आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

संविधानको मर्मलाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको छ : मन्त्री राणा

मङ्गलबार, १८ भदौ २०८१, १४ : २०
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको बैठकमा राजदूत सिफारिसका विषयमा जवाफ दिँदै उनले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित र कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम रूपमा प्रयासरत रहेको बताइन् । 

उनले भनिन् ‘नेपालको संविधानको धारा २८२ अनुरूप राजदूत नियुक्ति गर्ने तथा सोका लागि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ दफा ८ को (ग) बमोजिम राजदूतहरूको सिफारिस गर्ने व्यवस्था प्रचलनमा रहेको छ संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत छ र रहनेछ ।’

उनले राजदूत नियुक्त गर्दा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको पनि स्पष्ट पारिन् । 

सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको उनले जानकारी गराइन् । 

उनले भनिन्, ‘राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको छ । सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको कुरा प्रस्ट पार्न चाहन्छु ।’

त्यस्तै उनले  आफ्नो भारत भ्रमण  गुडविल भिजिट भएको प्रस्ट पारिन् ।  भ्रमणको मुख्य उद्देश्य दुई पक्षीय संयन्त्रलाई कसरी क्रियाशील बनाउने भन्नेमा केन्द्रित रहेको बताइन्। 

भ्रमणको क्रममा एयर रुटको बारेमा कुरा राखेको र सो क्रममा टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको पनि जानकारी गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप