सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
विचार

‘सिलिकन भ्याली’ को बगलीमा संकुचित अमेरिकी लोकतन्त्र र निर्वाचन

मङ्गलबार, १८ भदौ २०८१, ११ : ५९
मङ्गलबार, १८ भदौ २०८१

अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रख्यात प्रविधि कम्पनीहरूको केन्द्र मानिएको ‘सिलिकन भ्याली’का मालिकको तानातान सार्वजनिक रूपमा छताछुल्ल हुन थालेको छ । एउटा खेमाको अगुवाइ गर्दै सामाजिक सञ्जाल एक्स तथा स्टार लिंकका मालिक एलन मस्क, वित्तीय प्रविधि कम्पनी पे–पलका सहसंस्थापक पिटर थिल, उद्यम पुँजी कारोबारी (भेन्चर क्यापिटलिस्ट) मार्क एन्डरसन र बेन होरोविट्जले राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई सघाइरहेका छन् भने अर्कोतर्फ अमेरिकी राष्ट्रपतिको दौडमा रहेकी अर्की उम्मेदवार कमला ह्यारिसको पक्षमा सामाजिक सञ्जाल लिंकडिनका सह–सस्थापक रेइड होफम्यान उभिएका छन् ।

सतहमा यो विचारधारा र नीतिबारे लिइएको फरक मतसहितको झगडा लागे पनि यसको अन्तर्यमा अर्कै कथा छ । खासमा बेपर्वाह नाफा कमाउने तर समाजको क्षतिप्रति कुनै जिम्मेवारी लिनुनपर्ने सोच यसमा अन्तर्निहित छ । दुवै पक्ष धेरैभन्दा धेरै नाफा कमाउने उद्देश्यमा पुरापुर सहमत छन । क्रिप्टो मुद्रा र कृत्रिम बौद्धिकता (एआई) का सबैभन्दा ठुला लगानीकर्तामध्ये एक एन्डरसन र होरोविट्जसँग डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएमा अमेरिकी सरकारलाई क्रिप्टो र एआईको लगानीबाट अक्षुण्ण राख्ने संकेत गरिसकेका छन । 

यसैगरी ह्यारिसको निर्वाचनमा सात मिलियन डलर सहयोग गरिसकेका होफम्यानले उनी निर्वाचित भएमा संघीय व्यापार आयोगकी प्रमुख लिना खानलाई अपदस्थ गर्नुपर्ने बताइसकेका छन् । खानले प्रविधि क्षेत्रका ठुला कम्पनीहरू (बिग टेक) लाई अनियन्त्रित हुनबाट रोक्ने एकाधिकार विरोधी नियम (एन्टि ट्रस्ट) का साथै श्रमिकको सुरक्षासम्बन्धी नियम अघि सारेकी थिइन् ।

लामो समयसम्म मानवीय उपलब्धिहरूको चालक शक्ति मानिएको सिलिकन भ्याली अहिले मानवीय हानिको प्रमुख स्रोतका रूपमा फेरिएको छ । पछिल्ला दिनमा आम असन्तुष्टि र विविध स्वरूपका आन्दोलनबाट झस्किएर यहाँका लगानीकर्ता आफ्नो व्यक्तिगत सम्पत्ति रक्षाका लागि राजनीतिक खिचातानीलाई प्रयोग गर्न तँछाड–मछाड गरिरहेका छन् ।

सिलिकन भ्यालीका प्रमुख दुई प्रवृत्तिले उच्चस्तरको क्षतिका खतरा सिर्जना गरिरहेका छन् । पहिलो हो— आफ्नो नाफाका लागि मानिसमा दुव्र्यसनको विकास । दोस्रो हो— उत्पादन लागत घटाउनका लागि रोजगारीमा व्यापक कटौती । 

आरम्भमा पुराना साथीसँग जोडिने, आवाजविहीनहरूले आ–आफ्नो आवाज सुनाउन सक्ने जस्तो देखिएका सामाजिक सञ्जाल पनि अत्यधिक प्रयोगको नशा लाग्ने ‘जुवाघर’जस्ता भइसकेका छन । खेलका नियम तय गर्ने सफ्टवेयर, हार्डवेयर निर्माता कम्पनीका उद्देश्यहरू यस्तै छन् । आजका किशोर–किशोरी दैनिकजसो झन्डै आठ घन्टा स्क्रिनमा बिताउन थालेका छन । र, यसैकारण विज्ञापनबाट मुनाफा कमाउने कम्पनीहरूको कमाइ नै दुई सय २५ अर्ब डलर पुगेको छ ।

यसै दौरान कृत्रिम बौद्धिकता (एआएई) को क्षेत्रमा भएको अभूतपूर्व विकासले व्यापक मात्रामा श्रम कटौतीको सम्भावना देखाइसकेको छ । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अर्थशास्त्री डारेन आसेमग्लुले गरेको पछिल्लो अध्ययनले असमानतामा भइरहेको बढोत्तरीको ५० देखि ७० प्रतिशत हिस्सा प्रविधिमा भएको विकासले ल्याएको स्वचालित प्रणाली (अटोमेसन) सँग सम्बन्धित रहेको देखाएको छ । 

लामो समयसम्म मानवीय उपलब्धिहरूको चालक शक्ति मानिएको सिलिकन भ्याली अहिले मानवीय हानिको प्रमुख स्रोतका रूपमा फेरिएको छ । पछिल्ला दिनमा आम असन्तुष्टि र विविध स्वरूपका आन्दोलनबाट झस्किएर यहाँका लगानीकर्ता आफ्नो व्यक्तिगत सम्पत्ति रक्षाका लागि राजनीतिक खिचातानीलाई प्रयोग गर्न तँछाड–मछाड गरिरहेका छन् ।

ठुला प्रविधि कम्पनी तीव्र गतिमा धनी बन्दै गएको तर सिलिकन भ्याली रहेको राज्य क्यालिफोर्नियामा गरिबी दर अपत्यारिलो ढंगले बढी रहेको ताजा परिप्रेक्ष्यले देखाएका छन् । यसका अन्य सूचक पनि गम्भीर खालका छन् । एआईले किलर रोबोट, स्वनियन्त्रित र स्वचालित हतियार तथा व्यापक मात्रामा मिथ्या सूचना फैलिनुलाई सम्भव बनाइदिएको छ । 

यी समस्याको मूलमा अमेरिका र सिलिकन भ्यालीमा दबदबा कायम गरिरहेको एकात्मक लगानी संस्कृति जिम्मेवार छ । आधुनिक कर्पोरेट कम्पनीको विशेषता र व्यूहरचना नै लगानीकर्ताको सेवामा तल्लीन हुने खालका बनाइएको छ । झन्डै ८० प्रतिशत पब्लिक कम्पनी संस्थागत लगानीकर्ताको स्वामित्वमा छन् । यसको एक मात्र उद्देश्य धेरैभन्दा धेरै नाफा कमाउनु हो, त्यो पनि छोटो समयमा । समाजमा त्यसले के क्षति पु¥याउनेछ, त्यसको चिन्ता कसैलाई छैन । यस्ता कम्पनीको संख्या तीव्र रूपमा बढिरहेको छ । 

सन् १९८० मा यस्ता कम्पनीको स्टकमा हिस्सा २९ प्रतिशत मात्रै थियो । नाफा सुनिश्चित गर्ने उद्यम पुँजी फर्महरू सिलिकन भ्यालीका सुरुवाती व्यवसायका सबैभन्दा ठुला पुँजीगत लगानीका स्रोत हुन् । सन् २०१० सम्म यस्ता फर्महरूको कुल सम्पत्ति चार खर्ब डलर रहेकामा अहिले त्यो ४० खर्ब डलर पुगेको छ ।

सिलिकन भ्यालीमा नाफा–घाटाको उकाली–ओराली चल्दै गर्दा अमेरिकी लोकतन्त्र भने खतरामा परेको छ । अमेरिकी समाजमा आत्महत्याको दर सन् २००७ को तुलनामा ६० प्रतिशतले बढेको छ । दुःखद नै भन्नुपर्ला, यी यस्ता तमाम सामाजिक विषय सिलिकन भ्यालीका मालिकको चिन्तामा पर्दैनन् ।

सुधारको पक्षमा हुने छलफल, पैरवी र प्रभावकारी नियमनले विद्यमान अवस्थामा व्यापक सुधार ल्याउन सक्छ । तर, ठुला टेक कम्पनीहरू कतिसम्म धनाढ्य भइसके भने उनीहरू नीतिगत तहमै प्रभाव पार्न सक्छन् । उनीहरू नियमनकारी संस्थाहरूलाई नै प्रभावमा पारेर नियन्त्रण गर्न सक्छन् । आफ्नो पक्षमा प्रभावकारी पैरवी र कानुनी बहस गराउन सक्छन् । त्यसैले यतिबेला सुधारका पुराना तौर–तरिका औचित्यहीन भइसके । फरक र भिन्न तौर–तरिका अपनाउनुपर्ने भइसकेको छ । 

जब विविध व्यवसायको स्वामित्व र नियमन कामदार–प्रयोगकर्ता, उपभोक्ता, आपूर्तिकर्ता र समुदायले गर्छ तब मात्र तिनीहरू मानव समुदायप्रति कम घातक र कम हिंस्रक हुन्छन् । व्यापारिक घरानाहरू समय र संस्कृतिप्रति संवेदनशील हुन थाल्छन् । पुँजीवाद नम्र स्वरूपमा देखिन थाल्छ । किसान, श्रमिक, प्रयोगकर्ताले संसारका प्रतिष्ठित कम्पनीको स्वामित्व लिएको र सञ्चालन गरेको धेरै राम्रा उदाहरण हामी माझ छन् । 

ओसेन स्प्रे, पब्लिक्स सुपर मार्केट्स, अग्र्यानिक भ्याली, न्युयोर्क लाइफ इन्स्योरेन्स कम्पनी र भ्यानगार्ड जस्ता कम्पनी यस्तो सूचीमा पर्छन् । यस्तै पाटागोनिया, रोलेक्स, नोभो नोर्डिस्क तथा इकेआजस्ता कम्पनी गैरनाफामूलक, ट्रस्टले वा विभिन्न प्रतिष्ठानले स्वामित्व लिने र सञ्चालन गर्ने गरेका उदाहरण हुन् । त्यहाँ कुनै खास लगानीकर्ताको समूह हुँदैन । फलतः नाफाका लागि एकोहोरो दबाब पनि हुँदैन ।

सिलिकन भ्यालीमै यस्ता केही उल्लेख्य उदाहरण छन् । वेब ब्राउजर सञ्चालन गर्ने कम्पनी मोजिलाको स्वामित्व गैरनाफामुखी कम्पनीसँग छ । त्यसैले यो नाफाको पछि दौडिने कम्पनीमा पर्दैन । त्यसैले यसले आफ्ना प्रयोगकर्ताको तथ्यांक विज्ञापनदातालाई बेच्नुपर्ने छैन । विकिपेडिया धेरै हेरिने यस्ता वेबसाइटमध्ये पर्छ, जसको सञ्चालन गैरनाफामूलक कम्पनीले गर्छन् । 

च्याटजीपीटीको निर्माता कम्पनी ओपेन एआईको अधिकांश स्वामित्व गैरनाफामूलक छ । फलस्वरूप यसको रचना ‘कृत्रिम बौद्धिकताको उपयोग समस्त मानव जातिको हित सुनिश्चित गर्ने’ भन्ने उद्देश्यसँग सम्बन्धित छ । यद्यपि यसमा लगानी गर्ने कम्पनीमा नाफामूलक कम्पनी माइक्रोसफ्ट पनि पर्छ । भलै त्यो यहाँ अल्पमतमै छ । 

धेरै कम्पनी उपभोक्ताको स्वामित्व र सञ्चालनमा रहँदा धेरै राम्रो हुने सम्भावना हुन्थ्यो । प्रयोगकर्ताले प्रविधिबाट नियन्त्रित र सञ्चालित दुव्र्यसनबाट तथा स्वचालित प्रणालीबाट धेरै गुमाउनुपर्ने हुन्छ । सँगै उनीहरूबाटै उत्पादित डाटाको प्रयोगबाट प्राप्त मूल्यको लगभग सबै हिस्सा कम्पनीको भागमा मात्र पर्न जान्छ । प्रयोगकर्ता र उसको स्वामित्वको साझेदारी हुँदा सिर्जित मूल्यको न्यायोचित वितरण हुन सक्छ । र, सम्भावित हानिलाई ठुलो मात्रामा न्यूनीकरण गर्न सकिन्छ ।

प्रयोगकर्ताहरू आफैँ भेला भएर प्रविधि कम्पनी कसरी सञ्चालन गर्न सक्छन् भन्ने प्रश्न उठ्न सक्छ । छरिएका रहेका विविध सोचमा विभाजित समूहका मानिसलाई एक ठाउँमा ल्याउनु निश्चय पनि कठिन काम हो । अर्थशास्त्री यस प्रकारको समस्यालाई सामूहिक क्रिया समस्या (कलेक्टिभ एक्सन प्रोब्लेम) भन्छन् ।

सिलिकन भ्यालीमा नाफा–घाटाको उकाली–ओराली चल्दै गर्दा अमेरिकी लोकतन्त्र भने खतरामा परेको छ । अमेरिकी समाजमा आत्महत्याको दर सन् २००७ को तुलनामा ६० प्रतिशतले बढेको छ । दुःखद नै भन्नुपर्ला, यी यस्ता तमाम सामाजिक विषय सिलिकन भ्यालीका मालिकको चिन्तामा पर्दैनन् ।

यसका लागि हाल कायम रहेका केही अभ्यास हेर्न सकिन्छ । मानवीय प्रविधि केन्द्र (सेन्टर फर ह्युमन टेक्नोलोजी) तथा प्रोजेक्ट लिबर्टीजस्ता प्रभावशाली गैरनाफामूलक संस्थाले मानिसलाई संगठित गर्ने काममा राम्रो भूमिका खेल्न सक्छन् । नयाँ पुस्तालाई प्रयोगकर्ताको स्वामित्वमा रहने सामाजिक सञ्जालको व्यवसायबारे सिकाउन तथा अभ्यस्त बनाउन सक्छन् । सामाजिक सञ्जाल प्रविधिका हिसाबले असाध्यै प्रतिस्पर्धी क्षेत्र त हो नै तथापि यो धेरै जटिल पनि छैन । मानिसमा कम हानि गर्ने प्रकारका यस्ता सञ्जालको रहर कायमै रहेको हामीले देखेका छौँ ।

अर्को विकल्पका रूपमा विद्यमान फर्महरूको पुनर्संरचना गर्न सकिन्छ । नाफाखोर निगमहरूबाट लगानी पुँजी संकलनको सट्टा ओपन एआईजस्ता संस्थाले प्रयोगकर्ताहरूबाट कोष संकलन गर्न सक्छन् । साथै उनीहरूका प्रतिनिधिलाई महत्त्वपूर्ण नीति–निर्माण तहमा सामेल गराउन सक्छन् । प्रयोगकर्तालाई नीति निर्माण र निर्णय हुने बोर्डमा राखेसँगै उनीहरू सुरक्षित तवरबाट उत्पादन बजारमा ल्याउन तथा स्रोत–साधनलाई अधिकतम रोजगारी सिर्जना गर्ने विकल्पमा उपयोग गर्न सक्छन् । अझै महत्त्वपूर्ण रूपमा कृत्रिम बौद्धिकतामा भएको अभूतपूर्व क्रान्तिबाट प्राप्त हुने वित्तीय आयलाई आममानिसका लागि मूल्य सिर्जनामा उपयोग गर्न सकिन्छ ।

पछिल्लो समय युट्युब तथा ट्विटरमा रोअरिङ किट्टी भनेर चर्चित केइथ गिलले खुद्रा लगानीकर्ता जम्मा गरेर १० अर्ब डलरको बजार मूल्य तयार गर्न सक्छन् भने त्यही अवधारणाबाट ट्विटरलाई समेत प्रयोगकर्ताको स्वामित्वमा ल्याउन सम्भव छ । एलन मस्कले ट्विटर खरिद गरेपछि भएको करोडौँ डलरको लगानी पलायनको परिदृश्यमाझ यो काम गर्न अझै ढिलो भइसकेको छैन ।

ठुला प्रविधि कम्पनीहरूको असहयोगका कारण नीति र निर्णय प्रक्रिया प्रभावित नहुने हो भने सरकारले पनि यो काममा सहयोग गर्न सक्छ । साना व्यवसाय हेर्ने प्रशासन, ऊर्जा विभाग तथा राष्ट्रिय विज्ञान प्रतिष्ठानले आफूले सहयोग गर्ने कम्पनीलाई प्रयोगकर्ताको स्वामित्वमा जान प्रेरित गर्न सक्छन् ।

सिलिकन भ्याली स्यान्ड हिलका भेन्चर क्यापिटलिस्टहरू पक्कै यसलाई समाजवाद भनेर कोकोहोलो गर्नेछन् । यो उनीहरूको पुरानै तर गलत तरिका हो । हामी प्रस्ट हुनुपर्ने के हो भने यो पनि व्यवसाय नै हो, झनै परिष्कृत व्यवसाय ।

(लेखकद्वय न्युयोर्क विश्वविद्यालय स्टर्न स्कुल अफ बिजनेसका प्राध्यापक हुन्)

(लसएन्जलस टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हान्स टपरिया/ब्रुस बुकानन
हान्स टपरिया/ब्रुस बुकानन
लेखकबाट थप