शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी बन्न आवश्यक छ : मन्त्री खड्गी

मङ्गलबार, १८ भदौ २०८१, १७ : ५६
मङ्गलबार, १८ भदौ २०८१

हेटौंडा । बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी बन्न आवश्यक रहेको बताएकी छिन् । राज्य व्यवस्था परिवर्तनमा विगतदेखि नै नारीहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले स्मरण गराइन् ।

बेथानचोक गाउँपालिकाले आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै मन्त्री खड्गीले राणा शासश, निरंकुशता विरुद्धमा महिलाहरूको आन्दोलन सशक्त र प्रभावशाली बनेको बताइन् । प्रजातन्त्र र लोकतन्त्र ल्याउन लडेका नारीहरूले अबको लडाई आर्थिक क्रान्तिका लागि लड्न आवश्यक भएको उनको भनाई छ ।

नारीलाई देश हाँक्न सक्षम रहेकाले अझै पनि कतिपय महिलाहरूलाई घरभित्रै सीमित गरिएकोमा उनले दुःख व्यक्त गरिन् । घरभित्रै सीमित रहँदा उनीहरूको क्षमता र प्रतिभा उजागर हुन नसकेको उनको गुनासो रहेको छ ।

मन्त्री खड्गीले महिलाहरूलाई लक्षित गरेर गाउँपालिकाले ठोस योजनासहित आर्थिक, सामाजिक र राजनीतिक सशक्रिकरणमा ल्याउनु पर्ने बताइन् । विभिन्न क्षेत्रमा लगानी गरेर स्थानीय तहले महिलाहरूको क्षमता अभिवृद्धि र विकासमा काम गर्नुपर्ने उनको भनाई छ ।

‘विगतमा हामीले संविधानमा महिला हक अधिकार सुनिश्चित गर्न लड्यौँ । त्यसैको परिणाम स्वरूप महिलाहरूले मुलुकका विभिन्न तह र तप्कामा कुशलतापूर्वक नेतृत्व गरिरहेको छन् । अझै केही व्यवस्थाहरू फेर्न बाँकी नै छ,’ उनले भनिन् ।

मन्त्री खड्गीले तिजको धार्मिक सांस्कृतिक र सामाजिक मूल्यमान्यतामा रहेर मनाउन आग्रह गरिन् । विकाससँगै विकृतिका पाटाहरूले नेपाली चार्डपर्वलाई प्रभावित बनाएको उनको भनाई छ । उनले तिजको धार्मिक सांस्कृतिक महत्वलाई संरक्षण र संवर्द्धन गर्न आग्रह गरिन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले महिला सशक्तीकरणको पाटोमा जिम्मेवार हुनसके मात्र समुन्नत समाज निर्माण हुने बताए । उनले जुन घरमा नारीको सम्मान हुन्छ उक्त घरमा सुख र शान्ति छाउने बताए ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले नारी शक्तिले नेतृत्व गर्ने समय आएको बताए । उनले नेतृत्वका लागि तयार रहन आग्रह गरे । चुल्हो चौकोको परिधि नाघेर सशक्तीकरणको नेतृत्व लिनुपर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप