बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय
मोतीरामको योगदान

‘तिमी आफैँ मालिक भइगयौ सरकार पो किन चाहियो र ?’

सोमबार, १७ भदौ २०८१, १६ : ३२
सोमबार, १७ भदौ २०८१

‘दुई आँखी भौँ त तयार छन् तरबार पो किन चाहियो र ?
तिमी आफैँ मालिक भइगयौ सरकार पो किन चाहियो र ?’

(मोतीराम भट्ट)

मोतीराम भट्टको गजलकारितामाथि विद्यावारिधि गरेका गीतकार डा. कृष्णहरि बरालका अनुसार, मोतीराम भट्ट नेपाली साहित्यका विराट् प्रतिभा हुन् । अथाह प्रतिभाका धनी भट्टले बाँझोप्रायः रहेको नेपाली साहित्यको अन्वेषण गरेर भानुभक्त आचार्यलाई आदिकविका रूपमा स्थापित गराउने काम गरे । 

‘गजल, नाटक, जीवनी, समालोचनाको श्रीगणेश गरेर नेपाली साहित्यको माध्यमिक कालको जग बसाल्ने श्रेय पनि भट्टलाई नै जान्छ,’ डा. बराल भन्छन्, ‘भट्टभन्दा अगाडि पनि कविताहरू लेखिन्थ्यो । तर त्यतिबेला लेखिएका सबै कवितामा वीरधारा (कसैको गुणगाण गरेर लेखिएको) प्रचलित थियो ।’

१९२३ भदौ २५ गते जन्मिएका भट्टको अक्षराम्भ ५ वर्षको उमेरमै भएको थियो । ६ वर्षको हुँदा उनी आमासँग काशी बनारस गए । उनको शिक्षारम्भ त्यहीँ भयो । त्यहाँ फारसी र उर्दू भाषामा उनको शिक्षारम्भ भयो । संस्कृत र अंग्रेजी पनि पढे । बिस्तारै भट्ट कविता गोष्ठीमा जान थाले । काशीमा बस्दाखेरि एकपटक भट्ट समस्यापूर्ति कार्यक्रममा सहभागी भए । सो कार्यक्रममा कविताको एउटा पङ्क्ति अर्थात् समस्या दिएर सहभागीलाई त्यसको बाँकी पङ्क्ति लेख्न भनिन्थ्यो । त्यस्तै एउटा कार्यक्रममा मोतीराम भट्ट पनि पुगे । त्यहाँ ‘कपडा जलाके अपने लगे आग तापने’ भन्ने वाक्यांश दिएर समस्यापूर्ति गर्न भनियो । सो सभामा भर्खरैको फुच्चे केटो मोतीराम भट्टले हात ठड्याए । यसको उत्तरमा भट्टले ‘यैसे भी बेअकल देखा हे कोही अपने’ थपिदिए । उनले यति भनेपछि सभामा उपस्थित भएकाहरू छक्क परे ।

भारतीय साहित्यका आधुनिक कालका प्रवर्तक भनेर चिनिने भारतेन्दु हिरशचन्द्रसँग सोही समस्यापूर्तिमा भट्टको पहिलो भेट भयो । भारतेन्दुले भट्टलाई मञ्चमा बोलाएर १० रुपैयाँ पुरस्कार पनि दिए । अनि उनका बारे सोधखोज गरे । भट्टले नेपालबाट आएको भनेपछि नेपालमा के कस्ता कवि छन् ? कस्ता कस्ता कृति छापिएका छन् भनेर सोधे । त्यतिबेलासम्म भट्टलाई नेपाली साहित्यबारे केही थाहा थिएन । त्यसपछि नै उनले नेपाली कविहरूको सोधखोज गर्न थालेका हुन् । 

एकपटक छिमेकीको जन्ती जाँदा भट्टले रातभरि श्लोकमा जुहारी खेलेको देखे । नेपाली भाषामा श्लोक सुनेर उनी अचम्ममा परे । सोधखोज गर्दै जाँदा उनले थाहा पाए— सबै श्लोक भानुभक्तले लेखेको रामायणबाट लिइएका रहेछन् । त्यसपछि उनले भानुभक्तका कृतिहरू खोजे । 

बनारस बसाइका क्रममा उनले सयौँ सायरी लेखेका थिए, तर नेपाली गीत र कविता भने कोरेका थिएनन् । यस अवधिमा भारतेन्द्रको संगतमा रहेर भट्टले गजल लगायत साहित्यका कैयौँ विधासँग परिचित हुने मौका पाए । भारतका चर्चित सितारवादक पन्नालालसँग पनि उनले शिक्षा लिएका थिए । काशी बस्दा उनले गजल लेख्न, गाउन र सितारवादन सिके ।

आठ वर्ष बनारसमा बसेपछि सन् १९३७ मा भट्ट नेपाल फर्किए । नेपालमा आएर उनले बिहे गरेको भनेर कहीँ कतै सुन्न पाइए पनि यसबारे आफूले कतै नपढेको बराल बताउँछन् । केही सन्दर्भमा भने भट्टले बिहे गरे पनि उनको सन्तान नभएको उल्लेख पाइन्छ ।  

एकपटक छिमेकीको जन्ती जाँदा भट्टले रातभरि श्लोकमा जुहारी खेलेको देखे । नेपाली भाषामा श्लोक सुनेर उनी अचम्ममा परे । सोधखोज गर्दै जाँदा उनले थाहा पाए— सबै श्लोक भानुभक्तले लेखेको रामायणबाट लिइएका रहेछन् । त्यसपछि उनले भानुभक्तका कृतिहरू खोजे । 

१९४४ सालमा भट्टले ‘कवि भानुभक्तको जीवन चरित्र’ भन्ने कृति लेखे । नेपाली भाषामा लेखकको नाम ज्ञात भएको यो पहिलो जीवनी थियो । यसमा उनले भानुभक्तले लेखेका काव्यको समालोचना पनि गरेका छन् । यो नेपाली साहित्यको पहिलो समालोचना पनि थियो । ‘नेपालमा पहिलोपटक जीवनी र समालोचना लेख्ने कामको सुरुआत पनि भट्टले गरेका हुन् । भट्टभन्दा अगाडि केही अज्ञात व्यक्तिले राम शाह, पृथ्वीनारायण शाहको जीवनी लेखेको पाइएको छ, तर ती जीवनीका लेखक अज्ञात छन्,’ बराल भन्छन् । 

साहित्यिक क्षेत्रमा जीवनी लेख्ने परम्परा नै थिएन । भानुभक्तको जीवनचरित्र लेखेर उनले यसको आरम्भ गरे । १९४३ सालमा आएको ‘कवि समूह वर्णन’मा भट्टले आफ्ना समकालीन कविहरू राजीवलोचन जोशी, पद्मविलास पन्त र तीर्थराज पाण्डे आदिका कविताको मूल्याङ्कन गरेर उनीहरूलाई आदिकवि, कविशिरोमणि, कविराज, कविकेशरी आदिजस्ता उपाधि पनि दिएका थिए । 

उनले आफ्ना गजलमा शृङ्गारिक भावलाई प्रयोग गरेका छन् । उनले लेखेका २६ मध्ये २५ वटा गजलमा यही रस पाइन्छ । उनका गजलमा सबैभन्दा बढी आँखा र आँखीभौँका क्रियाकलापलाई धेरै वर्णन गरेको पाइन्छ ।

आज नेपालको साहित्यवृत्तमा समालोचना जुन स्तरमा पुगेको छ, यसको जग बसाउने काम भट्टले सुरु गरेका हुन् । यति मात्रै होइन, भट्टले नेपाली भाषामा पत्रिका निकाले, पत्रिका र किताबको सम्पादन गरे । पुस्तकालय खोले । सुषुप्त रहेको नेपाली साहित्यको बाँझो भूमिमा भट्टले बलियो जग बसाले ।

पछि बनारस फर्किएर उनले मोतीमण्डली खोले र समस्यापूर्ति अभियान सुरु गरे । कविता लगायत अन्य फुट्कर कविता र गजल लेख्ने अभियान चलाए । बनारसमा यी अभियानमा उनलाई केही नेपालीले साथ दिएका थिए ।

बनारसमा भट्टले हिन्दी पत्रिका ‘भारतजीवन’को नेपाली संस्करण ‘गोरखा भारतजीवन’ प्रकाशन गर्न थाले । यो नेपाली भाषाको पहिलो पत्रिका थियो ।

सन् १९४४ मा भट्ट फेरि नेपाल फर्किए । यसपटक भने उनले काठमाडौँमा पुस्तकालय खोले । आफ्ना मामा नरदेव पाण्डे तथा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिसँग मिलेर ‘मित्रमण्डली’ गठन गरे । यही मञ्चबाट नेपाली भाषामा शृङ्गार रसमा समस्यापूर्ति अभियान सुरु गरे । ‘ल्यौ ल्यौ औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी’ भट्टले काठमाडौंमा सुरु गरेको समस्यापूर्ति अभियानको पहिलो कविता रचना थियो । समस्यापूर्ति अभियानबाट जन्मिएका कवितालाई सङ्ग्रह गरेर समस्याशतक भन्ने ग्रन्थमा ढाल्ने भट्टको धोको थियो । तर पाँचजना कविहरू मिलेर लेख्ता पनि जम्माजम्मी चौबीस श्लोक मात्र तयार भएपछि सङ्ग्रह आउन सकेन ।

  • सैद्धान्तिक कसीमा गजल

नेपाली साहित्यमा गजलको फाँट बृहत् छ । तर यसको प्रारम्भ मोतीराम भट्टले गरेका हुन् । डा. बरालले भट्टलाई नेपालको प्रथम गजलकार भनेका छन् । भट्टभन्दा अघि पनि केही गजल नलेखिएका होइनन् तर ती गजल प्राप्त हुन नसकेकाले धेरैजसो समीक्षकले भट्टलाई नै गजलको प्रारम्भकर्ता मान्ने डा. बरालको भनाइ छ । बरालले आफ्नो पुस्तक ‘मोतीराम भट्टको गजलकारिता’मा भट्टका गजलको सैद्धान्तिक विवेचना गरेका छन् । 

krishna-hari-baral

डा. बरालका अनुसार भट्टले १९३८ सालपछि गजल लेखनको सुरुवात गरेको अनुमान गरिन्छ । भट्टका गजल सुरुमा गजल संग्रह ‘संगीतचन्द्रोदय’मा छापिएका थिए । यसलाई धेरैले नेपाली भाषाको पहिलो गजल संग्रह पनि भनेका छन् । यसको पहिलो प्रकाशनबारे अनेकौँ धारणा सुनिएको बरालले आफ्नो पुस्तकमा लेखेका छन् । ‘भट्टका केही गजल परिष्कृत र सिद्धान्तमा आधारित भएर लेखिएको भए पनि केहीमा भने गजलका सिद्धान्त भेटिँदैन,’ डा. बराल भन्छन्, ‘तर गजलको सिद्धान्त अनुसार नभए पनि गजल भन्ने खालका छैनन् भन्न मिल्दैन ।’

बरालका अनुसार भट्टको पालामा लेखिएका केही गजलमा काफिया प्रयोग भएको छ भने केहीमा भएको छैन । काफिया प्रयोग भएको ठाउँमा गजल निश्चित बहरमा लेखिएका छन् ।

भट्टले लेखेका गजलमा शृङ्गार, संयोग, वियोग, सामाजिक सन्दर्भ र कटाक्ष पनि छन् । केहीमा उपदेश पनि छन् । भट्टका कतिपय नाटकमा समेत गीत र गजल परेका छन् । ‘बहर प्रयोगका हिसाबले त्यतिबेलाको गजललाई दोष लगाउने ठाउँ छैन । केहीमा काफियाको प्रयोग पाइएन । यसबारे सचेतना कम देखिएको छ,’ डा. बराल भन्छन्, ‘तर गजललाई प्रारम्भ गर्ने र हुर्काउने काम मोतीराम भट्टले नै गरेका हुन् ।’ 

भट्ट आफ्ना कैयौँ गजलमा काफियाप्रति धेरै सचेत नदेखिएको बरालले पाएका छन् । गजल भनेर छापिए पनि गजल नभएको पनि उनले बताए । ‘गजलसम्बन्धी मापदण्ड खुस्किएका छन्, सुरुआती चरण भएको र उनले सूत्रपात गरेको कुरालाई दृष्टिगत गर्दा यसलाई बेवास्ता गर्न सकिन्छ,’ बराल भन्छन्, ‘उनका गजलमा ५, ६, ७, ११, १२ शेर प्रयोग भएका छन् । उनले आफ्ना गजलमा शृङ्गारिक भावलाई प्रयोग गरेका छन् । उनले लेखेका २६ मध्ये २५ वटा गजलमा यही रस पाइन्छ । उनका गजलमा सबैभन्दा बढी आँखा र आँखीभौँका क्रियाकलापलाई धेरै वर्णन गरेको पाइन्छ ।’

बरालका अनुसार भट्टको पालामा लेखिएका केही गजलमा काफिया प्रयोग भएको छ भने केहीमा भएको छैन । काफिया प्रयोग भएको ठाउँमा गजल निश्चित बहरमा लेखिएका छन् । ‘भट्टको गजलको बहरमा वर्ण मात्रिक, मात्रिक आक्षरिक छन्द सबै पाइएका छन् । उनको समयमा लेखिएका गजलमा लघुु गुरु मिलाएको देखिन्छ,’ बराल भन्छन् ।

  • नाटक

डा. बरालका अनुसार, नेपाली साहित्यको प्राथमिक कालमा नाटक खासै लेखिएनन् । संस्कृत नाटकको अनुवाद गरिए पनि अनुदित दुई नाट्यकृति केवल आख्यानका रूपमा थिए । नेपाली साहित्यमा नाट्य लेखन थालनी र विकास भट्टको आगमनपछि नै भएको देखिन्छ । तत्कालीन समयमा विलासी जीवनशैली बिताउन रुचाउने सामन्ती राणाशासकले विदेशी उस्तादहरूलाई झिकाएर आ–आफ्ना दरबारमा उर्दू तथा फारसी भाषाका नाटक हेर्थे । १९४४ सालमा ‘अभिज्ञान शाकुन्तल’को नेपालीमा अनुवाद गरेर भट्टले नेपाली नाट्य लेखन परम्पराको सूत्रपात गरे ।


उनले लेख्ने र छाप्ने काम मात्रै गरेनन् छापाखाना खोल्ने सम्पादन गर्ने, पत्रिका चलाउने, पुस्तकालय खोल्ने काम पनि गरे । उनका जीवनभर लेखिएका कृति १६ वर्षको अवधिमा जन्मिएका हुन् ।


शाकुन्तल, प्रियदर्शिका, पद्मावती लगायत नाटक लेखेका भट्टका अन्य केही अपूर्ण नाटक पनि भएको बराल बताउँछन् । नेपाली साहित्यमा नाटकको सूत्रपात गरेर भट्टले नेपाली नाटकका क्षेत्रमा अतुलनीय योगदान दिएका छन् ।

  • ३० वर्षे जिन्दगीमा १५ वर्ष साधना 

भट्टको जीवन निकै छोटो रह्यो । उनको स्रष्टा जीवन डेढ दशकको मात्रै छ । १९५० सालमा आईएको परीक्षामा सम्मिलत हुन उनी कलकत्ता गएका थिए । तर उनको ध्यान पढाइभन्दा धेरै साहित्य रचनामा थियो । फलतः परीक्षामा उनी अनुत्तीर्ण भए । १९५२ सालमा उनी थला परे । त्यसपछि अशक्त शरीरसहित उनी काठमाडौँ फर्किए । १९५३ को भदौ कृष्ण औँसीकै दिनमा ३० वर्ष लागेकै दिनमा पशुपतिको आर्यघाटमा उनको निधन भयो । विषम ज्वरोले महिनौँ ओछ्यानमा थला परेर भट्टको निधन भएको बताइन्छ ।

आफ्नो जीवनकालमा भट्टले फुटकर कविता टन्नै लेखे । उनले सैयौँ सायरी लेखेका थिए । उनी आफ्नो समयका निकै सक्रिय स्रष्टा थिए । यस अवधिमा उनले पच्चीसवटा जति साहित्यिक कृति लेखे, सम्पादन गरे । भट्टको पहिलो कृति ‘गजेन्द्र मोक्ष’ मानिन्छ । यसबाहेक उनको मनोद वेगप्रवाह, प्रह्लाद भक्ति कथा, प्रञ्चकपुञ्ज, शाकुल्तला पिकदूत, पद्यावति, गुलसनोवर, प्रियदर्शिका, तीजको कथा आपख पनि प्रकाशित छन् ।

उनले लेख्ने र छाप्ने काम मात्रै गरेनन् छापाखाना खोल्ने सम्पादन गर्ने, पत्रिका चलाउने, पुस्तकालय खोल्ने काम पनि गरे । उनका जीवनभर लेखिएका कृति १६ वर्षको अवधिमा जन्मिएका हुन् । तर यति सानो अवधिमा पनि उनले अनेकौँ अकल्पनीय काम गरेर गएका छन् । भानुभक्तलाई आदिकवि भनेर चिनाउने उनै थिए । नेपाली साहित्यमा नाटक हुँदै नभएका बेलामा दुईवटा नाटकका कृति दिए । फुटकर कविता थुप्रै लेखे र काव्य पनि लेखे । उनको लेखाइमा कोमलता, सरलता छ । यतिका वर्षपछि पनि उनका कृति अहिले पढ्नेले पनि सहजै बुझ्न सक्ने बराल भन्छन् ।

भट्ट नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले संख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली साहित्यलाई धनी र समद्ध बनाएका छन् । सुषुप्त अवस्थामा रहेको नेपाली साहित्यमा गजलकार, जीवनीकार, समालोचक, नाटककार तथा नाट्य निर्देशक, प्रकाशक, सम्पादक अन्वेषकजस्ता अनेकौँ भूमिका निर्वाह गरेर उनले माध्यमिक कालको प्रवर्तन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप