कुशको धार्मिक महत्त्व
खासगरी हिन्दु समाजमा जन्मदेखि मृत्युसम्म मात्र होइन, मृत्युपर्यन्तका संस्कार कर्ममा पनि कुश नभई नहुने वस्तु हो । वैदिक साहित्य र हिन्दु धार्मिक कार्यमा कुशलाई पवित्र मानिएको छ ।
जप, हवन, स्वाध्याय, सन्ध्या, देवपूजादि कार्य गर्दा कुश धारण गरेको हुनुपर्छ । कुशको पवित्री धारण गर्दा देव कार्यमा अनामिका औँलामा र पितृकार्यमा तर्जनी औँलामा गर्ने मान्यता छ ।
हवन गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ । कुश पितृ पक्षमा श्राद्ध गर्दा कुशको प्रयोग आवश्यक हुन्छ । योबिना तर्पण अधुरो मानिन्छ । कुशको प्रयोगले मानसिक र शारीरिक शुद्धता प्राप्त हुने शास्त्रोक्त कथन छ । पूजा स्थललाई शुद्ध गर्न कुशबाट पानी छर्कने गरिन्छ ।
घरमा कुश राख्नाले परिवारको कल्याण हुने विश्वास गरिन्छ । कुशको आसन अर्थात् कुशासनको निकै महत्त्व छ । आसनहरूमा कुशको आसनलाई सर्वश्रेष्ठ आसन मानिन्छ । पूजा, जप, पाठ, हवन गरिँदा उत्पन्न हुने ऊर्जासँगको सन्तुलनका लागि कुशकै आसन उपयुक्त मानिन्छ ।
व्रतबन्धको संस्कार अवधिमा कुशको कन्दनी बनाई कम्मरमा बाँधिन्छ । साधु संन्यासी कम्मरमा कुशको कन्दनी आजीवन धारण गर्छन् । शास्त्रमा भनिएको छ, ‘दर्भो य उग्र औषधिस्तं ते बध्नामि आयुषे ।’ अर्थात् दर्भ (कुश) तत्काल फल दिनेवाला औषधि हो, यसलाई आयु वृद्धिका लागि धारण गर्नुपर्छ ।
तराईदेखि पहाडसम्म पाइने कुशका पात र जरालाई औषधि र सौन्दर्य प्रशाधनमा प्रयोग गरिन्छ । कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मिर्गौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ । कुशको गुन्द्री वा चटकीमा नियमित बस्नाले रक्तचाप सन्तुलित रहन्छ ।
- कुसे औँसी
प्रत्येक वर्ष भदौको औँसीका दिन कुश भित्र्याउने परम्परा भएकाले यस दिनलाई कुसे औँसी भनिएको हो । यस दिनलाई पितृऔँसी तथा गोकर्ण औँसीका नामले समेत जानिन्छ । औँसीको दिन प्रातः कालमा कुश उखेल्ने चलन छ । प्रातः कालमा स्नानादि नित्य कर्म सकी शुक्लपट्ट अर्थात् धोती लगाएर विधिपूर्वक पूजा गरेर प्रातः कालमै अर्थात् बिहानै उखेल्नुपर्छ । तिखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होसियारीपूर्वक टिप्नुपर्छ । गुरुकुल शिक्षामा छात्रको परीक्षाका विधा कुश उखेल्ने कार्य पनि समावेश हुन्थ्यो । जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) बटुल्न सक्थ्यो, उसलाई कुशल मानिन्थ्यो ।
वैदिक आचरणमा रहेका सनातनधर्मीले आजको दिन बिहान खेतबारीमा गएर कुश जरासहित उखेलेर ल्याउने गर्छन् । घरघरमा भित्र्याउने यो कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ ।
कुसे औँसीको दिन उखेलेको कुश एक वर्षसम्म उपयोग गर्न पाइन्छ भने कुसे औँसीको दिन सोमबार परेमा अर्थात् सोमबारे औँसीमा उखेलेको कुश १२ वर्षसम्म प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ । त्यसबाहेक अन्य दिन उखलेको कुश त्यही दिन मात्र प्रयोग गर्न पाइने शास्त्रोक्त मान्यता छ । यस वर्ष सोमबार कुसे औँसी परेकाले यो वर्ष उखेलेको कुश १२ वर्षसम्म उपयोग गर्न सकिने भयो ।
कुसे औँसीलाई बुबाको पूजा गर्ने दिन, मातातीर्थ औँसीलाई माताको पूजा गर्ने दिन र असार पूर्णिमालाई गुरुको पूजा गर्ने दिन विशेषका रूपमा मनाइन्छ । कुसे औँसी बुबाको मुख हेर्ने अर्थात् आफ्नो बुबाको विशेष आदर र सम्मान गर्ने दिनका रूपमा मनाइन्छ । कुसे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसका रूपमा मनाई बुवालाई विशेष सम्मान गरिन्छ ।
बुवा दिवंगत भइसकेकाले गोकर्णेश्वर, बेत्रावती, विष्णु पादुका, बोधगयामा गएर श्राद्ध, तर्पण, पिण्डदान गर्छन् । तराईका मानिस बोधगयामा पिण्ड दान गरेर बर्सेनि पितृपक्षमा गरिने पितृतर्पण कर्मलाई पूर्णता दिन्छन् । तीर्थस्थलमा गई तर्पण तथा अन्न दान गरेमा पितृले आशीर्वाद दिने र आफ्नो कुल स्थिर हुने मान्यता छ ।
यस दिनलाई अर्को शब्दमा पितृऔँसी, पितृ दिवस, गोकर्ण औँसी, कुसे औँसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ ।
महत्त्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
-
यी हुन् सबैभन्दा बढी आयात भएका १० वस्तु
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि