सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘बल गर्ल’बाट खेलाडी बनेकी युलियाले अभद्र व्यवहारका लागि माफी मागिन्

मङ्गलबार, १८ भदौ २०८१, १२ : ३५
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । बल गर्लबाट व्यावसायिक खेलाडी बनेकी कजाकस्तानकी टेनिस स्टार युलिया पुटिन्सेवाले वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनका क्रममा बल गर्लप्रति देखाएको रुखो व्यवहारलाई लिएर उनको व्यापक आलोचना भइरहेको छ ।

विश्वव्यापी रुपमा आचोलना भएपछि २९ वर्षीय युलियाले आफ्नो अभद्र व्यवहारका लागि सार्वजनिक रुपमै माफी मागेकी छन् । उनले कुनै समय आफू पनि बल गर्ल नै भएको स्मरण गराउँदै आफ्नो रुखो व्यवहारका लागि प्रशंसकहरुसँग माफी मागेकी हुन् ।

यूएस ओपनको तेस्रो चरणको खेलका क्रममा उनले एउटी बल गर्लप्रति रुखो व्यवहार प्रदर्शन गरेकी थिइन् । उनले इटालियन प्रतिद्वन्द्वी जास्मिन पाओलिनीसँग महिला एकलतर्फको तेस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दै थिइन् ।

खेलका क्रममा उनी २८ वर्षीय इटालियन प्रतिद्वन्द्वीसँग पछाडि परेकी थिइन् । सोही कारणले आक्रोशित बनेकी उनले बल गर्लले दिएको बललाई बेवास्ता गर्दै रुखो व्यवहार प्रदर्शन गरेकी थिइन् । बल गर्लले उनलाई लगातार तीनवटा बल दिँदा पनि उनले कुनै वास्ता गरिनन् ।

युलियाको यस्तो व्यवहारलाई लिएर स्टेडियममा उपस्थित दर्शकहरूले पनि उनलाई मजाकको पात्र बनाएका थिए । बल गर्लप्रति रुखो व्यवहार देखिएको उनको तस्बिर र भिडियोहरू पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त खेलमा इटालियन खेलाडी जास्मिनले युलियालाई ६–३, ६–४ को सोझो सेटमा हराएकी थिइन् । युलियाको यस्तो व्यवहारलाई लिएर विश्व टेनिसका महान् खेलाडी बोरिस बेकरले पनि उनको आलोचना गरेका थिए ।

‘युलिया आफूलाई के सम्झिन्छिन् ? खेलका क्रममा बल गर्लसँग यस्तो रुखो व्यवहार पनि गरिन्छ ?’ आफ्नो समयका चर्चित टेनिस स्टार बोरिस बेकरले सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर) मा आफ्नो प्रतिक्रिया दिएका  छन् ।   

विश्व टेनिसका महान् खेलाडीहरूबाट समेत आफ्नो आलोचना सुरु भएपछि युलियाले अभद्र व्यवहारका लागि माफी मागेकी हुन् । ‘कुनै समय म आफै पनि बल गर्ल थिएँ । खेलका क्रममा उत्तेजित भएर मैले देखाएको व्यवहारका लागि माफी माग्न चाहन्छु,’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत क्षमा याचना गर्दै भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप