बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
समाचार

पूर्वउपराष्ट्रपति पासाङको बंगलामा नेकपा बहुमतको कालो ब्यानर

सोमबार, १७ भदौ २०८१, १५ : ५७
सोमबार, १७ भदौ २०८१

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले पूर्वउपराष्ट्रपति तथा जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन ‘पासाङ’को बंगलामा कालो ब्यानर राखेर विरोध जनाएको छ । शनिबार बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बिसी ‘शार्दूल’को नेतृत्वमा गएको टोलीले दहचोकस्थित स्विजरल्याण्ड डाँडामा रहेको पासाङको निवासस्थित कम्पाउन्डमा ब्यानर राखेर विरोध जनाएको हो । 

ब्यानरमा भ्रष्टाचारविरुद्ध जनएकता अभियान नारा राखिएको छ । त्यसको तल ‘जनयुद्धका फौजी कमान्डर र देशका उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बङ्गला निर्माण गर्ने स्रोत के हो ?’, ‘०४६ यता देशका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाबका लागि जनसङ्घर्ष’ लेखिएको छ ।  

पार्टीले ‘भ्रष्टाचारविरुद्ध जनएकता अभियान’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही नीति बमोजिम पासाङको घरमा ब्यानर राखिएको इन्चार्ज बिसीले रातोपाटीलाई बताए । 

‘माओवादी आन्दोलनको महान् उद्देश्यलाई संसदवादी स्वार्थमा बिक्री गरिएको छ । जनयुद्धको आदर्श र महानतामाथि धोका भएको छ’, उनले भने, ‘अर्को एउटा सामान्य मानिसले कसरी सम्पत्ति जोड्यो ? सम्पत्तिको आयस्रोत के हो ? यसै विषयमा भण्डाफोर गर्न हामी उहाँको घरमा गएका हौँ ।’

Fullscreen capture 922024 40319 PM

उनले पासाङ मात्र नभई माओवादीका अन्य  उच्च नेताहरूको निवासमा पनि भण्डाफोर अभियान चलाउने दाबी गरे । यही साउन १ गते मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएपछि बहुमतले देशव्यापी रूपमा भ्रष्टाचारविरुद्ध असोज ३ गतेसम्म देशव्यापी भण्डाफोर अभियान चलाउने निर्णय गरेको थियो ।

ब्यानर घरको कम्पाउन्डमा टाँस्दा पासाङले विरोध गरेको भिडियो स्पष्ट देख्न सकिन्छ । उनको आदेशपछि त्यहाँ  रहेका सुरक्षाकर्मीले ब्यानर हटाउन गएका थिए । यस विषयमा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले पार्टी नीति अनुसार नै उनको घरमा ब्यानर राखेको स्वीकारे ।

‘भ्रष्टाचारविरुद्ध भण्डाफोर गर्ने पार्टीको नीति हो । पार्टीको नीति अनुसार साथीहरूले ब्यानर राखेका हुन् । जनयुद्धको नाममा लडेका नेताहरू नै भ्रष्टीकरण भएका छन् । त्यसविरुद्ध जनदबाब जारी रहनेछ’, उनले भने ।

माओवादी १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाका कमान्डर रहेका उनी शान्ति प्रक्रियामा आएपछि लडाकु प्रमुख भएका थिए । उनी २०७२ देखि ०७९ सम्म उपराष्ट्रपति रहेका थिए । उनका छोरा दिपेश पुनलाई सहकारी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ गरेको थियो । यस्तै दिपेशको नाम सुन तस्करीमा समेत आएको थियो । 

पासाङले भव्य बङ्गला बनाएको भनेर बेलाबेला माओवादीभित्र चर्चाको विषय हुनेगर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप