आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश लेखाका कर्मचारी र वन रक्षक फेरि आन्दोलित, प्रदेशसभाको गेटमा धर्ना

मङ्गलबार, १८ भदौ २०८१, १३ : ५७
मङ्गलबार, १८ भदौ २०८१

विराटनगर । सत्ता पक्षकै सांसदले संशोधन प्रस्ताव दर्ता गरेर आफूहरूको माग विपरीत प्रदेश निजामती कर्मचारी सेवा ऐन संशोधन विधेयक पारित गराउन खोजेको भन्दै लेखाका कर्मचारी र वन रक्षक फेरि आन्दोलित भएका छन् । उनीहरूले मंगलबार कोशी प्रदेशसभा सचिवालय अगाडि धर्ना दिएका छन् । 

कोशी प्रदेशको प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक प्रदेशसभामा छलफलको क्रममा छ । उक्त विधेयकमाथि संशोधनका लागि आज दिउँसो साढे दुई बजेसम्मका लागि समय दिइएको छ । लेखा समूहका कर्मचारी सुरज कोइरालाले गत असारमा गरेको आन्दोलनका क्रममा भएको सहमति अनुसार ल्याइएको संशोधन विधेयकमा सत्ता पक्षकै सांसदले संशोधन प्रस्ताव गर्दा गरेर आफूहरूको माग सम्बोधन हुने दफा हटाउन खोजिएको बताए । 

लेखा समूहको माग सम्बोधनका लागि ल्याएको संशोधन विधेयकको दफा १४ (ग) मा ‘समायोजन ऐन बमोजिम प्रदेश अधिकृत छैटौँ तहमा समायोजन भएका र यो ऐनको दोस्रो संशोधन प्रारम्भ हुँदाका बखतसम्म एक पटक पनि तह वृद्धिको सुविधा नपाएका र समायोजन हुनु पूर्वको राजपत्र अनङ्कित प्रथम श्रेणीको सेवा अवधि र अधिकृत छैटौँ तहको सेवा अवधि समेत गणना गरी एघार वर्ष सेवा अवधि पुरा भई सम्बन्धित सेवा, समूह, उपसमूहका लागि आवश्यक पर्ने विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका तथा प्रदेश स्वास्थ्य सेवाका कर्मचारीको हकमा सम्बन्धित व्यावसायिक परिषद्मा नाम दर्ता भएका र नाम दर्ता नवीकरण भएका कर्मचारीलाई दफा ४२ को उपदफा (१) को खण्ड (क) बमोजिमको समितिको सिफारिसमा अख्तियारवालाले एक पटकका लागि मात्र अधिकृत सातौँ तहमा बढुवा गर्नुपर्नेछ’ भन्ने उल्लेख छ । 

उक्त विधेयकको १४ (घ) मा ‘उपदफा १४ (क), १४ (ख) र १४ (ग) बमोजिम बढुवा वा तह मिलान भएका कर्मचारीको लागि माथिल्लो तहको पद स्वतः सिर्जना हुनेछ र सो पदमा जुनसुकै कारणले कर्मचारी बहाल नरहेमा उक्त पद स्वतः तल्लो पद कायम हुनेछ,’ भन्ने उल्लेख छ । 

संशोधन विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराएर सो बुँदा नै हटाउने प्रयास भएको लेखाका कर्मचारीको दाबी छ । ‘सहमति गरेर आफैँले ल्याएको संशोधन विधेयकमाथि फेरि आफैँले अर्को संशोधन गरेर हटाउनु भनेको बेइमानी गर्नु हो । यस्तो बेइमान सरकारसँग हामीले कसरी काम गर्नु ?,’ कोइरालाले भने । 

एकीकृत सरकारी कर्मचारी सङ्गठन कोशी प्रदेश अध्यक्ष योगेश्वर खनालले वन रक्षकको विषयमा पनि संघीय कानून बाझिने गरी निजामती सेवा ऐन ल्याइएको दाबी गरे । ‘त्यो समाधानका लागि ल्याइएको विधेयकमा सत्तापक्षकै सचेतक रेवती रमण भण्डारीले थप संशोधन गर्ने प्रयास गर्नुभएको हो । यो हामीलाई मान्य छैन,’ उनले भने । 

एमालेका सांसद इश्वरचन्द्र दुलाले सबै कर्मचारीलाई मान्य हुने गरी ऐन ल्याउनु पर्नेमा जोड दिए । ‘म संसद भवन छिर्दा कर्मचारीहरू आन्दोलनमा आएको देखेँ,’ उनले भने, ‘यसरी कर्मचारीहरू असन्तुष्ट हुने गरी, आन्दोलनमै उत्रने गरी ऐन ल्याउनु हुँदैन । सबैलाई मिलाउने खालको ऐन बनाउनु पर्छ ।’ 

उता, नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारले ल्याएको संशोधन विधेयकमा आवश्यक संशोधन गर्ने वा जस्ताको तस्तै पारित गर्ने भन्ने निर्णय प्रदेशसभाले नै गर्ने बताए । ‘कहिलेकाहीँ सरकारले ल्याएको विधेयकमा सरकारले नै मिलाउनु पर्ने रहेछ संसदले मिलाए हुन्थ्यो भन्ने कुरा आयो भने त्यसमा संशोधन हुन्छ । सरोकारवाला सबैको न्यायोचित हित हुने गरी ऐन बन्नुपर्छ,’ भण्डारीले भने । 

आफूले संशोधन गर्न लागेको विषय थुप्रै रहेको उनले बताए । लेखा समूहका कर्मचारीको माग सम्बोधन भइसकेको बताउँदै उनले आफूले संशोधन प्रस्ताव दर्ता गरेको विषयले प्रदेशको निजामती सेवा बरबाद हुनबाट रोक्ने दाबी पनि गरे । कर्मचारीले धर्ना दिइरहेको विषय थाहा छ ? भन्ने प्रश्नमा उनले भने, ‘धर्ना दिएका भरमा नहुने कुरा पुरा हुँदैन । जायज कुरा धर्ना नदिए पनि पुरा हुन्छन् । प्रदेशको निजामती सेवा बरबाद हुने खालको कुरा, प्रदेशको निजामती सेवा इफिसेन्सी कमजोर हुने कुरा हुँदैन । स्वतः मागेर हुँदैन । त्यो चाहिँ ख्याल गर्नुपर्छ । स्वतः भन्ने कुराले हिजो कति ठिक ठाउँमा पुर्‍यो भन्ने विषय हामीले ख्याल गर्नुपर्छ ।’ यसअघि केदार कार्की नेतृत्वको सरकारले सहमति अनुसार लेखालाई छोडेर प्रशासनका लागि मात्रै विज्ञापन आह्वान गरेकोले समस्या सिर्जना भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप