प्रचण्डलाई आधार इलाकाको सन्देश : कमजोरीलाई औँल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ
सुर्खेत । यो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आधार क्षेत्र कर्णालीमा आउँदा नेता, कार्यकर्ताहरूले नेतृत्वमाथि व्यापक प्रश्न उठाउने छन् भन्ने धेरैलाई लागेको थियो । किनकि साउन २५ देखि ३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा कर्णाली नै आधार क्षेत्र भएका नेता, उपमहासचिव जनार्दन शर्माले राखेको १४ बुँदे प्रस्तावलाई लिएर माओवादीभित्र व्यापक आशंका उत्पन्न भएको छ ।
तर शुक्रबार कर्णाली आएका प्रचण्डले आधार क्षेत्रबाट थप ऊर्जा लिएर फर्किएको नेताहरूले दाबी गरेका छन् । अन्य प्रदेशको तुलनामा कर्णालीमा माओवादीको जनमत र सङ्गठन बलियो छ ।
जनयुद्धको आधार क्षेत्र भएकाले पनि पार्टी सुदृढीकरण र पार्टी निर्माणका लागि कर्णालीको भूमिका महत्त्वपूर्ण हुन्छ । शुक्रबार र शनिबार भएको प्रदेशस्तरीय प्रशिक्षण तथा परामर्श भेलाले कमजोरीलाई औँल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व प्रचण्डले नै गर्नुपर्ने सन्देश दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।
ती नेताले भने, ‘जनार्दन कमरेडको क्षेत्र भएकाले पनि यो पटकको भेलालाई महत्त्वपूर्ण रूपमा हेरिएको थियो । धेरैको आकलन थियो– पार्टी फुटबारे व्यापक प्रश्न उठ्नेछ ।’
तर अध्यक्ष प्रचण्डले विमानस्थलमै जनार्दन शर्माले राखेको प्रस्तावबारे प्रष्टिकरण दिएपछि पार्टीमा फुट होइन, रुपान्तरणका लागि ऊर्जा दिएको उनको भनाइ छ ।
भेलामा सहभागी हुनुपूर्व सुर्खेत विमानस्थलमा प्रचण्डले जनार्दनको प्रस्तावलाई पार्टी निर्माणको चिन्ताका रूपमा लिएको बताएका थिए । पार्टी फुटको चर्चा मेटिइसकेको र पार्टीलाई बलियो बनाउनेगरी सबै नेता अग्रसर भइरहेको उनको भनाइ थियो ।
साथै शर्माले पहिलादेखि नै विषय उठान गरिरहेको र त्यो फरक होइन भनिसकेकाले आफूले त्यसलाई सहज र पार्टी निर्माणको चिन्ताको रूपमा लिएको प्रचण्डले बताएका थिए ।
अर्को एक नेताले भने, ‘कमजोरीहरू नभएका होइनन् । कहाँ कमजोरी भयो भन्ने कुरा स्वयं प्रचण्डलाई नै थाहा छ । त्यसलाई कसरी सुधार्नुपर्छ भन्ने कुरा पनि उहाँलाई नै थाहा छ ।’
ती नेताका अनुसार दुई दिनको बैठकमा सदनको मोर्चा र आवश्यक परे सडकको मोर्चामा समेत दृढतापूर्वक कर्णालीले साथ दिने प्रतिबद्धता नेताहरूले जनाएका थिए । त्यसका लागि बेथिति र भ्रष्टाचारका विरुद्ध कठोरताका साथ उत्रिएर समाजवादी क्रान्तिको नेतृत्व प्रचण्डले नै गर्नुपर्छ भन्ने सन्देश कर्णालीले दिएको अर्को एक नेताले बताए ।
उनका अनुसार केही नेताले जनार्दन शर्माकै नीति अनुसार कुरा राखेका थिए । उनीहरूको भनाइ थियो– १० वर्षे जनयुद्ध, शान्ति सम्झौता, संघीयता लगायतका थुप्रै विषयमा तपाईंले जसरी नेतृत्व गर्नुभयो, फेरि एक पटक समाजवादी क्रान्तिको नेतृत्व तपाईंले नै गर्नुपर्छ ।’
दुई दिनको भेलामा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला संयोजक गरी करिब ६० जनाले पालैपालो कुरा राखेका थिए । त्यसमा अधिकांशले पार्टीलाई नवजीवन दिनुपर्नेमा जोड दिएका थिए । त्यसमा धेरैले शान्ति प्रक्रियामा आएपछि पार्टी बिग्रिएको, अवसरवाद हावी भएको र नेताहरू परिवारवादमा रमाएको, वैचारिक काम हुन नसकेकाले पार्टी र जनताबिच दुरी बढेको कुरा उठाएको ती नेताले बताए ।
केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इञ्चार्ज झकबहादुर मल्ल ‘सुदीप’ले शान्ति प्रक्रियापछि जनतामा राजनीतिक मुद्दाहरू स्थापित गर्ने, जननिर्वाचित भएर गरेका कामहरूलाई ठिक ढंगले जनताको बिचमा लैजाने र आन्तरिक पार्टी जीवनमा एकरूपताको बुझाइका साथ अघि बढ्ने कुरामा सम्हालिन नसक्दा परिणाममा केही कमजोरी रहेको बताएका थिए ।
सम्हालिएर अगाडि बढ्नै नसक्ने गरी पार्टी संगठन कमजोर बनेको, नेतृत्व असक्षम बनेको र माओवादी आन्दोलनको भविष्य कमजोर बन्दै गएको जस्ता विरोधीले सिर्जना गरेका भाष्य र पार्टीभित्र पनि त्यसैलाई वकालत गर्ने खालका अभिव्यक्तिले केही चुनौती सिर्जना गरेको मल्लको भनाइ थियो ।
पार्टी र सरकारमा पटकपटक जिम्मेवारी लिएका नेताहरूबाटै त्यस्तो अभिव्यक्ति आएको उनले बताए ।
मल्लले प्राप्त उपलब्धिहरूलाई ठिक ढङ्गले जनताको बिचमा लैजान नसक्नु, प्रतिगामी शक्तिहरूले सिर्जना गरेका विविधखाले भ्रमलाई राजनीतिक रूपमै प्रतिवाद गरेर जान नसक्नु, पार्टीभित्र नेतृत्वका वरिपरि गोलबन्द भएर अघि बढ्नेभन्दा पनि अवसरका लागि नेतृत्वलाई घेराबन्दी गर्ने, चाकडी गर्ने र स्वार्थ समूहहरू विकास गर्ने प्रवृत्ति विकास हुनुले पार्टीमा समस्या आएको बताएका थिए ।
साथै सहिद परिवार, घाइते र जनमुक्ति सेनाको उचित व्यवस्थापनमा ध्यान नदिनु, आम जनसमुदायसँगको सम्बन्ध भन्दा पनि तस्कर दलाल र पुँजीपतिहरूसँगको सम्बन्धमा रमाउने प्रवृत्ति विकास भएको उनको भनाइ थियो ।
पार्टीभित्र एउटा सानो समूहको वर्ग उत्थान हुनु, आम कार्यकर्ता र जनताको जीवनस्तर कष्टकर बन्दै जानुले पनि पार्टी कमजोर बनेको मल्लले बताए ।
केन्द्रीय सदस्य नरेश भण्डारीले पार्टीलाई रुपान्तरित बनाएर अघि बढ्ने र समाजवादी क्रान्तिको आधारका रुपमा स्थापित गर्ने निष्कर्ष निस्किएको बताए ।
‘पहिलो कुरा पार्टीलाई एकताबद्ध, अर्को सुदृढ र कर्णालीलाई पार्टी हेडक्वार्टरले आधार इलाकाकै रुपमा विकास गर्नुपर्ने कुरा हामीले राखेका छौँ,’ भण्डारीले भने, ‘आधार इलाका भन्ने तर विकास निर्माण र यहाँका जनताको जीवनमा परिवर्तन ल्याउने काम नगरे पार्टी बलियो हुँदैन । यसलाई पनि सुधार गर्नुप¥यो ।’
सरकार, पार्टी र जनताबिच पनि धेरै ग्याप रहेको कुरा नेताहरूले राखेका थिए । प्रदेश सरकारमा निरन्तर माओवादी रहे पनि जनमत बढेको देखिन्न ।
आधार इलाकामै हरेक चुनावमा जनमत घट्दै गइरहनुले पार्टीबाट सरकारको नेतृत्वमा पुगेकाहरूले जनपक्षीय काम गर्न नसकेको भनेर प्रश्न उठेका थिए ।
पूर्वमुख्यमन्त्री एवं माओवादी संसदीय दलका नेता राजकुमार शर्माले भने पार्टी केन्द्र र प्रचण्डमाथि गुनासो पोखेका थिए । उनले आफू नेतृत्वमा हुँदा केही काम गर्न खोजेको तर अध्यक्षसँग बसेर संघीयतालाई बलियो बनाउने कुरामा छलफल गर्न नपाएको गुनासो राखेका थिए ।
संघीयता माओवादीको एजेण्डा भए पनि अधिकार सबै केन्द्रमा राख्दा त्यसले खासै परिणाम नदिने उनको भनाइ थियो ।
शर्माले समाजवादी क्रान्तिको विषयमा अहिलेकै गति र मतिले त्यहाँ पुग्न नसकिने बताएका थिए ।
पार्टीभित्रका ‘शरदसिंह भण्डारीहरू’ पनि सच्चिनुपर्ने आवाज
एक केन्द्रीय सदस्यका अनुसार पार्टी कमजोर हुनुका पछाडि प्रचण्डलाई मात्र दोष दिएर उम्किन नमिल्ने कुरा उठ्यो । निरन्तर सरकार र पार्टी दुवैमा भएर अवसर लिइरहने तर दोष जति प्रचण्डको टाउको हाल्ने काम नगर्न नेताहरूले खबरदारी गरेका थिए ।
पार्टीभित्र ‘शरदसिंह भण्डारी’ को चर्चासमेत भएको अर्को एक नेताले बताए । भण्डारी नेपालमा सबैभन्दा धेरै पटक मन्त्री हुने व्यक्ति हुन् । अध्यक्ष प्रचण्डमात्र होइन, माओवादीभित्रका ‘शरदसिंह भण्डारी’ पनि सच्चिनुपर्ने भन्दै नेताहरूले आक्रोश पोखेको ती नेताले बताए ।
नेतृत्वका लागि उत्तराधिकारी टिम अहिलेसम्म किन बनाउन नसकेको भनेर प्रचण्डमाथि समेत बैठकमा प्रश्न उठेको थियो ।
कर्णालीबाट उत्साहित प्रचण्ड
अध्यक्ष प्रचण्ड कर्णालीबाट उत्साहित बनेर फर्किएको प्रदेश कमिटीका एक पदाधिकारीले बताए ।
कर्णालीले हिजो गरेको योगदानको प्रशंसा गर्दै प्रचण्डले काम भने सोचे अनुरुप गर्न नसेकको स्वीकारेको ती पदाधिकारीको भनाइ छ ।
नेता, कार्यकर्ताको सुझाव सुनिसकेपछि प्रचण्डले भनेका थिए, ‘हिजो जनयुद्धका बेला जुन भूमिका कर्णालीले खेलेको थियो, अहिले पनि उस्तै साथ पाएँ ।’
अब पनि समाजवादी मोर्चाको आधारभूमि कर्णाली नै बन्ने उनको भनाइ थियो ।
उपमहासचिव गिरीराजमणी पोखरेलले पार्टी रुपान्तरणका निमित्त माओवादीबाट मन्त्री भएका सबै नेताको भेला गराइ आफूले गरेका कामबारे जनतालाई जानकारी दिनुपर्ने बताए ।
त्यस्तै जनार्दन शर्माले आफूले पार्टी विभाजन गर्ने कुरा कहीँकतै नभनेको र उक्त कुरा कसले हल्ला फैलाएको भनेर पुनः प्रश्न गरेका थिए । ‘प्रचण्डसँग म लामो समयदेखिसँगै छु, उहाँले के गर्नु हुन्छ भन्ने कुरा पहिला थाहा पाउन सक्छु,’ उनले भने, ‘रुपान्तरणका लागि कुरा उठाएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति