आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पाकिस्तानविरुद्धको टेस्ट शृङ्खलामा बंगलादेशले गर्‍यो ‘क्लिन स्विप’

मङ्गलबार, १८ भदौ २०८१, १६ : ४६
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । बंगलादेशले मंगलबार सम्पन्न दोस्रो टेस्ट क्रिकेटमा पनि पाकिस्तानलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गरेको छ । दोस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन भ्रमणकारी टोली बंगलादेशले पाकिस्तानलाई हराएको हो ।

जितसँगै बंगलादेशले दुई टेस्टको शृङ्खलामा ‘क्लिन स्विप’ गरेको छ । यसअघि पहिलो टेस्टमा बंगलादेशले पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो । यही शृङ्खलामा बंगलादेशले पाकिस्तानलाई पहिलो पटक टेस्ट क्रिकेटमा हरायो ।

बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट शृंखला जितेको पनि यो पहिलो पटक हो । यस अर्थमा बंगलादेशका लागि यो शृंखला ऐतिहासिक रह्यो । एक सय ८५ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न ओर्लिएको बंगलादेशले केवल चार विकेट गुमाएर जित हात पारेको हो ।

दोस्रो पालीमा बंगलादेशका लागि ओपनर ब्याट्सम्यान जाकिर हसनले ४० रनको योगदान गरे । कप्तान नजमुल होसैन सान्तोले पनि टोलीका लागि ३८ रनको योगदान गरे । मोमिनुल हकले ३४ रन बनाएका थिए ।

यसैगरी, ओपनर सादमन इस्लामले २४ रन जोडे । मुसफिकर रहिम २२ र सकिब अल हसन २१ रनमा अविजित रहे । दोस्रो पालीमा पाकिस्तानी बलर मिर हमजा, खुर्रम सहजाद, अबरार अहमद र सलमान अघाले एक–एक विकेट लिए ।

त्यसअघि पाकिस्तानी टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ७२ रनमा अलआउट भएको थियो । दोस्रो पालीमा पाकिस्तानका लागि तल्लोक्रमका ब्याट्सम्यान सलमान अघाले अविजित ४७ र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ४३ रन बनाएका थिए ।

अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । दोस्रो पालीमा पाकिस्तानका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो पालीमा बंगलादेशका बलर हसन महमुदले एक्लैले पाँच विकेट लिए । उनले १०.४ ओभरमा एक मेडन राख्दै केवल ४३ रन खर्चिएका थिए ।

नाहिद राणाले पनि चार विकेट हात पारेका थिए । उनले ११ ओभरमा एक मेडन राख्दै ४४ रन खर्चिएका थिए । अर्को एक विकेट तास्किन अहमदले लिएका थिए । बंगलादेश टोलीले भने आफ्नो पहिलो पालीमा दुई सय ६२ रन बनाएको थियो ।

बंगलादेशका लागि पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान लिटन दासले सतकीय योगदान गरेका थिए । उनले एक सय ३८ रन बनाएका थिए । मेहदी हसन मिराजले पनि टोलीको खातामा ७८ रन थपेका थिए । पाकिस्तानी बलर खुर्रम सहजाद एक्लैले ६ विकेट लिएका थिए । उनले २१ ओभरमा तीन डेन राख्दै ९० रन खर्चिएका थिए ।

त्यसअघि टस हारी ब्याटिङको निम्तो पाएको पाकिस्तानले आफ्नो पहिलो पालीमा दुई सय ७४ रन बनाएको थियो । पहिलो पालीमा पाकिस्तानी टोलीका लागि तीन ब्याट्सम्यानले अर्धसतकीय योगदान गरेका थिए ।

ओपनर सइम ऐयुबले ५८, कप्तान सान मसुदले ५७ र सलमान अघाले ५४ रन बनाएका थिए । पहिलो पालीमा बंगलादेशी बलर मेहदी हसन मिराज एक्लैले पाँच विकेट लिएका थिए । उनले २२.१ ओभरमा दुई मेडन राख्दै ६१ रन खर्चिएका थिए ।

तास्किन अहमदले पनि तीन विकेट लिएका थिए । बंगलादेशी टोलीले दोस्रो पालीमा कुनै विकेट नगुमाई ४२ रनको स्थितिबाट अन्तिम दिनको खेल अगाडि बढाएको थियो । बंगलादेशका लिटन दास प्लेयर अफ दि म्याच घोषित भए । बंगलादेशकै मेहदी हसन मिराजले प्लेयर अफ दि सिरिजको पुरस्कार हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप