सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

किन पटकपटक आफ्नो कार्यकाल सम्झाउँछन् ओली ?

सकारात्मक सन्देश दिएको हो : एमाले, प्रमुख प्रतिपक्ष भन्छ– अविश्वासको उपज
सोमबार, १७ भदौ २०८१, १८ : ००
सोमबार, १७ भदौ २०८१

काठमाडौँ । ‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे पनि हौँ हामी । दुःख गरेको, राम्रो मान्छे हो उहाँ’, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीबारे यसरी ब्रिफिङ गरे ।

कांग्रेसकै मन्त्री, नेता र कार्यकर्ताले एमालेसँगको सहकार्यमाथि प्रश्न उठाएपछि ‘वेटिङ प्राइममिनिस्टर’ समेत रहेका देउवाले पार्टी बैठकमा यसरी ब्रिफिङ गर्नु परेको हो ।

त्यसो त कांग्रेस केन्द्रीय कमिटी बैठकमै सहमहामन्त्री समेत रहेका पर्यटनमन्त्री बद्री पाण्डेले एमालेसँगको सहकार्य सहज नभएको आशय व्यक्त गरेका थिए ।

‘मन्त्रालय बुझेपछि सबै निराश हुनुभएको छ, थाक्नुभएको छ । यदि साँच्चै नै हामीले राजनीतिलाई जिम्मेवारीपूर्वक सोच्ने हो भने हामीलाई सजिलो छैन’, ओली सरकारका मन्त्री पाण्डेको यो भनाइबाट कांग्रेस सरकारमा भए पनि मन्त्रालयमा काम गर्न नसकिने र चुनावमा प्रतिस्पर्धा गर्नसमेत अप्ठ्यारो पर्ने चिन्ता प्रस्ट बुझिन्छ ।

प्रतिस्पर्धी दलसँगै सत्ता साझेदारी भएपछि निर्वाचनमा के भनेर जाने ? भन्ने प्रश्न कार्यकर्ता पङ्क्तिबाट उठिरहेको समेत पाण्डेले बताएका थिए ।

पाण्डेको यो अभिव्यक्तिलाई प्रतिनिधिमूलक मान्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाहेक अरू धेरै नेता–कार्यकर्ता प्रधानमन्त्री ओलीबाट अझै सशङ्कित छन् भन्ने बुझ्न सकिन्छ । त्यसैले हुन सक्छ– प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको डेढ महिनामा तीन पटक आफ्नै नेतृत्वको सरकारको कार्यकालबारे प्रस्टीकरण दिँदै हिँड्नु परेको छ ।

असार १७ मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवासँगको ७ बुँदे सहमतिको चार नम्बर बुँदामै देउवा र ओलीबिच संसद्को बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने’, कांग्रेस–एमालेको सात बुँदे सहमतिमा भनिएको छ । उक्त सहमति प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधि सभा बैठकमै वाचन गरेका थिए ।

संसदमै वाचन गरेर सहमति सार्वजनिक गरिसकेपछि पनि ओलीले सोही कुरा साउन १५ गते सिंहदरबारमा दोहोर्‍याए । सचिवहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले कांग्रेससँगको सहकार्यबारे ब्रिफिङ गर्दै आफ्नो कार्यकालको पनि घोषणा गरे ।

‘दुई वर्ष पुग्नुभन्दा एक हप्ताअगाडि नै राजीनामा गरिसकेको हुन्छु । राजीनामा गर्छ कि गर्दैन भन्ने कुनै द्विविधा हुँदैन । त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ,’ प्रधानमन्त्रीले कर्मचारी वृत्तको विश्वास जित्ने प्रयास गर्दै भनेका थिए ।

‘मानिसहरूले हल्ला फिँजाउन सक्छन्, यताउता भन्न सक्छन्, केही गर्न सक्छन्, छटपटाएका मानिसहरूले अनेक कुरा गरेर भ्रम फिँजाउन सक्छन्’, ओलीले त्यसबेला भनेका थिए, ‘यो सरकार पनि कतिञ्जेल हो र ! एक जना राजनीतिक ज्योतिष पल्टिँदै थिए । कतिञ्जेल हो र भन्दै ।’

सिंहदरबारमा यस्तो बताएको ठिक एक महिनापछि अर्थात् भदौ १५ गते प्रधानमन्त्री ओलीले सोही कुरा दोहोर्‍याए ।

‘मलाई मन नपराउनेहरूका लागि खुसीको खबर छ, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ,’ क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा ओलीले भने ।

  • सत्ता साझेदारमै अविश्वास : माओवादी केन्द्र

देशको प्रमुख कार्यकारी आफैँले यसरी निरन्तर आफ्नै कार्यकाल यति हो भनेर किन स्पष्टीकरण दिइरहेका छन् ? स्वाभाविक रूपमा प्रश्न उठ्न पुगेको छ । त्यसमाथि स्थिरता र सुशासन दिने भनेर बनेको सरकारका प्रमुखले लगातार आफ्नो कार्यकाल यति र उति भनेर भनिरहँदा कर्मचारी, प्रहरी प्रशासन वा छिमेकी मित्रहरूले सरकारलाई गर्ने व्यवहारमा कति असर पर्छ ? यो प्रधानमन्त्री आफैँले जान्ने कुरा हो । तर प्रधानमन्त्रीको लगातारको यस्तो अभिव्यक्तिलाई प्रमुख प्रतिपक्ष दलले भने हतास मनस्थितिको उपज र सत्तारुढ दलकै बिचको अविश्वास भनेर टिप्पणी गरेको छ ।

‘पटकपटक प्रधानमन्त्रीले आफ्नो कार्यकाल यति र उति भनेर स्मरण गराउनु भनेको उहाँको हतास मनस्थितिको उपज हो’, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सचिवसमेत रहेका देवेन्द्र पौडेलको भनाइ छ ।

उनले प्रधानमन्त्रीबाटै यसरी पटकपटक प्रस्टीकरण आउनु सत्तारुढ दलमै एकअर्काप्रतिको अविश्वासको अवस्था छ भन्ने बुझ्न सकिने बताए । ‘यसको अतिरिक्त महिलालाई प्रधानमन्त्री पनि बनाउँछु भनेर उहाँले भन्नुभयो । परराष्ट्रमन्त्री आरजु भारत जानुभयो, त्यहाँ राम्रो भेटघाट भयो । त्यसले पनि प्रधानमन्त्रीलाई झस्काएको हुनुपर्छ’, पौडेलले रातोपाटीसँग भने, ‘यस्तो अवस्थामा सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र विश्वास छैन । अब विश्वासमा लिन यस्ता कुराहरू बोल्नुपर्छ भनेर बोलेको हुनुपर्छ ।’

नेता पौडेलले अहिलेका सत्ता साझेदार दलहरूले स्थिरता र स्थायित्वको कुरा गरे पनि प्रधानमन्त्रीकै अभिव्यक्तिले स्थिरता र स्थायित्वलाई प्रभावित बनाइरहेको बताए ।

‘यसले स्थिरता, स्थायित्व र सुशासनको कल्पना गर्न सकिँदैन । बरु सत्ता साझेदार दलमै विश्वास छैन भन्ने सङ्केत गर्छ’, पौडेलले भने, ‘उहाँहरूले नीति कार्यक्रम समेत ल्याउन सक्नुभएन ।’

रिस र आवेगले हतासमा गठबन्धन गरेर सरकार बनाएपछि समस्याहरू देखिने भन्दै पौडेलले सत्तारुढ दलमै कसरी राज्य सञ्चालन गर्ने भन्ने स्पष्ट समझदारी नभएको प्रधानमन्त्रीको अभिव्यक्तिले पुष्टि गरेको दाबी गरे ।

  • सकारात्मक सन्देश दिन खोज्नुभएको हो : एमाले

सत्तारुढ दल एमालेका उपमहासचिव प्रदीप ज्ञवाली भने यही सहकार्य कायम रहने भएकाले प्रधानमन्त्रीले आफ्नो कार्यकालबारे प्रस्ट पारेको बताउँछन् ।

‘यो एलायन्स लामो समय जान्छ र निर्वाचनपछि पनि यिनै पार्टीहरू सरकारमा जान्छन् भन्ने अर्थमा विगतमा जस्तो सरकारको अस्थिरता नरहोस्, कार्मचारीतन्त्रमा प्रभाव पर्ने, अस्थिर हुने, निर्णयहरू गर्न अलमल पर्ने अवस्था छैन, सरकार परिवर्तन भए पनि गठबन्धन यही रहन्छ भन्ने सन्देश दिन खोज्नुभएको हो’, ज्ञवालीले भने ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति हतास मनस्थितिको उपज नभएको दाबी गर्दै उनले प्रमुख प्रतिपक्ष तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डचाहिँ हतास बनेर अनावश्यक टिप्पणी गर्न थालेको बताए । उनले नेकपा एमाले आफ्नो मूल्यहरूका निम्ति परिआउँदा स्वेच्छाले नै पद त्याग गर्न तयार रहेको विगतले नै देखाइसकेको प्रस्ट पारे ।

  • संशय देखिन्छ : विश्लेषक श्रेष्ठ

ज्ञवालीले यस्तो बताए पनि राजनीतिक विश्लेषक श्याम श्रेष्ठ प्रधानमन्त्रीले पटकपटक आफ्नो कार्यकाल स्मरण गराउनुमा सत्ता साझेदार दलभित्रै विश्वासको वातावरण बन्न नसक्नुको सङ्केतका रूपमा बुझ्नुपर्ने बताउँछन् ।

‘अविश्वास र संशय छ भन्ने देखाउँछ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘देउवाको तुलनामा आफ्नो बचनमा नरहने मान्छे ओली हुन् । ओलीले आफ्नो बचन पूरा गर्नेवाला छैनन् भन्ने कुराको उनको अभिव्यक्ति पनि हो त्यो । र ओलीले सहमतिअनुसार सत्ता नछोड्ने सङ्केत पनि हो’, श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप