ्क्रमण विशेषतः फोहोरमैला, दूषित खानपिनका कारण हुने गर्दछ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निर्देशक अंगदबहादुर शाहीले स्थानीय स्वास्थ्यकर्मीको सहायताले झाडापखाला नियन्त्रणमा आएको बताए । उनका अनुसार ७ जनामा झाडापखाला देखिएकोमा उनीहरू निको भइसकेका छन् ।

झाडापखाला गर्मी र खानेपानी दूषित भएका कारण फैलिएको हुनसक्ने शाहीको भनाइ छ । ‘भारतीय सीमासँग जोडिएको क्षेत्र, बाढी प्रभावित क्षेत्र र गर्मी हुने भएकाले खाना वा पिउने पानी प्रदूषण भएर झाडापखाला फैलिएको हुनसक्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘के कारणले फैलिएको हो भन्ने अझै प्रस्ट भइसकेको छैन । उनीहरूले खाएको आचार, पानी लगायत वस्तु परीक्षणका लागि पठाएका छौँ, रिपोर्ट आउन बाँकी छ ।’

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएको बताए । उनका अनुसार यही भदौ १४ गतेदेखि गेग्ली गाउँका श्यामलाल पासीको घरका सदस्यहरू झाडापखालाबाट बिरामी परेका थिए । ७५ वर्षीय शान्ति पासी, उनकी २६ वर्षीय बुहारी उषा पासी र एक वर्षकी नन्दनीको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको थियो । सोही गाउँका १० वर्षीय युसुफ अलीको पनि मृत्यु भएको थियो ।

‘झाडापखालाको कारण फोहोर पनि हुन सक्छ । जिल्लाको समन्वयमा हाल नियन्त्रण भएको छ,’ शाहले भने, ‘फोहोर पानीका कारणले पनि हुन सक्छ । खानेपानी तान्ने नल अगाडि फोहोर फैलिएको हुन्छ । गरिबी पनि छ । घरमा खाना पनि थिएन । खानाको व्यवस्था गरेँ ।’

२०७९ माघको तेस्रो साता नरैनापुर गाउँपालिकाका ३ वटा वडामा ४१ जनामा दादुरा रोग देखा परेको थियो । यो समयमा बाँके जिल्लामै दादुरा ‘आउटब्रेक’ भएको थियो । यसो हुनुमा पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमी हुनु नै मुख्य कारण रहेको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य पूर्वनिर्देशक मान बहादुर नेपाली बताउँछन् ।

‘यस क्षेत्रमा बढी मात्रमा मधेसी र मुस्लिम सामुदायको बासोबास छ,’ उनले भने, ‘भौगोलिक हिसाबले पनि भारतसँग जोडिएको छ । नेपालभन्दा भारतमा उपचार गराउने, झोलामा औषधि बेच्नेसँग औषधि उपचार गराउने लगायत गर्छन् । यसले स्वास्थ्य जोखिम झनै बढेको छ ।’

बाँके जिल्लाका दादुरा प्रकोप भएका नेपालगञ्ज, खजुरा, नरैनापुर, डुडुवा स्थानीय तहमा १ लाख ५४ हजार १३५ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य लिएको थियो । सो क्षेत्रका १ लाख ४१ हजार ५४३ बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पूर्वनिर्देशक नेपाली २०७७ सालमा यही क्षेत्रमा कार्यरत थिए । सो वर्षमा कोरोनाको जोखिम बढी भएपछि प्रहरी चौकी नै सिल गरिएको थियो । शिक्षा र चेतनाको कमीका कारण कोरोनाप्रति अन्धविश्वासले समस्या निम्त्याएको नेपालीको भनाइ छ ।

यस्तै, बर्खायाममा सधैँ बाढीको चपेटामा नरैनापुर पर्छ । बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनि जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरू डुबानमा पर्दै आएका हुन् । भारतले दशगजासँग जोडेर बनाएको बाँधका कारण पानीको निकास नहुँदा एक दर्जनभन्दा बढी गाउँ डुबानको जोखिममा रहेको पालिकाका अध्यक्ष शाहको भनाइ छ ।

‘सचेत गर्न शिक्षा सुधारमा लागेको छु’

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह नरैनापुरलाई सचेत बनाउन शिक्षा सुधारको कार्यमा आफू लागिपरेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै शाहले समाजमा परिवर्तन गर्ने मुख्य आधार शिक्षा रहेकाले पहिलो प्राथमिकतामा शिक्षा सुधारको कार्यलाई राखिएको बताए । ‘समाजको परिवर्तन शिक्षाबाट आउँछ । मैले मेन फोकस शिक्षामा गरिरहेको छु,’ उनले भने, ‘नरैनापुरमा ३ वर्षमा धेरै परिवर्तन आउँछ । शिक्षामा जोड दियो भने परिवारमा पनि परिवर्तन आउँछ ।’

नरैनापुर वडा नम्बर २ स्थित आदर्श माध्यमिक विद्यालयमा आफ्नो कार्यकाल अगाडि ४० जना विद्यार्थी अध्ययनरत रहेकोमा हाल एक हजार विद्यार्थी पुगेको शाहले बताए । नरैनापुरका हरेक स्कुलमा पढ्ने विद्यार्थीको सङ्ख्या बढेको उनको दाबी छ ।

शाहका अनुसार चेतना अभावका कारण सरसफाइमा स्थानीयले लापरबाही गरेका छन् । ‘गाउँमा बाटो छ । त्यहाँ भैंसी बाँध्ने गर्छन्, पानी खाने नल नजिक छ,’ उनले भने, ‘पहिलाभन्दा धेरै परिवर्तन आएको छ । मलाई लाग्छ ५ प्रतिशत मानिस बाहिरै दिसा गर्ने र  ९५ प्रतिशतले घरको शौचालय प्रयोग गर्छन् ।’

उनले सरसफाइका लागि विभिन्न कार्यक्रममा गरेको दाबी गरे । योसँगै स्कुलमा बालिकाको सङ्ख्या बढाउन साइकल वितरण गरेको दाबीसमेत उनले गरे । हाल बालिकाको सङ्ख्या बढेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप