बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसके : वर्षमान पुन

मङ्गलबार, १८ भदौ २०८१, १७ : ५०
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औँ जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए ।         

‘हाम्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरुले हामीलाई सरकारबाट निकाले, कांग्रेस–एमालेलाई मिलाइदिए भन्नुभएको थियो’, पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन् । उहाँ हामी दुवैको साझा मान्छे हो । उहाँको वर्तमान सरकार बनाउन निकै ठुलो भूमिका छ भनेर स्वीकार गर्नुभयो ।’ 

आफूहरूले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो । ओली सरकारलाई जनताले कालाकाले मिलेर खाऔंवालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरू मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस–एमाले सरकार बनाएको स्वीकार गरेको टिप्पणी गरे । उनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाए । 

पुनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस–एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको बताए ।                      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप