बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति

कतारमा नेपालको पानी बेच्न पहल गर्छु, श्रमिकका समस्या समाधानमा लाग्छु : प्रस्तावित राजदूत पौडेल

‘महिला कामदार लैजाने हो भने मापदण्ड बनाउनुपर्छ’
मङ्गलबार, १८ भदौ २०८१, १५ : २०
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले आफ्नो पहिलो प्राथमिकता श्रमिकका समस्या समाधान हुने बताएका छन् । मंगलबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै पौडेलले श्रमिकका समस्या समाधानका लागि लाग्ने, व्यापारसँग जोडिएका कुराहरू, प्रत्यक्ष एफडिआई भित्राउने विषयमा लागिपर्ने बताए । 

सांसदहरूले नेपालको पानी कतारमा बिक्री गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा उनले त्यसका लागि पनि आफूले पहल गर्ने बताए । कतारसँग पानी व्यापार, अलैँची लगायत अर्थोडक्स चिया लगायत थुप्रै कुराहरू रहेको र  यस्ता कुरा कतार पुर्‍याएर बिक्री गर्न त्यत्तिकै जटिल रहेको पनि उल्लेख गरे । 

उनले विगतमा आफू अलि–अलि राजनीति सामाजिक क्षेत्रमा पनि लागेको तर अहिले कुनै जिम्मेवारीमा नरहेको बताए । आफ्नो अध्ययन औद्योगिक क्षेत्र रहेको,  मास्टर डिग्री गर्दा श्रमिकको विषयमा थेसिस गरेको बताउँदै श्रमिक व्यवस्थापन र समस्याका बारेमा आफूले विगतमा धेरै अनुसन्धान गरेको उल्लेख गरे । 

श्रमिकका बारेमा आफूलाई ज्ञान र अनुभव रहेको बताउँदै उनले विराटनगर जुट मिलको पुनर्संरचनाको लागि ६ महिना लागिपरेर त्यसको प्रतिवेदन पनि नेपाल सरकारलाई बुझाएको उल्लेख गरे । 

उनले भने,‘मैले करिब ६ महिना जुटमिलमा श्रमिकसँग बिताएकाले श्रमिकका समस्या बुझ्छु । त्यसकारण मेरो ज्ञान, बुद्धि, विवेक र क्षमताले भ्याएसम्म श्रमिकको पक्षमा काम गर्छु । त्यहाँ जानुभएका पूर्वराजदूतले पूरा समय सुत्न नपाउँदा मधुमेह भएर औषधी खानुपर्छ भन्नुहुन्थ्यो । मलाई डर पनि देखाउनुभएको थियो उहाँले । तर म त्यहाँ गएर जस्तो समस्या परेपनि गर्छु । श्रमिकहरूका कार्यस्थलका समस्याका कुराहरू आए, तलबका कुरा आए । त्यहाँ श्रमिकको न्यूनतम तलब १ हजार रियाल, ५ सय रुपैयाँ आवासका लागि र ३ सय रियाल खाना खर्च भनेर दिने गरेको रहेछ । यसलाई नेपालीमा रूपान्तरमा गर्दा तुलनात्मक रूपमा कम नै हो ।’

कतारले आफ्ना नागरिकले काम गर्दा जति पाउँछन् त्यही अनुसार सेवा सुविधा दिने भनेको तर पनि त्यो नपाएकोले त्यसलाई संशोधनका लागि प्रयास गर्ने बताए । 

प्रस्तावित राजदूत पौडेलले कतारमा यदि महिला कामदारलाई घरेलु कामदारको रूपमा जान अनुमति दिने हो भने कति घण्टा समय काम दिने हो तोकिनेपर्ने बताए । 

महिलाहरूलाई फोन समेत नदिने गरेको, उनीहरूको शारीरिक र मानसिक सुरक्षालाई सम्बोधन गर्ने हो भने महिला श्रमिकका लागि पहल गर्ने उनले बताए । 

यस्तै दक्ष मजदुर नभएका कारण समस्या रहेको उनले बताए । उनले भने,‘श्रमिकको फिर्ती सवारीको विषयमा, बल हाम्रो कोर्टमा छ कि त्यो देशको कोर्टमा छ, त्यो समस्या छ । धेरैजसो उनीहरूले के भन्छन् भने तपाईँहरू बिना सूचना जाने, सिधै गाउँको एउटा मजदुरलाई यहाँ पठाउनुहुन्छ । उनीहरूलाई समस्या आउँछ, त्यसको समाधान हामीले भन्दा पनि तपाईँहरूले  अर्थात् आफ्नो देशले गर्नुपर्छ, त्यो कुरामा ध्यान दिनुस् भनेर उल्टै हामीलाई अर्ति उपदेश दिएका घटनाहरू पनि भए । यसका लागि हाम्रो श्रम मन्त्रालय, त्यहाँ रहेका श्रम सहचारीहरूले पनि यो कुरामा बढी ध्यान दिनुपर्छ, स्पष्ट दृष्टिकोण अनुसार काम गर्नुपर्छ । त्यो कुरामा मेरो कमी रहँदैन भन्ने कुरामा प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

अनले आफ्नो जिम्मेवारीमा इरान पनि रहेको बताउँदै इरान र कतार दुवै सम्भ्रान्त देश रहेकोले ती देशसँग व्यापार बढाउन सके लाभदायक हुने तर हिमाली देशबाट विमानमा सामान लगेर ती देशमा व्यापार गर्नु चुनौतीपूर्ण  रहेको बताए । आफूले त्यहाँको बजारको अवस्था, माग के छ त्यसको अनुसन्धान गरेर व्यापार बढाउनका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप