बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रोजगारीको नाममा मानव तस्करी

अवैध रूपमा अमेरिका छिर्न नेपालीले किन बनाउँछन् ब्राजिललाई ट्रान्जिट ?

ब्राजिल पुग्नेबित्तिकै च्यातिन्छ पासपोर्ट लगायतका कागजात
मङ्गलबार, १८ भदौ २०८१, ०९ : ५७
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ । अचेल धेरै नेपाली युवाको सपना अमेरिका जाने नै हुन्छ । कतिपय त आफ्नो ज्यानको बाजी मारेर भए पनि जान खोज्छन् ।

पछिल्लो समय त्यसरी नै गैरकानुनी रूपमा अमेरिका छिर्न हिँडेका १७६ जना नेपाली ब्राजिलको अध्यागमनले कडाइ गरेपछि अलपत्र परेका छन् । जबकि यस अघिसम्म ब्राजिलको एयरपोर्टमा आफूसँग भएको कागजात च्यातेर फालिदिएपछि अध्यागमनले कागजात बनाइदिने गरेको थियो । तर, अहिले त्यस्तो कागजपत्र बनाउन कडाइ गरेसँगै नेपालीसहित विभिन्न देशका नागरिक ब्राजिलको एयरपोर्टमै अलपत्र परेका हुन् ।

गैरकानुनी रूपमा अमेरिका छिर्दै आएका नेपालीबारे लामो समयदेखि अध्ययन गरिरहेका छत्र मैनालीले ब्राजिलले कडाइ गरेपछि कागजपत्र नभएकाहरू अलपत्र परेको बताए ।

लामो समयदेखि कोलम्बियामा बस्दै आएका मैनालीले नेपाल, भारत, बंगलादेश लगायतका देशबाट अवैध रूपमा अमेरिका छिर्न खोजेका ५ हजारभन्दा बढीसँग प्रत्यक्ष कुरा गरिसकेका छन् । ‘ब्राजिलले नयाँ नियम ल्याएको छ । पहिला एयरपोर्टमा डकुमेन्टहरू च्यातेर हात खडा गरिदियो भने नयाँ प्रक्रिया सुरु गरेर कागज बनाइदिन्थ्यो,’ उनले रातोपाटीसँग भने, ‘ब्राजिलले अहिले त्यो प्रक्रिया बन्द गरेपछि उनीहरू समस्यामा परेका हुन् ।’

दलालहरूले सेटिङ मिलाएर अन्य मुलुकको टिकट काट्ने र ब्राजिललाई ट्रान्जिट बनाउने गरेको मैनालीको भनाइ छ । यसअघि ब्राजिलको एयरपोर्टमा आफूसँग भएको कागजात च्यातेपछि अर्को गन्तव्यसम्म पुग्नका लागि पेपर दिने गरेको र त्यही कागजका आधारमा अर्को मुलुक जाने गरेको उनको भनाइ छ ।

अहिले ब्राजिलले त्यो काम रोकेपछि कयौँ नेपालीसहित अन्य मुलुकका नागरिक ब्राजिलमै अलपत्र अवस्थामा रहेको मैनाली बताउँछन् । नेपालबाट भिजिट भिसामा दुबई जाने र त्यहाँबाट अमेरिका जानका लागि दलाललाई पैसा खुवाएर विभिन्न मुलुक हुँदै लैजाने गरेको उनको भनाइ छ ।

‘नेपालमै सेटिङ मिलाएर उनीहरूलाई ब्राजिल लगिएको हो । ब्राजिलले त्यो प्रक्रिया बन्द गरेकाले अहिले यस्तो देखिएको हो । यसरी हरेक दिन विभिन्न मुलुकका मानिस ब्राजिल आउँछन् । अहिले समातिएपछि मात्रै यो कुरा बाहिरिएको हो,’ उनले भने ।

त्यसरी ब्राजिल पुगेकाहरू यसअघि सडक मार्ग हुँदै अन्य देशमा जाने गरेका थिए । तीमध्ये धेरैजसोको गन्तव्य अमेरिका हुने गर्दथ्यो । मैनालीका अनुसार ब्राजिलबाट छिमेकी देश पेरु जान्छन् । त्यहाँबाट इक्वेडर हुँदै कोलम्बिया पुग्छन् । कोलम्बियाबाट डेरियनको जङ्गल हुँदै पानामा पुग्ने उनले बताए ।

qh16tfi_sao-paulo-airport-reuters_625x300_24_August_24

नेपालबाट महिनामा एक हजारभन्दा बढी नेपाली अमेरिका पुग्ने गरेको उनको भनाइ छ । अवैध रूपमा महिनौँ हिँडेर अमेरिका पुग्ने सपनाका खातिर ५० देखि ८० लाख रूपैयाँसम्म दलाललाई तिर्ने गरेको उनले बताए ।

मैनालीका अनुसार नयाँ दिल्ली हुँदै विभिन्न देशको बाटो प्रयोग गरेर कोलम्बियासम्म पुग्ने पनि प्रशस्त छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो प्रयोग गरेर ‘अनअराइभल भिसा’ मार्फत सिङ्गापुर वा गाम्बिया, दुबई, ब्राजिल लगायत देशमा हवाई मार्गमार्फत नेपालीहरू जाने गरेको उनको भनाइ छ ।

कोलम्बियास्थित इमिग्रेसनमा दुई वर्ष भाषा अनुवादकका रूपमा काम गर्दा उनले पक्राउ परेका नेपालीहरूसँग प्रत्यक्ष कुरा गरेका थिए । सोही क्रममा उनीहरूले कुन कुन माध्यमबाट जाने, कसरी जाने भन्ने विषयमा जानकारी दिने गरेका थिए ।

विश्वका कुनै पनि मुलुकबाट अवैध रूपमा अमेरिका छिर्न दक्षिण अमेरिकाका ब्राजिल, बोलिभिया, सुरिनाम, गुयना, पेरु वा चिलीमध्ये कुनै एक मुलुकमा हवाई मार्गबाट जाने गरेका छन् । ल्याटिन अमेरिका पुगेपछि जसरी भए पनि त्यहाँबाट अमेरिका पुग्नैपर्छ भन्ने मानसिक दबाब पर्ने अवैध आप्रवासीलाई बस, ट्रक र कन्टेनरमा राखेर मेक्सिकोेसम्म पु-याउने गरिएको मैनालीले बताए ।

हरेक ल्याटिन अमेरिकी देशमा रहेका दलालले अत्यन्त जोखिमसाथ उनीहरूलाई स्थल वा जलमार्ग पार गराउँदै मेक्सिको पु-याउने र त्यहाँबाट अमेरिका छिर्ने गरेको उनको भनाइ छ ।

मैनालीका अनुसार बाटोमा रूट पर्ने हरेक देशका स्थानीय दलाललाई पैसा दिइएको हुन्छ । उनीहरूले आफ्नो देशको सीमा कटाएर अर्को देशको सीमासम्म छोड्ने काम गर्छन् । यसरी हरेक मुलुकमा सम्बन्धित देशको दलालले आफ्नो सीमा क्षेत्र कटाउन मद्दत गर्दछ ।

मैनालीले भने, ‘बिचमा कुनै बाधा–व्यवधान भएन भने नेपालबाट हिँडेको व्यक्तिहरू कम्तीमा दुई साताभित्र ल्याटिन अमेरिका पुग्छन् । ट्रान्जिट, भिसा र अन्य प्रक्रियाले गर्दा अलि बढी समय पनि लाग्न सक्छ । यी सबै प्रक्रिया दलालले नै सेटिङमा मिलाउँछन् ।’

मेक्सिकोबाट ‘कन्ट्री एक्जिट पेपर’ पाएपछि उनीहरू त्यही बोकेर अमेरिकाको बोर्डरतिर लाग्छन् । दलालले राति अमेरिकाको क्यालिफोर्निया राज्यको सान–डिएगोस्थित बोर्डरसम्म छाड्छन् । त्यहाँबाट पर्खाल नाघेर अमेरिकाको भूमिमा टेकेपछि दलालको काम सकिन्छ ।

मेक्सिको र अमेरिकाको पर्खाल नाघ्नको लागि भ¥याङ किन्छन् । त्यही भ-याङमार्फत पर्खाल नाघ्ने र काम सकिएपछि भ-याङ त्यहीँ छोडिदिन्छन् । त्यसपछि दलालहरू जिम्मेवारीमुक्त हुन्छन् । अमेरिका छिरेपछि इमिग्रेसनले समातेर केरकार ग-यो वा डिपोर्ट ग-यो भने पनि दलाल जवाफदेही हुँदैन । दलालको काम भनेको जसरी पनि अमेरिकासम्म छिराइदिने हो । अमेरिका पसेपछि उनीहरू आफैँ जवाफदेही हुनुपर्ने मैनालीको भनाइ छ ।

किन हुन्छ ब्राजिल ट्रान्जिट ?

नेपालीसहित विभिन्न देशका मानिस ब्राजिल हुँदै अमेरिका जाने गर्छन् । अवैध रूपमा अमेरिका छिर्न खोज्नेहरूले ब्राजिललाई ट्रान्जिट बनाउनुको विभिन्न कारण छन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार ब्राजिलसम्म प्लेनमा जाने र त्यहाँबाट रोडको बाटो हुँदै अर्को मुलुक जान्छन् । ‘कोलम्बिया, भेनेजुएला लगायतका देशमा ब्राजिलबाट रोडमार्ग हुँदै जान सजिलो हुन्छ । जसले गर्दा ब्राजिलबाट विभिन्न मुलुकबाट गएर ट्रान्जिट बनाउने गर्छन्,’ ती अधिकारीले भने ।

ब्राजिल पुगेर प्लेनबाट ओर्लिने बित्तिकै आफूसँग भएको पासपोर्ट लगायतका कागजात च्यात्ने गरिन्छ । किनकि आधिकारिक कागजात नभएपछि ब्राजिलको अध्यागमनमा रहेको राष्ट्रसङ्घीय शरणार्थी नियोग (यूएनएचसीआर) ले शरणार्थीको कार्ड बनाइदिन्छ ।

उक्त कार्ड बनाएपछि उनीहरूले त्यहीँ बस्न र काम गर्नसमेत पाउँछन् । अलिअलि पैसा जम्मा गरेपछि त्यहाँबाट फेरि अर्को मुलुकतिर लाग्ने गर्छन् । ब्राजिलमा हुँदा नेपालीहरूले आफू नेपाली हुँ भन्दैनन् । नेपालीले शरणार्थीको कार्ड नपाउने डरले उनीहरूले भुटानी भन्ने गरेको ती अधिकारीको भनाइ छ ।

‘नेपाली नै भए पनि भुटानी भनेर दर्ता गर्ने गर्दथे । रिफ्युजी कार्डमा भुटानी भनेर राखिसकेपछि हामीलाई गाह्रो हुन्थ्यो,’ ती अधिकारीले भने ।

अहिले भिसा लिएर आएको छ भने इमिग्रेसन क्रस गर्न दिने, नभएको खण्डमा नदिने भन्ने नीति ब्राजिलले ल्याएपछि उनीहरू समस्यामा परेका हुन् । ब्राजिलस्थित नेपाली राजदूतावासका प्रथम सचिव तथा मिसन उपप्रमुख बाबुराम सिग्देलले त्यहाँ अलपत्र परेका नेपालीका बारेमा थप नयाँ केही नभएको बताए ।

हाल उनीहरू सबै जना सुरक्षित रहेको उनको भनाइ छ । उनका अनुसार एयरपोर्टभित्रै अलपत्र परेका भनिएकाहरू दूतावाससँग कुरा गर्न मानिरहेका छैनन् ।

सिग्देलका अनुसार उनीहरूले शरणार्थीको स्टाटस मागेको तर, ब्राजिलले नदिएपछि समस्यामा परेका हुन् । ब्राजिल पुगेकाहरूले आफू शरणार्थी भएको दाबी गर्दै आए पनि ब्राजिलले नेपालमा कुनै प्रकारको हिंसा नभएको भन्दै उनीहरूलाई शरणार्थीको स्टाटस दिन अस्वीकार गरेको छ ।

२७ अगस्ट २०२४ मा ब्राजिलमा रहेको नेपाली दूतावासले सूचना जारी गर्दै अवैध रूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी देशहरूमा आउने प्रवृत्ति बढ्दो रहेकोभन्दै सचेत गराएको थियो ।

ब्राजिल सरकारले तत्काल लागु हुनेगरी नेपाल लगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम बनाएको भन्दै राहदानीसहित मात्रै प्रवेश गर्न अनुरोध गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप