आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सिमलताल दुर्घटना

त्रिशूलीमा खसेका दुई वटा बसको खोजी कहाँ पुग्यो ?

सशस्त्रका डीआईजी भन्छन्– गस्ती, पेट्रोलिङ्ग भइरहेको छ
मङ्गलबार, १८ भदौ २०८१, २० : ०४
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस अझै फेला परेको छैन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट असार २८ गते राति बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।

बसमा सवार २५ जनाको शव भेटिएको छ भने अन्य ४० जना अझै बेपत्ता छन् । दुर्घटना भएको ५० दिन हुँदा पनि बस फेला नपरेपछि सशस्त्र प्रहरीले गोताखोर परिचालन रोकेको छ ।

अहिले गस्ती र पेट्रोलिङमार्फत खोजी भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले रातोपाटीलाई बताए ।

उनले भने, ‘गस्ती र पेट्रोलिङ्ग चलिरहेको छ । बस भएको सङ्केत देखिएमा गोताखोर परिचालन गर्छौं ।’

प्रहरीले पनि खोजीकार्यमा तीव्रता घटाएको छ । औपचारिक रूपमा खोज स्थगित नगरिएको बागमती प्रदेश प्रहरी कार्यालयका एसपी दुर्गाराज रेग्मीले बताए । उनले भने, ‘टोली पठाउने र हेर्ने काम भइरहेको छ ।’

स्थानीय प्रहरीले आ–आफ्नो एरियामा बस फेला पर्न सक्नेबारे हेरिरहेका छन् । बेपत्ता बसको आकृति देखिएमा थप फौज पठाइने एसपी रेग्मीले बताए ।

बेपत्ता बस खोज्न १७ जना गोताखोरले काम गरे । बसको खोजीमा सेनाका ८ जना गोताखोर र सशस्त्रका ९ जना गोताखोरले प्राविधिक सामग्रीको प्रयोग गरेर खोजी गरेका हुन् । त्रिशूलीको उच्च बहाव र चिसो पानीमा सुरक्षाकर्मीहरूले बस खोज्न नेपालमा उपलब्ध उच्च प्रविधिको प्रयोग गरेका छन् ।

भारतीय विशेषज्ञ र सशस्त्र प्रहरीका गोताखोरले सोनार प्रविधिको प्रयोग गरेर खोजी गरे । भारतीय विशेषज्ञले सोनारको अत्याधुनिक प्रविधि ल्याएर त्रिशूलीमा खोजी गरेका हुन् । धमिलो पानीले असर नगर्ने सोनार प्रविधिमार्फत पानीमा ट्रान्ससेन्डर पठाएपछि राडार सिस्टममा आकृति देखाउँछ । सोनारले स्क्रिनमा पठाउने आकृति यकिन गर्न सुरक्षा अधिकारीहरूले चुम्बकको प्रयोग गरेका थिए । खोजमा संलग्न एकजना अधिकृतले भने, ‘सोनारले आकृति देखाएर सङ्केत गरेको ठाउँमा सो आकृति फलाम हो कि होइन भनेर यकिन गर्न हामीले चुम्बक प्रयोग गरेका हौँ ।’

सुरक्षाकर्मीहरूले खोजीमा मोटर डुङ्गा ‘जेट बोट’ र रबरको डुङ्गा प्रयोग गरे । नदी किनारको अवलोकनमा रबर डुङ्गा प्रयोग गरिएको खोजीमा संलग्न अधिकृत बताउँछन् । तर, जति प्रयास गर्दा पनि दुवै बस भेटिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप