शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

मौलिक तिजबाटै बुलन्द गरौँ महिलाका आवाज र अधिकार

मङ्गलबार, १८ भदौ २०८१, १८ : ०६
मङ्गलबार, १८ भदौ २०८१

विशेषतः नेपाली हिन्दु महिलाले मनाउने हरितालिका तिज नजिकिँदै छ । यतिखेर सहर–बजारका होटल, रेस्टुराँ, पार्टी प्यालेस राता पहिरनले सजिएका महिला दिदी–बहिनीको जमघट र भेलाले भरिभराउ हुन थालेका छन् । विभिन्न समूह, संघ–संस्था, पार्टीसँगै सरकार र साथीभाइहरूको समेत आयोजनामा यस्ता कार्यक्रम हुने गरेको पाइन्छ । 

यससँगै खर्चिलो, तडकभडक उत्ताउलो र छाडापन पनि त्यत्तिकै मात्रामा देखिन्छ । तिजगीतका नाममा छाडा अनि एकै परिवारले सँगै बसी सुन्न नसकिने खालका गीत प्रशस्तै सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जालमा दरखाने नाममा मध्यपान सेवन गरी लाएका साडी टाउकोमा पुग्ने गरी नाचेका भिडियो देख्न सकिन्छ । 

तिज एक पर्व हो, यसको महत्त्व आफ्नै ठाउँमा छ । धार्मिक, सामाजिक संस्कृति महत्त्व बोकेको तिज पर्वलाई समृद्ध परिमार्जित र परिष्कृत गर्दै छौँ वा विकृति पूर्ण बनाउँदै छौँ ? यसबारे विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कार्यक्रममै पिच्छे सारी र गहना फेर्दै जमघट हुनुले महिलालाई के सन्देश दिन्छ ? के सिकाउँछ ? कता जाँदै छौँ ? यो विकृतिको कुनै एक रूप त होइन ? अनि सामान्य महिलाको दिमागमा यस्ता खाले क्रियाकलापले कस्तो असर गर्ला ? हामीले कस्तो समाजको कल्पना गरेका हौँ र के निर्माण गर्न खोज्दै छौँ ?

सबै महिला आत्मनिर्भर हुन सकेका छैनन्, घरेलु हिंसाबाट दिनानु दिन पीडित बनिरहेका छन् । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि महिलाले अहिले पनि सशक्त आवाज उठाउन आवश्यक छ ।

अहिले पनि बिहान–बेलुका छाक कसरी टारुँ भन्ने अवस्थाका महिला दिदी–बहिनी छन् । सक्षम नागरिक बनाउन सकेका छैनौँ । रातो साडीमा सजिनेबित्तिकै अधिकार सम्पन्न भएको भन्ने बुझ्न सकिँदैन । सबै महिला आत्मनिर्भर हुन सकेका छैनन्, घरेलु हिंसाबाट दिनानु दिन पीडित बनिरहेका छन् । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि महिलाले अहिले पनि सशक्त आवाज उठाउन आवश्यक छ ।

आफूलाई सचेत सक्षम र बौद्धिक जगत् सोच्ने समुदायले नै तिजको धज्जी उडाइरहेका छन्, दर खाने र तिज मनाउने भन्दै महिनौँ यस्ता कार्यक्रम गर्नुले राम्रो सन्देश समाजलाई छाड्न सकेको छैन । जुन दिन तिज पर्व हो, त्यस दिनै मनाउँदा यसको महत्त्व पुष्टि हुन्छ । अर्थ र सन्देशविहीन पर्व मनाइले समाजलाई कुनै सन्देश दिँदैन । यसले घर–परिवार, समाजलाई सहज होइन, विकृत बनाउँदै लगेको छ । 

हिजो न महिला स्वतन्त्र थिए, न त कुनै अधिकार थियो; न बोल्न सक्थे, न त बोल्नका लागि आजजस्तो कानुनी अधिकार नै थियो । महिलाहरू हिजो दोस्रो दर्जाको नागरिकका रूपमा रही अन्याय र अत्याचारको सिकार बनिरहेका थिए । त्यो समयमा हिन्दु धर्म–संस्कृति अपनाउने नेपाली महिलाले तिज पर्व मनाउन पाउनु नै गर्वको विषय थियो । तिजमा विवाहिताहरुले माइती घर गई दुःखसुख साट्न गीत गाउने र मिठो–मसिनो खाने परम्परा थियो । 

सामाजिक रूपमा यस पर्वको महत्त्व धेरै छ । योसँग धार्मिक आस्था, अनुष्ठान र कथा पनि जोडिएका छन् । कथा अनुसार, हिमालयले आफ्नी छोरी पार्वती विष्णुलाई दिने वचन दिए । पार्वतीलाई त्यो कुरा मन परेन र उनले घरबाट भागी कठोर निराहार तपस्या गरिन् । त्यसपछि उनको विवाह शिवसँग हुन पुग्यो । यसै आधारमा हरितालिका तिज मनाउँदै आएको पाइन्छ । जुन बेला यसको सुरुवात भयो, त्यति बेला न यातायातको सुविधा थियो, न त आजजस्तो सञ्चार क्षेत्र र इन्टरनेट तथा प्रविधिको विकास भएको थियो । त्यतिबेला तिज पर्व माइती र चेली जोड्ने पुल जस्तै थियो । पर रहेकी चेलीलाई  लिन जाने चलन थियो । चेलीले गीत मार्फत आफ्ना दुःखपीडा व्यक्त गर्थे ।

अहिले प्रविधिको विकासले विश्व नै एउटा सानो गाउँजस्तो बनेको छ । संसारभरिका खबर सेकेन्डमा सबैले थाहा पाउन सकिन्छ । विज्ञानले धेरै कुराको विकास गरिसकेको छ । पहिला महिनौँ हिँडेर दिदी–बहिनी लिन जानुपर्ने अवस्था छैन । एक कल फोनका भरमा सबै जम्मा भेला हुन सक्ने बेला छ । मिठो खान र राम्रो लगाउन चाडपर्व नै कुर्नुपर्ने छैन । यातायातको सुविधा छ । समय परिवर्तन भएको छ । 

यति बेला श्रीमानको दीर्घायुका लागि बसिने व्रतमा पनि वैज्ञानिक आधारमा प्रश्न उठ्न थालेका छन् । निराहार व्रतले न श्रीमानको दीर्घायु हुन्छ, न कल्पना गरिएको शिवजस्तो पति पाउन सकिन्छ । यो त हिन्दु पितृसत्ता सोचबाट निर्माण गरिएको महिलालाई बाँध्ने एउटा अस्त्र मात्र हो । कतिपयले यस पर्वलाई प्रेमको प्रतीकको दिन पनि भन्ने गर्छन् । 

पौराणिक कथालाई हेर्दा प्रेम पनि एकलजस्तो नै देखिन्छ । किनभने शिव पति पाउनका लागि संघर्ष पार्वतीले मात्र गरेकी छिन् । शिव त्यस कठोर तपस्यामा सहभागी छैनन् । पुरुषका लागि महिलाले मात्र सबै कार्य गर्नुपर्ने, अनि महिलाका लागि पुरुषले केही गर्नुनपर्ने वा नहुनेजस्ता अर्थ दिन खोजेको छ यस कथाले । जन्म र मृत्यु विज्ञानको नियम हो । यसको निराहार व्रतसँग कुनै सम्बन्ध छैन ।

समय फेरिएको छ । हिजो दोस्रो दर्जाका रूपमा हेरिने महिला आज यो समाजको नेतृत्व गरिरहेका छन् । नेपालको संविधानले लिंगका आधारमा गरिने विभेदको अन्त्य गरेको छ । सबै नेपाली महिला सक्षम, योग्य, आत्मनिर्भर स्वतन्त्र बन्नुपर्छ भन्ने मर्म संविधानले बोकेको छ; ३३ प्रतिशत महिलाको प्रतिनिधित्व ग्यारेन्टी गरेको छ । संविधानले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक रूपमा अधिकार प्रत्यायोजन गरेको छ । 

यो तिज पर्वलाई आफ्नो मौलिकता अनुसार मनाई पारिवारिक तथा सामाजिक सद्भाव कायम रहनेजस्ता कुरा पनि स्थापित गर्न आवश्यक छ । यस पर्वमा पाइने सकारात्मक कुरालाई समाजमा स्थापित गराउँदै लैजाने र विकृति वा नकारात्मक पक्षलाई विस्थापित गर्दै जानु आजको नेपाली समाजको आवश्यकता बनेको छ । 

जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको विषय उठिरहेको छ । तीन तहको सरकारको संरचना छ । आफूलाई बौद्धिक ठान्ने महिलाले अब तिज विशेष र दरविशेष भन्दै भेला हुनुभन्दा पनि महिलालाई संविधानको मर्म अनुसार आत्मनिर्भर बनाउने योजनासहित भेला होऊँ । पर्वका नाममा रेस्टुराँ, होटल र पार्टी प्यालेसमा खर्च गर्नुभन्दा त्यो खर्च सीपमूलक कार्यमा लगानी गरौँ । एक महिला सीप सिकेर सक्षम र आत्मनिर्भर भइन् भने टोललाई आत्मनिर्भर बनाउन सक्छिन् । एक टोल आत्मनिर्भर भयो भने समाज र राष्ट्र नै आत्मनिर्भर हुन सक्छ । त्यसैले सुन्दर र सभ्य समाजको परिकल्पना पूरा गर्न तिज पर्वलाई सरल वैज्ञानिक, सन्देशमूलक बनाउन जोड गरौँ ।

विभिन्न समूह, संघ–संस्था सरकारले पनि तिजको कार्यक्रम तिजकै दिन गरौँ । तिजको दिन भेला हुने ठाउँमा महिलालाई सन्देशमूलक र सचेतनामूलक कार्य गरौँ । तिजका नाममा हुने विकृतिको अन्त्य गरौँ । तिजलाई परिमार्जित, परिष्कृत बनाउँ, समृद्ध सुन्दर समाजको निर्माण गरौँ ।
(लेखक नेपाल बागमती प्रदेशसभा सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृता नेपाल
अमृता नेपाल
लेखकबाट थप