चाँडै काठमाडौँवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्छौं : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले चाँडै काठमाडौँवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर अन्तिम चरणमा रहेको बताए । उनले यी आयोजनाहरू सम्पन्न भएपछि काठमाडौँ उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुने बताए ।
मन्त्री यादवले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरू रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने बताए । उनले २५ देखि ३० करोड खर्च तत्काल गर्ने हो भने पानी केही सहज हुने बताए ।
उनले भने, ‘भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर अन्तिम चरणमा रहेको छ । यी आयोजनाहरू सम्पन्न भएपछि काठमाडौँ उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुनेछ । यसमा हामी काम गरिरहेका छौँ । तारकेश्वरमा पनि पाँच ठाउँमा त्यस्तो मुहानहरू छन्, जहाँ सिधै २५ देखि ३० करोड खर्च गर्ने हो भने त्यसमा हामी कमसेकम १४ देखि १५ करोड लिटर पानी पाउँछौँ । त्यसमा पनि काम गरिरहेका छौँ ।’
मन्त्री यादवले अहिले ६ दिनमा एक दिन पानी काठमाडौँवासीलाई दिने गरेको बताए ।