पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा पनि बंगलादेश जिततर्फ अग्रसर

काठमाडौँ । बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटको चौथो दिन सोमबार घरेलु टोली पाकिस्तान हारतर्फ अग्रसर देखिएको छ । वर्षाका कारण चौथो दिनको खेल निर्धारित समयभन्दा अगावै स्थगित हुँदा बंगलादेशले आफ्नो दोस्रो पालीमा कुनै विकेट नगुमाई ४२ रन बनाएको छ ।
दोस्रो पालीमा बंगलादेशका लागि ओपनर ब्याट्सम्यान जाकिर हसन अविजित ३१ र सादमन इस्लाम अविजित नौ रन बनाउँदै क्रिजमा छन् । बंगलादेश एक सय ८५ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको हो ।
खेलको पाँचौँ तथा अन्तिम दिन मंगलबार भ्रमणकारी टोली बंगलादेशलाई जितका लागि केवल एक सय ४३ रन आवश्यक छ । पाकिस्तानी टोली सोमबार नै आफ्नो दोस्रो पालीमा केवल एक सय ७२ रन बनाउँदै अलआउट भएको थियो ।
दोस्रो पालीमा पाकिस्तानका लागि तल्लो क्रमका ब्याट्सम्यान सलमान अघाले अविजित ४७ र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ४३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो ।
दोस्रो पालीमा पाकिस्तानका ६ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । दोस्रो पालीमा बंगलादेशका बलर हसन महमुदले एक्लैले पाँच विकेट लिए । उनले १०.४ ओभरमा एक मेडन राख्दै केवल ४३ रन खर्चिएका थिए ।
नाहिद राणाले पनि चार विकेट हात पारेका थिए । उनले ११ ओभरमा एक मेडन राख्दै ४४ रन खर्चिएका थिए । अर्को एक विकेट तास्किन अहमदले लिएका थिए । बंगलादेश टोलीले भने आफ्नो पहिलो पालीमा दुई सय ६२ रन बनाएको थियो ।
बंगलादेशका लागि पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान लिटन दासले शतकीय योगदान गरेका थिए । उनले एक सय ३८ रन बनाएका थिए । मेहदी हसन मिराजले पनि टोलीको खातामा ७८ रन थपेका थिए । पाकिस्तानी बलर खुर्रम सहजाद एक्लैले ६ विकेट लिएका थिए । उनले २१ ओभरमा तीन मेडन राख्दै ९० रन खर्चिएका थिए ।
त्यसअघि टस हारी ब्याटिङको निम्तो पाएको पाकिस्तानले आफ्नो पहिलो पालीमा दुई सय ७४ रन बनाएको थियो । पहिलो पालीमा पाकिस्तानी टोलीका लागि तीन ब्याट्सम्यानले अर्धशतकीय योगदान गरेका थिए ।
ओपनर सइम ऐयुबले ५८, कप्तान सान मसुदले ५७ र सलमान अघाले ५४ रन बनाएका थिए । पहिलो पालीमा बंगलादेशी बलर मेहदी हसन मिराज एक्लैले पाँच विकेट लिएका थिए । उनले २२.१ ओभरमा दुई मेडन राख्दै ६१ रन खर्चिएका थिए ।
तास्किन अहमदले पनि तीन विकेट लिएका थिए । दुई टेस्टको शृङ्खलामा बंगलादेश १–० ले अगाडि छ । पहिलो टेस्टमा बंगलादेशले पाकिस्तानलाई १० विकेटले हराएको थियो । टेस्ट क्रिकेटको इतिहासमा बंगलादेशले पहिलो पटक पाकिस्तानलाई हराएको हो । दोस्रो टेस्टमा पनि विजयी भए बंगलादेशले २–० ले शृङ्खला आफ्नो पक्षमा पार्नेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना
-
५ वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन सरकारलाई सुझाव
-
सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
-
भन्सारमा हुने चोरी पैठारी रोक्न करमाथि पुनर्मुल्याङ्कन गर्न सुझाव
-
गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ